रमझमसोमबार, माघ २९, २०६९
नेपाली समाजको दर्पण
समाज, संस्कार र शासन
लेखकः खेमराज नेपाल
प्रकाशकः स्वशासन अध्ययन प्रतिष्ठान
वितरकः ज्ञान–विज्ञान सहकारी
पृष्ठः ४५०+२६,
मूल्यः रु.४००
३० वर्षे सेवा कालमा ७२ जिल्लामा काम गर्दाको अनुभवलाई लेखकले तीन खण्ड र ३७ शीर्षकमा प्रस्तुत गरेका छन् । पुस्तक भीमकाय देखिए पनि पढ्नलाई सरल छ । नेपाली समाजका विविध पाटो केलाइएको कृतिको कतिपय प्रसङ्गले रोमाञ्चित बनाउँछ । घरभित्रका नेपाली बानी व्यहोरा, समाज, संस्कृति, परम्परा, पेशा–व्यवसाय, शिक्षा, पञ्चायती प्रशासन र समाज रूपान्तरणमा महिलाको भूमिकादेखि राजनीतिमा अपराधीकरण, मन्त्री–सचिव टकराव, राष्ट्रिय संवेदनशीलता र मिडियासम्मका कुरा पुस्तकमा छन् ।
प्रशासनभित्रको भ्रष्टाचार, उपलब्धिविनाको व्यस्तता र ग्रहण गर्न नसकेका राम्रा कुराहरूलाई लेखकले आफ्नै भोगाइको आलोकमा प्रस्तुत गरेका छन् । पुस्तकमा उतारिएको सामाजिक विसंगति, गरीबी, असमानता, कमजोर राज्य व्यवस्था र गतिहीन राजनीतिले युवा वर्गमा संक्रमण गरेको निराशा तथा पलायनवादी सोचले पाठकलाई गम्भीर बनाउँछ । अनुभव र यथार्थले भरिएको संस्मरण पढ्दै जाँदा नेपाली समाजका नयाँ–नयाँ पहलुले पाठकलाई तानिरहन्छ । प्रशासन र राजनीतिको स्वार्थ कसरी जोडिएको छ, र प्रशासनभित्र कसरी अर्को प्रशासन हुर्किरहेको छ भनेर पुस्तकले छर्लङ्ग पार्छ ।
निजी अनुभवमा आधारित भए पनि नेपालले आत्मप्रशंसाबाट जोगिने लेखकीय खुबी देखाएका छन् र तथ्यगत प्रसङ्गहरूले पुस्तकलाई गहकिलो बनाएको छ । यो पुस्तक नेपाली समाज बुझन–बुझउन चाहने विद्यार्थी र शिक्षकदेखि पत्रकार, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, प्रशासक र राजनीतिकर्मीसम्मलाई उपयोगी देखिन्छ ।
डम्बरकृष्ण श्रेष्ठ