अन्तर्वार्ता/विचारशनिबार, माघ २०, २०६९
एमाओवादी महाधिवेशन: नयाँ केही हुँदैन
सुवास देवकोटा
महाधिवेशन आयोजक समितिले पारित गरेको अध्यक्ष पुष्पकमल दाहालको ६४ पेज लामो राजनीतिक प्रतिवेदन नै महाधिवेशनमा प्रस्तुत हुने एक्लो दस्तावेज हुनेछ । ४ असारमा वरिष्ठ नेता मोहन वैद्यको नेतृत्वमा अलग्गिएको समूहले नेकपा—माओवादी बनाइसके पनि यो महाधिवेशनलाई एमाओवादीले ‘एकता महाधिवेशन’ भन्नु अर्काे विशेषता हुनेछ ।
नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्रसँग एकतापछिको पहिलो महाधिवेशन भएकाले ‘एकता’ शब्द जोड्नुपरेको एमाओवादीको तर्क छ । वैद्य समूह चोइटिएपछि कमजोर भएको स्थितिमा सैद्धान्तिक/राजनीतिक बहस/छलफल हुँदा पार्टी फेरि फुट्न सक्ने हुँदा सुनियोजित रूपमा वादविवादलाई टार्न खोजिएको बुझन सकिन्छ, भलै एमाओवादीका नेता–कार्यकर्ताले यो नस्वीकारुन् ।
‘नयाँ ढंगको पार्टी’
महाधिवेशनमा पेश हुने अध्यक्ष दाहालको प्रतिवेदन यसअघि पार्टीका विभिन्न भेलाहरूमा पेश भएभन्दा धेरै नरम देखिन्छ, ‘जनविद्रोह’ शब्द प्रयोग नभएकाले पनि । यद्यपि, यसमा ‘क्रान्तिको निर्णायक विजयका लागि जनताको विद्रोहात्मक धक्का अनिवार्य हुन्छ’ चाहिं भनिएकै छ । त्यो ‘विद्रोहात्मक धक्का’ सशस्त्र हुन्छ कि निशस्त्र ? यसमा दस्तावेज मौन छ । दाहालको दस्तावेज भारतबारे पनि यसअघि जस्तो मुखर छैन, खाली ‘एकाधिकार पूँजीवादी’ भनेको छ । त्यसमा पनि त्यहाँको संस्थापन ‘एकाधिकार पूँजीवादी’ हो वा पूँजीपति वर्ग, स्पष्ट छैन ।
भारतबारे दाहालको दस्तावेज नरम हुनुमा प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष बाबुराम भट्टराईको प्रभाव एउटा कारण हुन सक्छ । एमाओवादीले अमेरिकालाई दिने गरेको ‘साम्राज्यवादी’ विशेषण भने कायमै राखेको छ । महाधिवेशनमा प्रस्तुत हुने विधान तयार नभए पनि अहिलेकै अध्यक्षात्मक र बहुपदीय प्रणाली हुने भने निश्चित रहेको नेताहरू बताउँछन् । एमाओवादीले ‘नयाँ ढंगको पार्टी बनाउने’ कुरालाई भने महाधिवेशनको एउटा मुख्य नारा बनाएको छ । त्यसको व्याख्यामा दस्तावेजले ‘क्रान्तिको आगामी कार्यभार पूरा गर्न सक्ने चुस्तदुरुस्त पार्टी निर्माण गर्ने’ भनेको छ । केन्द्रीय सदस्य कुमार पौडेलले ‘नयाँ ढंगको पार्टी बनाउनु नै’ महाधिवेशनको मुख्य कार्यभार रहेकोमा जोड दिए । पौडेल भन्छन्, “पार्टीमा राजनीतिक विवाद नभएकोले महाधिवेशन पार्टी निर्माणमै लाग्छ ।”
‘नयाँ ढंगको पार्टी बनाउन’ दाहालले नेताहरूबीचको एकता सुदृढ पार्ने सूत्र प्रयोग गर्नेछन् । दाहालले दस्तावेजमा एकातिर अहिले बाबुराम र आफूबीच एकता भएको दाबी गरेका छन् भने अर्काेतिर सुदृढ एकताका लागि आफू, बाबुराम र नारायणकाजीबीच एकता हुनुपर्नेमा विशेष जोड दिएका छन् । बाबुरामसँग बेलाबेला हुने गरेको अन्तरसंघर्षको स्मरण गर्दै दाहालले दस्तावेजमा भनेका छन्– ‘त्यतिबेला संघर्षकै बीचबाट विचार र राजनीतिक कार्यदिशामा जुन एकता पैदा भएको छ, त्यसलाई विकसित र सुदृढ गर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा छ ।’
लडाईं महासचिवमा
एमाओवादी महाधिवेशनले लिने निर्णयहरूबारे टुंगो नलागिसकेको एउटा विषय महासचिवको हो । २५०० देखि ३००० प्रतिनिधि हुने महाधिवेशनमा दाहाल पक्षको ६५ प्रतिशतभन्दा बढी हुने भएकाले उनी नै अध्यक्ष हुने निश्चित छ । त्यो सुनिश्चितताका लागि उनले बाबुराम र नारायणकाजीका लागि दुई उपाध्यक्ष प्रस्ताव गर्ने नै छन् । तर, पार्टी महासचिवका लागि दुई उम्मेदवार छन्– पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा ।
विद्रोहकालदेखि नै दुवै माओवादीमा भए पनि बोगटी र महराको पृष्ठभूमि÷इतिहास केही फरक छ । औपचारिक शिक्षा नलिएका नुवाकोटका बोगटी पंचायतकालमै माओवादीको पूर्वरुप मशालको केन्द्रमा थिए भने विज्ञानमा स्नातक महरा २०४८ सालमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुअघि शिक्षक थिए । महराले विद्रोहकालभरि दाहालसँगै भारतमा रहेर विदेश विभाग सम्हाले भने बोगटी पश्चिम कमाण्डको इन्चार्ज रहे । दुवै दाहाल निकट रहे पनि बोगटीले इमान्दार छवि बनाएका छन् भने महरा ‘गतिशील’ मानिन्छन् । महरा महासचिव बने बोगटी उपाध्यक्ष हुने सम्भावना छ भने बोगटी महासचिव बने महराले सचिवमै चित्त बुझउनुपर्ने हुनसक्छ ।
महाधिवेशनले टुंगो लगाउनुपर्ने अर्काे विषय सचिवहरूको चयन पनि हो, जसमा टोपबहादुर रायमाझ्ी, वर्षमान पुन, गिरिराजमणि पोखरेल र हरिबोल गजुरेल प्रतिस्पर्धी छन् । यी पदसँगै महाधिवेशनले केन्द्रीय समिति पनि चयन गर्नेछ, जसको आकार तय भएको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
