अन्तर्वार्ता/विचारशुक्रबार, जेठ १२, २०६९
अतिथि विचार : ‘म अमृत नेपाली’
“म मेरो ब्याण्डका सदस्यहरूको परिचय दिंदैछु … मेरो देब्रेपट्टि बासमा सुविन, ड्रममा ध्रुव …”
म हरेक सांगीतिक कार्यक्रममा आफ्नो ब्याण्डका सदस्यहरूलाई यसैगरी चिनाउँछु । मेरो सिद्धान्त नै हो, उनीहरूलाई चिनाउँदा म कसैको थर भन्ने गर्दिनँ । शान्ति संगीत यात्रा नेपालको एउटा कार्यक्रममा दर्शक दीर्घाबाट कसैले चिच्याएर सोध्योः
“ध्रुव के … ?”
हुन त यो हजारौंको समूहबाट आएको एउटा आवाज मात्र थियो, तर स्टेजमा उभिएको मेरो कानमा पर्न काफी थियो ।
मैले जवाफ दिनै परयो । “सुविन शाक्य बेसमा”, मैले थरमा विशेष जोड दिँदै भनें, “ध्रुव लामा ड्रममा, निरज गुरुङ गितारमा, सुरज थापा कीबोर्डमा, शान्ति रायमाझी तबलामा र म अमृत गुरुङ ।”
तर म यत्तिकैमा रोकिइनँ : “कसैले हामीलाई जातीय आधारमा विभाजित गर्न खोजे पनि हामी सबै नेपाली हौं । त्यसैले म ब्याण्ड सदस्यहरूको थर बताउने गर्दिनँ । स्टेजमा उभिएका हामी ६ जनालाई हेर्नुस्, यहाँ तपाईं एउटा सानो नेपाल देख्नुहुन्छ । हामीमध्ये कसैको नाक चेप्टो छ त कसैको चुच्चो, कसैका आँखा लाम्चो छन् त कसैका गोलो । तर यी कुराले हामीलाई एउटा टीममा मिलेर काम गर्न बाधा पुरयाउँदैनन्, बरु अझ राम्रो संगीत सिर्जना गर्न मद्दत पुरयाउँछन् । आउनुस् सबैले एकस्वरले भनौं— हामी सबै एउटा विशाल नेपाली परिवारका सदस्य हौं ।”
पूरै हल मैले अहिलेसम्म कतै नसुनेको तालीको लामो गडगडाहटले गुञ्जियो । मैले थर सोध्ने मानिसलाई देखिनँ, उसको आवाज त्यहीं दबेर गयो ।
म मेरा सांगीतिक यात्रामा नेपालीहरूसँग संगीतको भाषामा कुरा गर्छु । एक दशकदेखि मेरो ब्याण्डले शान्ति, न्याय र राष्ट्रिय एकताको सन्देश दिंदै नेपालको चक्कर लगाएको छ । यो काम म हामीलाई एक ढिक्का बनाउने नेपाली भाषाको माध्यमबाट गरिरहेको छु, त्यस्तो भाषा जसले जहाँसुकैका नेपालीलाई परस्पर सम्वाद गर्ने सुविधा दिएको छ । गीतका बीचमा म दर्शकहरूलाई सोध्ने गर्छुः “म नेपाली हुँ र यसो हुनुमा गर्व गर्छु, तपाईं नि ?” उनीहरू एकस्वरमा कानको जाली फुट्ने गरी चिच्याउँछन् : “हो, हो !”
म सांगीतिक यात्रामा नहिंडेको बेला नेपालका विभिन्न ठाउँको पैदल यात्रा गर्न रुचाउँछु । सुदूरपश्चिमदेखि पूर्वसम्मका गाउँहरू हुन् वा हिमालदेखि तराई, जहाँ पुगे पनि म मेरो नेपाली भाषाको माध्यमबाट गाँस र बास पाउँछु । यो भाषाको उत्पत्तिबारे विवाद नगरौं, तर यथार्थ के हो भने यो हाम्रो राष्ट्रिय संरचनालाई उनेर राख्ने र जताततैका नेपालीलाई एकबद्ध बनाउने थोरै चिजहरूमध्ये एक हो ।
हामी सबै अहिले नेपाल भनिने यो ठाउँमा कतै न कतैबाट बस्न आएका हौं, त्यसैले यहाँ को पहिला आएर बसोबास गरयो भन्ने कुरा अर्थहीन छ । समय क्रममा गुरुङ, नेवारी, मगर, भोजपुरी, मैथिली, तामाङ कुनै पनि भाषा नेपालको साझा भाषा बन्न सकेनन्, न यीमध्ये कुनै विभिन्न जातीय समूहहरूले आफ्नो नाममा स्थापित गर्न खोजेका प्रदेशहरूकै साझा भाषा बन्न सकेका छन् ।
मेरो जन्मस्थल पोखरामा हामी गुरुङहरूले मात्र गुरुङ भाषा बोल्दैनौं, अरूहरूले पनि बोल्छन् । त्यसैगरी नेवारी पनि काठमाडौंका सबै बासिन्दाले बोल्छन्, नेवारले मात्रै होइन । नेपाललाई बलियो र समृद्ध देश बनाउन चाहने हो भने हामीले नेपाली भाषा र नेपाली राष्ट्रिय एकताको सन्देशलाई फैलाउनुपर्दछ ।
स्याङ्जादेखि सिड्नी र फिक्कलदेखि फिनल्याण्डसम्म आयोजित सांगीतिक कार्यक्रमहरूमा मैले जब–जब यी विषयमा बोलेको छु दर्शकहरूले जनाएको जबर्दस्त समर्थनले मलाई नेपालीहरूको मौन बहुमतले यस्तै सोच्दो रहेछ भन्ने कुरामा विश्वस्त बनाएको छ । यी आवाजहरूलाई अहिले सञ्चारमाध्यमले फुलाएर ठूलो पारिदिएका विभाजनकारी नाराले केही ओझेलमा पारिदिएका मात्र हुन् । मैले भेटेका सबै नेपाली, जो जहाँसुकै बस्ने हुन्, मा एउटा साझा कुरा छः उनीहरूको साझा नेपाली पहिचान र पहिला आफू नेपाली हुँ भन्ने गर्व ।
हो, अवश्य नै नेपालको ऐतिहासिककालदेखि नै यहाँ भेदभाव र बहिष्करणको क्रम चलेको छ । कति ठाउँमा बढी नै ज्यादती भएको पनि होला । तर यसको अर्थ सबै सीमान्तकृत समूहका जनताहरू पूरै दमित थिए भन्ने होइन । आजको मेरो पहिचान मेरो संगीत मन पराउने नेपाली मूलका सबै मानिसहरूको मायाले बनेको हो, न कि गुरुङहरूको मात्र ।
मेरा मित्र नवीन सुब्बा सबैतिरका नेपालीले उनको कलाको सराहना गरेकाले चलचित्रकर्मी बनेका हुन्, उनको जाति समूहकाले मात्र होइन । माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, गोपाल योञ्जन, बैरागी काईंला र नारायणगोपाल खाली बाहुन, गुरुङ, तामाङ, लिम्बु वा नेवार भएर मात्र राष्ट्रिय व्यक्तित्व बनेका होइनन् ।
संविधानसभाले देशलाई जति टुक्रामा चाहन्छ विभाजित गर्ने निर्णय गरोस्, तर मेरो अपील छः मलाई नेपालको कुनै एउटा भागमा सीमित नपारिदिनुहोला । म कुनै एउटा प्रदेशको मात्र पहिलो श्रेणीको र बाँकी देशको दोस्रो श्रेणीको नागरिक बन्न चाहन्न । मेचीदेखि महाकालीसम्म जहाँसुकै उभिए पनि म आफ्नो भूमिमा उभिएको अनुभूति गर्न चाहन्छु ।
अमृत गुरुङ नेपाली लोक–रक ब्याण्ड नेपथ्यका संस्थापक हुन् ।