टिप्पणीशुक्रबार, माघ १९, २०६९
निरन्तर प्रेस स्वतन्त्रता विरुद्ध
पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तहरु माथिको कानूनी कारबाही रोक्न प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका निरन्तर प्रयासहरुले उनको कानूनी शासन सम्बन्धी धारणालाई थप उजागर गरेको छ भने त्यसले प्रेसप्रति उनमा रहेको नकारात्मक दृष्टिकोण पनि स्पष्ट पारेको छ । १८ माघमा प्रधानमन्त्री भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिंदै पत्रकार थापाको हत्याका अभियुक्तहरु माथिको कानूनी कारबाही अघि नबढाउन माग गर्नुले यो अरु स्पष्ट भएको हो ।
त्यसो त, १० वर्षे सशस्त्र द्वन्द्वका बेला पनि पत्रकारहरुमाथि माओवादीको प्रहार परेकै थियो । संयोग कस्तो छ भने अहिलेका सरकार प्रमुख भट्टराई त्यसबेला पनि ‘जनसरकार’ प्रमुख नै थिए । अर्को संयोग, त्यसबेला पनि उनी आफूलाई ‘लालध्वज’ भनाउँथे, अहिले पनि उनले आफूलाई त्यही नामले चिनाउन थालेका छन् । जंगलको सरकार प्रमुख हुँदा तथा वैधानिक सरकार प्रमुख हुँदाका बीच पत्रकारहरुप्रतिको व्यवहारमा कुनै फरक नआउनु त्यस्तै आश्चर्यजनक छ । पत्रकारप्रति उनको सोच र व्यवहारमा परिवर्तन नआएको पुष्टि उनी उपस्थित कार्यक्रमहरुमा पत्रकारहरुमाथि धमाधम आक्रमण हुनुले पनि गर्छ ।
भट्टराई प्रधानमन्त्री भएपछि जेठको दोस्रो साता भएको जनजाति आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमका गाडीहरुमाथि आक्रमण भयो । जसमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्देशन रहेको मानिन्छ । पत्रकारमाथि आक्रमणको निरन्तरता १० माघमा दैलेखमा प्रधानमन्त्री उपस्थित कार्यक्रममा पनि भयो । एमाओवादी भ्रातृसंगठन वाईसिएलका कार्यकर्ताको धम्कीका कारण त्यहाँका २२ जना पत्रकारहरु विस्थापित नै हुनुपर्यो । त्यसलगत्तै १५ माघमा एमाओवादी काभ्रे अधिवेशनको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई पनि आयोजक पार्टीका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरे । पत्रकारहरुलाई एमाओवादीबाट ज्यान मार्ने धम्की आउने क्रम अझै रोकिएको छैन ।
१८ असोज २०६४ मा बाराका पत्रकार वीरेन्द्र साहको हत्या एमाओवादी कार्यकर्ताहरुले नै गरेका थिए, २७ पुस २०६५ मा जनकपुरकी पत्रकार उमा सिंहको हत्यामा पनि एमाओवादी कुनै न कुनै रुपमा संलग्न रहेको आरोप लागेको छ । २१ असार २०६४ मा कञ्चनपुरका पत्रकार प्रकाश ठकुरीको अपहणपछि हत्या भयो, त्यसमा पनि एमाओवादी संलग्न छ ।
कोही माथि पनि आक्रमण हुनु सभ्य समाजका लागि मान्य हुन सक्दैन । त्यसमाथि समाचार लेख्ने पत्रकारहरु र समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यममाथि आक्रमण हुनु भनेको समाजको आँखा र मुख बन्द गर्न खोज्नु हो । यसो गर्नुको सीधा अर्थ हो, लोकतन्त्रलाई कमजोर पार्दै निरंकुश तानाशाही व्यवस्था लाद्ने प्रयास गर्नु ।
भट्टराई सरकारको पालामा पत्रकारहरुमाथि गरिएको व्यवहारलाई ‘रिपोर्टस वीथआउट बोर्डर’ ले भर्खरै प्रकाशित गरेको प्रतिवेदनले पनि पुष्टि गरेको छ । जसमा नेपालको सञ्चारमाध्यम संकटमा रहेको तथा पत्रकारहरु असुरक्षित रहेको उल्लेख छ । प्रतिवेदनले प्रेस स्वतन्त्रताको मामिलामा नेपाल यो वर्षमा १०६ बाट झरेर ११८ औं स्थानमा पुगेको पनि देखाएको छ । यसले नेपालको प्रेस स्वतन्त्रताको स्थिति निकै जोखिममा रहेको स्पष्ट पार्छ । यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगले १८ माघमा मानवअधिकारकर्मी र पत्रकारहरु सुरक्षित नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
यी सबै तथ्यहरुले प्रधानमन्त्री भट्टराई र उनको सरकार प्रेसको घाँटी निमोठ्न उद्यत रहेको भन्दा अरु संकेत गर्दैनन् । तर, हाम्रो नियति के छ भने, जो प्रेस स्वतन्त्रता विरुद्ध निरन्तर लागिरहेको छ, उसैसँग हामीलाई बचाइदेऊ भन्दै बिन्ती बिसाउनु परेको छ ।