अर्थ/बजारबुधबार, जेठ १०, २०६९
डलरको भाउले सामान महँगो
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा पुगेपछि आयात गरिने सामानमा मूल्यवृद्धिको सम्भावना बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार १० जेठमा प्रति डलर किन्न नेपाली ८८.२३ रुपैयाँ खर्च गर्नुपर्छ जुन हालसम्मकै महँगो हो ।
नेपालले अन्तर्राष्ट्रिय बजारबाट वस्तु आयात गर्दा डलरमा भुक्तानी गर्छ । भारतसँगको ब्यापार भने भारतीय रुपैयाँ भा.रु.मा पनि हुन्छ । अमेरिकी डलरसँग भारु र नेपाली रुपैयाँ दुबैको विनिमय दर खस्किएकाले सामानको मूल्य बढी भुक्तानी गर्नुपर्नेछ । लत्ता कपडा विद्युतीय सामान सवारी साधन आदिको मूल्य यसकै कारण प्रभावित हुनेछ । त्यस्तै पेट्रोलियम पदार्थ खरीद गर्न समेत बढी मूल्य तिर्नुपर्ने भएकाले वस्तु तथा सेवाको लागत बढ्ने ब्यवसायीहरु बताउँछन् ।
आयात गर्नुपर्ने सामानमा मात्र होइन डलरको मूल्य बढेका कारण कच्चा पदार्थको मूल्य बढ्ने र त्यसको प्रभाव स्थानीय उत्पादनको मूल्यमा समेत पर्ने बताइन्छ । भारतीय अर्थतन्त्रले अपेक्षित गति लिन नसकेपछि उसको डलरसँगको सटही क्षमता ह्रास भएको बताइएको छ । भारतमा आर्थिक वृद्धि घट्ने प्रक्षेपण डलरको बढ्दो माग आदिका कारण भारुको तुलनामा डलर महँगिँदै गएको हो । नेपालको अमेरिकी डलरसँग सोझो विनिमयदर कायम नभए पनि भारुसँग स्थिर विनिमयदर भएकाले भारुको मूल्य थपघट हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पर्छ ।
तर डलरको मूल्य बढ्दा स्वदेशी निकासीकर्ता भने फाइदामा जानेछन् । उनीहरुले अन्तर्राष्ट्रिय बजारमा वस्तुको निर्यात गर्दा पाउने भुक्तानी रकम बढ्ने छ । चालु वर्षको पहिलो आठ महिनामा वस्तु निर्यात १४.१ प्रतिशतले बढेर ४८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा गलैंचा तयारी कपडा पस्मिना कागजका सामान अलैंची हस्तकलाका सामान ढुङ्गा बालुवा आदिको निर्यात बढेको छ । तर नेपालको वैदेशिक ब्यापारमा निर्यात-आयात अनुपात १६.४ प्रतिशत रहेकाले डलरको मूल्य बढ्दा आयात गर्ने सामानमा बढी मूल्य चुकाउनुपर्ने हुँदा बेफाइदा बढी हुन्छ ।
डलरको भाउ बढेका कारण विदेशबाट आउने रेमिट्यान्स भने उल्लेख्य बढ्ने सम्भावना छ । डलरको मूल्य बढेकै कारण चालु आर्थिक वर्षको फागुनसम्ममा रेमिट्यान्सको वृद्धिदर ३४.७ प्रतिशत पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
