रिपोर्टआइतबार, फाल्गुण १३, २०६९
चुपचाप कृषि क्रान्ति
डम्बरकृष्ण श्रेष्ठ, हात्तीमुडा, मोरङ
मोरङको हात्तीमुढा– ६ गोकुवाका कृष्ण केसी (५९) को चार वर्षअघि र अहिलेको कृषिमा आकाश–जमिनको फरक छ । पहिला उनी ६ बिघा जमिनमा एक सिजनको खेतीका लागि दुई हल गोरु, दुई हली, त्यही अनुसारका खेताला र पूरै परिवारको शक्ति लगाउँथे । जोत्न, रोप्न र छर्न अढाइ महीना र कटाइमा डेढ महीना खट्नुपर्दथ्यो । अहिले ती सब काम १५ दिनमा सकिन्छ । “५० मन हुने ठाउँमा ९० मन उब्जनी हुन थालेको छ”, केसी भन्छन् ।
केसीको यो भनाइले हात्तीमुढा–६ र टंकीसिनवारी–५ गोकुवाका १०६ परिवार किसानको परिवर्तित जीवनशैली दर्साउँछ । एक बिघा जमिनमा हलगोरु जोतेर १५ दिनमा बाली लगाउने किसानहरू अहिले डेढ–दुई दिनमा यो काम गरिसक्छन् । उनीहरूले कृषि प्रणालीमा यान्त्रिकीकरण गरेर श्रमको समय घटाई उब्जनी बढाएका छन् । यसबाट उनीहरूको लागत आधा घटेको छ ।
परम्परागत खेती प्रणालीमा धान खेतीको तयारीदेखि बाली भिœयाउँदासम्म एक बिघामा रु.१९ हजार ७०० लाग्थ्यो, अहिले रु.१० हजारमा काम सकिन्छ । एक बिघा गहुँ खेती गर्दा लाग्ने रु.१८ हजार लागतलाई यान्त्रीकरणले रु.८ हजार ४०० मा झरेको छ । धान र गहुँ खेतीमा मल, बीउ तथा श्रम समेतमा गरेर २५ प्रतिशतसम्म लागत घटेको छ, जुन किसानको खुद नाफा हो ।
अहिले मोरङ, सुनसरी र झपाका ४४ कृषक समूह यान्त्रिकीकरणमा लागेका छन् । यीमध्येको पुरानो टंकीसिनवारी कृषि उपज सहकारीमा टंकीसिनवारी र हात्तीमुडाका ४०० किसानका १४ सहकारी आवद्ध छन् । सात वर्षअघि एउटा कोठाबाट शुरू भएको यो सहकारीको अहिले पाँच कट्ठा जग्गामा साढे तीनतले भवन छ । वार्षिक रु.१ करोड बराबरको आर्थिक कारोबार गर्न थालेको सहकारीमा अन्न ब्याङ्क समेत सञ्चालन भएको यसका अध्यक्ष सोमराज काफ्लेले बताए ।
पूर्वी तराईका तीन जिल्लामा शुरू भएको कृषिको आधुनिकीकरणसँग निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको अभियान जोडिएको छ । प्रविधि अपनाएर किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तम्सिएका बस्नेतले बुद्ध एयरको ‘कर्पोरेट सोसल रेस्पोन्सिविलिटी’ (सामाजिक उत्तरदायित्व) अन्र्तगतको लगानी परीक्षण गोकुवामा गरेका थिए, २०६४ सालदेखि । त्यसको दुई वर्षअघि टंकीसिनवारी कृषि उपज सहकारी स्थापनाको समयमा बस्नेतबाट रु.१० लाख सहयोग पाएको सहकारी अध्यक्ष काफ्ले बताउँछन् । उनी भन्छन्, “बस्नेतको सोच र आर्थिक सहयोगलाई हामीले कार्यान्वयन गर्यौं ।”
विस्तृत १३–२० फागुन अंकको साप्ताहिक खबरपत्रिका हिमालमा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
