अर्थ/बजारबुधबार, जेठ १०, २०६९

शोधनान्तर वचत ९१ अर्व

रमेश कुमार

नेपाल राष्ट्र ब्याङ्कले बुधबार प्रकाशित गरेको तथ्याङ्कले चैतसम्ममा शोधनान्तर वचत ९१ अर्व ३७ करोड रुपैयाँ पुगेको देखाएको हो ।

गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ९४ करोड रुपैयाँ नोक्सानमा थियो । अघिल्लो वर्ष शोधनान्तर उच्च नोक्सानमा गएपछि विज्ञहरुले अर्थतन्त्रमा जोखिम थपिएको बताएका थिए । तर, चालु आर्थिक वर्षमा यसमा सुधार आएको हो । देश भित्रिने र बाहिरिने रकम बीचको अन्तर नै शोधनान्तर हो ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्मा २ खर्व ४८ अर्व १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ५ प्रतिशतको वृद्धि हो । उच्च ब्यापार घाटा खेपिरहेको नेपालका लागि रेमिट्यान्स अर्थतन्त्रलाई थेग्ने एक मात्र खम्बा भएको तथ्याङ्कले देखाएको छ । चैत मसान्तसम्ममा नेपालको ब्यापार घाटा उच्च विन्दूमा पुगेको छ ।

निर्यातभन्दा आयात ६ गुणा बढी भएपछि ब्यापार घाटा २ खर्ब ८४ अर्ब ६० करोड रुपैयाँ पुगेको हो । यो अघिल्ला वर्षको तुलनामा १८ दशमलव ४ प्रतिशत बढी हो ।

पेट्रोलियम पदार्थ, रासायनिक मल, तयारी पोशाक, मेसिनरी औजार आदिको आयात बढेपछि ब्यापार घाटा चुलिएको हो । नेपालले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वस्तु आयात गर्न ३ खर्ब ३९ अर्व ८४ करोड रुपैयाँ खर्चेको छ । नेपालले गर्ने कुल वस्तु निर्यातले पेट्रोलियम पदार्थ समेत किन्न नपुग्ने तथ्याङ्क छ । नेपालले चैत मसान्तसम्ममा ५५ अर्व २४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ, जबकि पेट्रोलियम पदार्थ खरिद गर्न नै ६७ अर्ब ३८ करोड रुपैयाँ खर्चिनु परेको छ ।

तथ्याङ्कले नेपालसँग ३ खर्व ८६ अर्व ९६ करोड रुपैयाँको विदेशी मुद्राको सञ्चिति भएको देखाएको छ । यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ४२ दशमलव २ प्रतिशत बढी हो ।

राष्ट्र बैङ्कको तथ्याङ्कले बजार भाउ ७ दशमलव ५ प्रतिशतले बढेको देखाएको छ । अघिल्लो वर्षको तुलनामा खाद्यतथा पेय पदार्थ समूहमा ४ दशमलव ६ र गैर खाद्य र सेवा समूहमा १० दशमलव १ प्रतिशतले मूल्यवृद्धि भएको देखिएको हो । खाद्य तथा पेय पदार्थ समूहमा पनि घिउ तथा तेलको मूल्यमा १५ दशमलव ६ प्रतिशतले वृद्धि भएको देखिएको छ । गैर खाद्य र सेवा समूहअन्तर्गत जुत्ता चप्पल र लत्ता कपडाको मूल्य १५ दशमलव १ प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>