समाचारबुधबार, जेठ १०, २०६९
एमाले र काँग्रेसले संविधानको म्याद नथप्ने
१० जेठ साँझमा भएको ४ दलको बैठकमा एमाले र काँग्रेसका नेताहरुले १४ जेठमा सहमतीबाट संविधान ल्याउन पर्ने र दलबीच भएको ७ बुंदे सहमती अनुसार प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्काल राजीनामा दिनुपर्ने अडान राखेका छन् । तर माओवादीले तत्काल राजीना नदिने अडान लिएको एमाले नेता भीम रावलले हिमालखबरलाई बताए ।
यस अघि नेकपा (एमाले) को स्थायी समितिको बैठकले संविधानसभाका अवधि थप गर्ने सरकारको निर्णयको विरोध गर्दै दलहरूबीच भएको सहमतिका आधारमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । यसअघि १० जेठ दिउसो बसेको एनेकपा माओवादी र मधेशी मोर्चाको बैठकले राष्ट्रपतीलाई संविधान नबुझाएसम्म सरकार नछाडने धारणा अघि सारेका थिए ।
यसैगरी भट्टराई नेतृत्वको राष्ट्रिय सहमतिको सरकारबाट दोस्रो ठूलो घटक नेपाली काँग्रेस बाहिरिने भएको छ। काँग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सानेपास्थित पार्टी मुख्यालयमा चलिरहेको वैठकपछि १० जेठमा यस्तो जानकारी दिएका हुन ।
काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङका अनुसार यस विषयमा औपचारिक निर्णय हुन बाँकी छ । उनले संविधानसभाको म्याद थपको विपक्षमा निर्णय हुने पनि हिमालखबरलाई जानकारी दिए । राती १० बजे यो खबर तयार पार्दासम्म नेपाली काँग्रेसको बेठक जारी छ ।