रमझमबुधबार, माघ १०, २०६९
धरातल बिर्संदै लोकगीत
लोक वार्ता समाजका अध्यक्ष रहेका लोक संस्कृतिविज्ञ तुलसी दिवस हिजोआज एफएम, टेलिभिजन च्यानल आदिमा लोकगीत, लोकदोहोरी सुनेर, म्युजिक भिडियो हेरेर छक्क पर्छन्। कारण, लोकगीत भनेर अहिले जे उत्पादन भइरहेका छन्, ती वास्तवमा लोकगीत हैनन्। “मौलिक भाका, ठेट शब्द र स्थानीयताको सुगन्ध नेपाली लोकगीतको पहिचान हो”, व्यवसायीकरणको हावाले लोकगीतको मौलिकता उडाएको बताउने दिवस भन्छन्, “अहिले त नक्कलीको बिगबिगी छ।”
हुन पनि, अहिलेका लोकगीत सुन्दा यो कहाँको कुन भाका भनेर पहिचान गर्न सकिंदैन– न ख्याली, न रोयला, न टप्पा, न हाक्पारे, न गोठाले, न सालैज्यो न त झयाउरे। लोकगायक नारायण रायमाझी अहिलेका लोकगीतले लोकभाकालाई पूरै बिर्सिएको बताउँछन्। “नयाँ पुस्ताले लोकगीत/लोकसंस्कृतिको मर्म बुझे भने भाका फर्कला, नबुझे यत्तिकै हो”, रायमाझी भन्छन्।
लापरबाह नयाँ पुस्ता
हरियो डाँडा माथि, सिन्धुलीगढी घुमेर हेर्दा, रेशम फिरिरी, पानको पात, रिटिङ रिटिङ नबजाउ विनायो, आमा रुँदै गाउँबेसी मेलैमा, आमाले सोध्लिन् नि जस्ता लोकगीतका भाका र विषय फरक–फरक स्थान तथा परिवेशका भए पनि यिनीहरू मेची–महाकालीका नेपालीका जिब्रोमा झुण्डिए। सुन्दा गैर–नेपाली भाषीलाई समेत रोमाञ्चित बनाउने सक्यो नानी, काली पनि देखें, उकालीमा पनि हजूर आदि लोकगीतमा कम्मर नमर्काउने नेपाली शायद नहोलान्।
धर्मराज थापा, सुवी शाह, एलपी जोशी, झ्लकमान गन्धर्व, कुमार बस्नेत, हिरण्य भोजपुरे, नारायण रायमाझी, कल्याण शेरचन, पूर्ण नेपाली, लोकबहादुर क्षेत्री, सावित्री शाह, कृष्णविक्रम थापा, पाण्डव सुनुवार, राम थापा, बमबहादुर कार्की, हरिदेवी कोइराला, नन्दकृष्ण जोशी, प्रेमराजा महत, चन्द्रकला शाह आदिले उठाएको लोकगीत त्यसपछि पुरुषोत्तम न्यौपाने, कोमल वली, बीमाकुमारी दुरा, तुलसी पराजुली, नविन खड्का, भगवान भण्डारी, बद्री पङ्गेनी, राजु परियार, शर्मिला गुरुङ, विष्णु खत्री लगायतले धाने। नेपाली लोकगीत–संगीतमा गोपाल योञ्जनहरूको पनि ठूलो योगदान रह्यो।
आधुनिकबाट लोक!
लोक गीतबाट आधुनिक (सुगम) गीतसंगीत जन्मने हुनाले लोकगीतलाई संसारभर आधुनिक गीतको जग मानिन्छ। नारायणगोपालले गाएको ए कान्छी ठट्टैमा र तारादेवीको फूलको थुंगा बगेर गयो जस्ता आधुनिक नेपाली गीत लोकगीतको जगमा सिर्जना भएकोले कालजयी बने। प्रायः सबै कालजयी नेपाली आधुनिक गीतमा लोकगीतको सुगन्ध छ नै। अहिले भने आधुनिक गीतलाई ‘भाँचकुच’ पारेर लोकगीत बनाउन थालिएको झ्ापाको दमकमा रहेका ७८ वर्षीय लोकगायक एलपी जोशी बताउँछन्।

प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
