थप समाचारबुधबार, माघ १७, २०६९
आदर्श पुरुष– महात्मा गान्धी
३० जनवरी १९४८ मा महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) लाई नाथुराम गोड्सेले नयाँ दिल्लीस्थित बिड्ला हाउसको मैदानमा गोली हानी हत्या गरेका थिए । उनीमाथि भारत विभाजन (पाकिस्तान निर्माण) हुन दिएर भारतलाई कमजोर बनाएको आरोप लगाइएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख राजनीतिक र आध्यात्मिक नेता महात्मा गान्धीलाई विश्वले अहिंसावादी नेताका रुपमा चिन्छ । उनलाई भारत सरकारले ‘राष्ट्रपिता’ को सम्मान दिएको छ । जनजिब्रोमा उनी बापु (बुवा) का नामले प्रसिद्ध छन् ।
२ अक्टोबर १८६९ मा भारतको पोरबन्दरमा जन्मिएका गान्धीका आदर्श, विश्वास र दर्शनबाट उदभूत विचारहरुको समष्टिलाई गान्धीबादका रुपमा ब्याख्या गरिन्छ । कुनै पनि व्यक्तिलाई जब गान्धीबादी भनिन्छ त्यसको अर्थ हुन्छ महात्मा गान्धीद्वारा स्थापित मूल्य र आदर्शको अनुपालन गर्ने व्यक्ति । तर, गान्धी आफैं भने ‘गान्धीवाद’ भन्ने कुनै त्यस्तो कुरा नभएको बताउँथे । उनी भन्थे, “मैले कुनै नयाँ सिद्धान्त प्रतिपादन गरेको दाबी गर्दैन, म सदैव हाम्रो दैनिक जीवनमा सर्वकालिक सत्यलाई लागु गर्ने प्रयासमा रहन्छु… मैले बनाएका विचारहरु र मेरा निष्कर्षहरु अन्तिम होइनन् । म तिनलाई भोली नै परिवर्तन गर्न सक्छु । विश्वलाई सिकाउन मसँग नयाँ केही छैन । सत्य र अहिंसा भने पहाड जत्तिकै अटल र पूराना हुन् ।” उनको भनाईले स्पष्ट हुन्छ उनी नयाँ कुरा जान्न र त्यसअनुसार आफ्ना विचारहरु परिमार्जन गर्न सदैव तयार रहन्थे तथा अहिंसा र सत्यप्रति भने उनको अटल विश्वास थियो ।
गान्धीले बेलायतमा कानूनको अध्ययनपश्चात दक्षिण अफ्रिकामा अभ्यास पनि गरेका थिए । त्यहाँ अंग्रेजहरुले स्थानीयमाथि गरेको शोषण देखेपछि उनीभित्र विश्वमै जनअधिकार, अहिंसा र स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने विचारले जरो गाडेको थियो ।
सन् १९२१ मा भारतीय राष्ट्रिय कांग्रेसको बागडोर सम्हालेपछि उनले गारीबी हटाउन, महिला अधिकारको विस्तार, धार्मीक एवम् जातीय एकताको निर्माण, जातीय छुवाछुतको अन्त्यका लागि विभिन्न आन्दोलनहरु चलाए । उनले त्यसबेला बेलायतको उपनिवेश रहेको भारतलाई स्वतन्त्र बनाउन ‘ब्रिटिश भारत छोडो आन्दोलन’ गरेर प्रसिद्धि पाए ।
आत्मशुद्धि र सामाजिक प्रतिकारका लागि लामो समयसम्म अनसन बस्ने गान्धी आफूले लगाउने कपडा आफैंले चर्खा चलाएर बुन्थे । उनले जीवनका सबै परिस्थितिमा अहिंसा र सत्यको पालना गरे र अरुलाई पनि त्यसो गर्न प्रेरित गरिरहे ।

महात्मा गान्धी आफ्ना सचिवहरु र परिवारका सदस्यका साथ बगैंचामा भ्रमण गर्दै । भारत स्वतन्त्र भएको पाँच महिनामै उनको हत्या भएको थियो । तस्बीरः मार्गरेट बोर्क/गेट्टी इमेजेज
एजेन्सीहरुको सहयोगमा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
