रिपोर्टसोमबार, फाल्गुण ७, २०६९
संदिग्ध फड्को
सुवास देवकोटा
चितवनको माडीमा २०४८ मा आफ्नै पार्टीको पूर्व स्वरुप एकताकेन्द्रको ‘एकता महाधिवेशन’ ले गरेको ‘जनयुद्ध’ को तयारी गर्ने निर्णयभन्दा ठीक उल्टो २०―२६ माघमा नेकपा एमाओवादीको हेटौंडा महाधिवेशनले ‘जनयुद्ध’, ‘जनविद्रोह’ जस्ता हिंसात्मक गतिविधि अब आवश्यक नभएको निर्णय गर्यो। शान्ति र लोकतान्त्रिक प्रक्रियामा आउँदा पनि पार्टीले लिखितहरूमा हिंसा त्यागेको घोषणा नगरेको एमाओवादीले यति ठूलो लिखित निर्णय गर्दा पनि ऊप्रति लोकतान्त्रिक शक्तिहरू विश्वस्त छैनन्। दस्तावेजमा विचार बाझनु र नेताहरूबाट त्यसभन्दा फरक विचार आउनुलाई यसको कारण मानिएको छ।
महाधिवेशनबाट फर्किएको चार दिनपछि १ फागुनमा काठमाडौंमा आयोजित ‘जनयुद्ध दिवस’ सभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘आवश्यक परे तीन करोड सेना बनाउने’ भन्दै पुरानै भाका दोहोर्याए, जबकि महाधिवेशनबाट पारित दस्तावेजमा सेना बनाउने योजना छैन। महाधिवेशनले ‘जनयुद्ध’ त्यागेको निर्णय गरे पनि हिंसाको धङधङी देखिने भाषा नबोल्दा ४ असारमा पार्टीबाट विभाजित मोहन वैद्य नेतृत्वको नेकपा―माओवादीले कार्यकर्ता तान्ला भन्ने चिन्ता आफ्नै ठाउँमा होला, तर दाहालको भनाइले महाधिवेशनको निर्णयमाथि प्रश्न उठाएकै छ।
विस्तृत रिपोर्टका लागि हिमाल साप्ताहिक खबर पत्रिकाको ६–१३ फागुन अंक हेर्नुहोस । बजारमा उपलब्ध छ ।