व्यक्तित्वसोमबार, माघ २२, २०६९
खाडीमा फुरेको जुक्ति
बढी कमाइका लागि सेनाको सेकेण्ड लेफ्टिनेन्ट जागिर छाडेर कतारको दोहा पुगेका निरज बोगटी (२८) ले निर्माण सामग्री बेच्ने कम्पनीमा निकै दुःख पाए । यसबीचमा उनले बाहै्रमास पानी लाग्ने खेत, घाँस–परालको पौलो र अभरमा साथ दिन हमेसा तम्तयार रहने छिमेकीको महत्व पनि राम्रैसँग बुझ्े । “जहाजले ओसारेको घाँसबाट चलेको गाई फार्म देखेपछि भने मेरो मगजको बिर्को राम्रैसँग खुल्यो”, निरज सम्झ्न्छन् ।
यसरी गाउँ फर्किएपछि उनले छिमेकी दाजु रवि नेपालसँग गाई पाल्ने कुरा गर्दा मतो मिल्न गयो । दुवैको गरेर पाँच बिघा जमिन छँदैथियो, उनीहरूले पैसाको जोरजाम गरेर भारतको हरियाणाबाट उन्नत जातका चार वटा गाई ल्याइहाले । आजको दिनमा उनीहरूको फार्ममा एक पटकमा तीन पाथी दूध दिने लैना, बकेर्ना र ब्याउने गरी ५० गाई छन् । २५ वटा त बाछाबाच्छी नै छन् । बाछीहरू रु.२५ हजार गोटा हाताहाती बिक्छन्, तर सय वटा गाई पुरयाउन चाहने निरज र रविले बाछी बेचेका छैनन् ।
नेपालको पूर्वी नाका काँकडभिट्टाबाट ६ किलोमिटर उत्तरको ग्राभेल सडकको दाहिने किनारमा बाँसको घेराबारा भित्र उनीहरूको फार्म रमितै लाग्दो छ । फार्ममा घाँस काट्न, गाई दुहुन र सरसफाई गर्न १४ जनाले रोजगारी पाएका छन् । उनीहरूको न्यूनतम मासिक तलब रु.८ हजार छ । फार्मको एकछेउमा चार हजार कुखुरा लगाइएको खोर छ भने अर्काे छेउमा बंगुर पाल्न ठिक्क पारिएको खोर । निरज भन्छन्, “यही माघको अन्तिम साता ५० वटा पाठा हाल्दैछौं ।”
यो फार्ममा दैनिक साढे चारसय लिटर दूध र कम्तीमा २२ सय अण्डा उत्पादन भइरहेको छ । महीनामा ३० हजार रुपैयाँको त मल मात्र बिक्री हुन्छ । सबै खर्च कटाएर दैनिक सरदर रु.१० हजार खुद नाफा गरिरहेका निरज र रविले जुक्तिसँगै जाँगर चलाउँदा फलिफाप भएको बताए ।
-गोपाल गडतौला, झापा