Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राजनीति सप्रिएन भने पनि... - Himalkhabar.com

ब्लगशुक्रबार, फाल्गुण ११, २०६९

राजनीति सप्रिएन भने पनि…

केदार शर्मा

रोकिंदैन कामः सप्तरीको राजविराजमा निर्माणाधीन घरमा महिला कामदार । तस्विर: विक्रम राई

अहिले हाम्रासामु दुई वटा सम्भावना छन्। पहिले त आशा नै राखौं, राजनीति स्थिर हुनेछ, चुनाव हुनेछ, संविधान बन्नेछ, मुलुक प्रगतिपथमा अघि बढ्नेछ। तर यो सोच्न जति आनन्ददायी छ र भन्न जति सजिलो छ, व्यवहारमा लाखौं गुणा जटिल छ। लोभ, पाप, षडयन्त्र, धोका, आतङ्क, दण्डहीनता र दुईजिब्रेपनले गाँजेका बेला राजनीतिमा सहजै र चाँडै सुधार हुन्छ भनेर सोच्नु दिवास्वप्न मात्र हो।

दोस्रो अवस्था सोच्न पनि मन लाग्दैन, तर दुर्भाग्यवश बढी सम्भाव्य त्यही छ। हामी राजनीतिक अस्थिरताको भुमरीमा अझ्ै फँस्दै जानेछौं। संविधान बन्ने छैन र मुलुक फेरि पनि अधिनायकवादी शासन व्यवस्थामा प्रवेश गर्नेछ।

हामी पहिलो अवस्थातिरै अभिमुख हुनुपर्ने हो, तर त्यो हाम्रा अर्थात्, सर्वसाधारण नागरिकका हातमा छैन। राष्ट्रवादको अन्धो घोडा चढेर लडार्इंमा भिडेका व्यक्ति प्रधानमन्त्री भएपछि ‘साँचो अर्कैका हातमा छ’ भन्न लाज मान्दैनन्।

आफूलाई मुलुकको सबभन्दा प्रभावकारी नेता ठान्ने पुष्पकमल दाहाल सार्वजनिक रूपमा ‘विदेशी शक्तिले नचाहेकाले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सकिएन’ भन्न शरम मान्दैनन्। त्यसै पार्टीका प्रभावकारी नेताले सांसद् किन्न विदेशीसित पैसा मागेको रेकर्ड सार्वजनिक भएर पनि बिर्सिइसकेको छ। अरू पार्टीका नेता पनि राजनीतिमा अप्ठ्यारो पर्ने बित्तिकै दिल्लीका डाक्टरहरूसित स्वास्थ्य परीक्षण गराउन कुद्छन्। कसैका हातमा नरहेको वा अरूका हातमा रहेको यो राजनीति नसप्रिने सम्भावना बढी छ।

स्कूल जाँदै गरेकी छात्रा

जमिन र पानी
राजनीति बिग्रिंदा कलह, अपराधीकरण, दण्डहीनता, राज्यकोषको ब्रह्मलुट बढ्दै जान्छ। राज्यका अंग र संवैधानिक निकायहरूको तेजोबध गराइन्छ। योग्यता विनै सजिलै पैसा कमाउनेहरूको बोलवाला चल्छ। त्यस्ता व्यक्तिहरूले सबै कुरालाई बिकाउ ठान्न थाल्छन्। बिक्न अस्वीकार गर्नेहरूले अपमानित र दण्डित हुनुपर्छ।

गएको दशकको उदाहरण हेर्दा देखिन्छ, राजनीति बिग्रिएपछि देशप्रतिको विश्वास घट्छ। मानिसहरूले देशबाट पलायन हुने बहाना पाउँछन्। जनस्रोतको अभावमा उत्पादकत्व घट्छ, परनिर्भरता बढ्छ। मानिसहरू रोजगारीका लागि पारिवारिक विखण्डन समेतको जोखिम मोल्न बाध्य हुन्छन्। लाञ्छित, अपमानित, प्रताडित मानिसहरूको संख्या बढ्छ।

यहाँ हामीसित दुई वटा विकल्प छन्, परिस्थितिको भेलले जता डोर्‍याउँछ त्यता जाने वा आफूले सोचेको दिशातर्फ जाने। परिस्थितिलाई स्वीकार्दा बगिदिए पुग्छ। त्यो मूलप्रवाहमा हेलिन अस्वीकार गर्नेहरूका वैकल्पिक योजना के हुनसक्छन्?

‘देश खत्तम’ भयो भने हामी के गर्न सक्छौं?
राजनीति जति बिग्रिए पनि त्यसको चरमोत्कर्ष, अर्थात् ‘तीन करोड नेपालीलाई सैनिक बनाउने’ दाहालको महत्वाकाङ्क्षाको कार्यान्वयन शुरू नहुञ्जेल म शरणार्थी हुने कुरा सोच्दिन। त्यतिञ्जेलसम्म म यहीं सार्थक जीवन बाँच्न सक्छु। राजनीति जति बिग्रिए पनि हामी टीभीमा देखिएका अफ्रिकी मुलुक वा अफगानिस्तानको अवस्थामा पुग्ने छैनौं।

हामीलाई ठूलाठूला संकटबाट जोगाउने केही कुरा हाम्रो समाजमा पहिल्यैदेखि विद्यमान छन् र केही कुरा अहिले विकास भइरहेका छन्। राजनीति बिग्रिए पनि हामी तिनलाई अझ् प्रभावकारी बनाउन सक्छौं।

हाम्रो जमिन उर्वर छ र मनसुनी वर्षाका कारण हामीलाई हरियालीको वरदान प्राप्त छ। राजनीति स्थिर भयो भने यो जमिनले सम्पन्न बनाउन सक्छ, तर राजनीति बिग्रियो नै भने पनि हामीलाई उब्जाउन, फलाउन र उब्जिएका कुरा बेच्न केहीले रोक्ने छैन। हामी जमिनमा आधारित उद्यमशीलतालाई अघि बढाउन सक्छौं।
मिश्रित समाज

सुन्दर र सजीव सामाजिक बनोट र बुनोट हाम्रो अर्को सम्बल हो। एउटै घरमा हिन्दू, बौद्ध र प्रकृतिपूजकको बसोबास छ। कतिपय अवस्थामा त म कुन धर्म मान्छु भन्ने पनि हामीलाई थाहा वा मतलब हुँदैन। बसाइँसराइ र अन्तरजातीय सम्बन्धहरूबाट निर्मित हाम्रो समाजमा जातीय द्वेष फेल भइसकेको छ। राजनीति बिग्रिए पनि हामी व्यक्तिगत हिसाबमा जातीय सद्भाव र सहकार्य बढाएर बाँच्न सक्छौं।

कतिलाई २०४७ को संविधानको महत्व स्वीकार्न गाह्रो लाग्छ तर अहिलेको हाम्रो खुलापनको आधार त्यही संविधान हो र त्यसबाट फर्किन अब सम्भव छैन। सिंगै मुलुकको शक्ति हातमा भएका बेला राजाले थुन्न नसकेको सूचना र सञ्चारको नदी अब अझ् विकसित प्रविधिका कारण पनि रोकिंदैन।

हामी सकेसम्म पढेर र सीधा भन्न लेख्न नपाए पनि आफ्ना कुरालाई कलात्मक अभिव्यक्ति दिएर बाँच्न सक्छौं। पञ्चायतले ३० वर्षसम्म बहुलताको भावना र यथार्थलाई नकारे पनि बहुलताको अर्थ र मर्मले समाजमा जरा गाड्यो। बहुलता र अधिनायकवाद सँगसँगै जान नसक्ने भएकोले पंचायत गयो। बहुलताका विरोधीहरू अहिले पनि जुर्मुराउन खोजिरहेका छन् तर सक्दैनौं भन्ने बुझिसकेका छन्।

शिक्षाको चाहना र लगानी गएको तीन दशकमा हामीले शिक्षामा ठूलो लगानी गर्‍यौं, परिणाम जहाँ भए पनि नेपालीहरूको उत्पादकत्व, आत्मविश्वास र आत्मसम्मान बढेको छ। शिक्षित नेपालीहरू प्रविधिका माध्यमबाट पनि विश्वसित नजिक छन्, बिग्रेको राजनीतिलाई औंला ठड्याउन सक्ने भएका छन्। शिक्षामा लगानी बढाउँदै जाँदा सन्तानको भविष्य त बन्छ नै, देशको पनि भविष्य बन्छ। हामी यस मामिलामा कमजोर रहेनौं।

लाखौं नेपालीले विदेश देखेका छन्। प्रगतिको चाहनाले नयाँ आयाम पाइसकेको छ र धेरैले सीप सिकेका छन्। रेमिट्यान्स अर्थतन्त्रका कैयन् नकारात्मक पक्षहरू हुँदाहुँदै पनि अब कुनै पनि सरकारले यसलाई नकार्न सक्ने अवस्था छैन। निरन्तरको विदेश यात्राले नेपालीहरूलाई ‘लाटासोझा’ रहन दिएन, अब।

कुरा नलुकाई भन्नुपर्दा नेपाली राजनीति बिग्रने सबभन्दा ठूलो डर माओवादीबाट नै छ। बाबुराम भट्टराईलाई सूचनाप्रविधिको बल र जोखिम दुवै थाहा छ। त्यसैले उनी कहिले सामाजिक सञ्जाल नियन्त्रणको कुरा गर्छन् कहिले ट्वीटरबाट ट्याँट ट्याँट गर्छन्। जे भने गरे पनि सूचनाप्रविधिमा नियन्त्रण गर्ने आँट गर्न अब कसैलाई सजिलो छैन। हामी सूचनाप्रविधिको सार्थक प्रयोग बढाएर पनि यसलाई आफ्नो सुरक्षाकवच बनाउन सक्छौं।

राजनीति बिग्रिने सम्भावना धेरै छ, तर त्यसका प्रतिरोधी क्षमता र सम्भावना मुलुकमा धेरै छन्। म तिनैमा भर परेर, तिनैलाई जगेर्ना गरेर बस्छु। तपाईं नि?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>