व्यक्तित्वआइतबार, फाल्गुण १३, २०६९

होटलले नै उठायो

हिमालखबर

कुनैबेला कामको खोजीमा बरेली र बम्बईका गल्लीमा भौँतारिएका, गुजाराका लागि कैलालीको टीकापुरमा जुठाभाँडा स्याहारेका र मःम-चाउमिन बेचेका लक्ष्मण आज होटल व्यवसायबाटै यति सफल र सम्पन्न भएका हुन्।

गुल्मी, हुँगाका ३९ वर्षीय लक्ष्मण न्यौपानेले १३ वर्षमा गरेको प्रगति हो यो। कुनैबेला कामको खोजीमा बरेली र बम्बईका गल्लीमा भौँतारिएका, गुजाराका लागि कैलालीको टीकापुरमा जुठाभाँडा स्याहारेका र मःम-चाउमिन बेचेका लक्ष्मण आज होटल व्यवसायबाटै यति सफल र सम्पन्न भएका हुन्। १३ वर्षअघि दुई-चार हजार रुपैयाँ बोकेर गुल्मीबाट सुदूरपश्चिम झ्रेका लक्ष्मण कैलाली, टीकापुरको अँध्यारो गल्लीबाट नेपालगञ्जहुँदै काठमाडौंसम्म फैलिएका छन्। रु.२५ करोडभन्दा बढीको कम्पनी हाँक्ने उनलाई नयाँ काम गर्नुपरे ब्याङ्कहरूले पाँच-सात करोड सजिलै पत्याउँछन्।

लक्ष्मणको सिद्धार्थ बिजनेश ग्रुपले ललितपुर धोबीघाटमा रेस्टुरेन्ट तथा ब्याङ्क्वेट, काठमाडौं पुरानो बानेश्वरमा फुडल्याण्ड, सुन्धारामा होटल, तीनकुनेमा कटेज रेस्टुरेन्ट, नेपालगञ्जमा होटल र कटेज रेस्टुरेन्ट, कैलालीको टीकापुरमा होटल र चिसापानीमा कटेज रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ भने काठमाडौं, बुटवल, सुर्खेत र पोखरामा थप चार होटल खोल्दैछ। छिट्टै काठमाडौं पश्चिमका सबै प्रमुख शहर र पर्यटकीय गन्तव्यमा व्यवसाय विस्तार गर्ने तयारीमा लागेका लक्ष्मणको सफलताबाट नलोभिने शायदै कोही होला।

दधिराम न्यौपानेका सात छोरी र ६ भाइ छोरामध्ये माहिला छोरा लक्ष्मण कसरी यो उँचाइमा पुगे? गाउँमा कक्षा १० भन्दा पढ्न नसकेपछि साथीको लहलहैमा भारततिर भागेका र त्यहीँ नै राम्रो जागिर गर्न थालेका उनलाई एक्लोपनले गुल्मी नै फर्कायो। तम्घासमा दाजुले चलाएको होटलबाट आफ्नो सपना पूरा नहुने देखेका उनलाई कसैले पश्चिमतिर होटल राम्रो चल्छ भनेर सुनाएपछि दायाँबायाँ केही नसोची कुदिहाले। धेरै ठाउँ हेरेपछि कैलालीको टीकापुरमा मासिक रु.५०० मा खाली जग्गा भाडामा लिई पाल टाँगेर मःम र चाउमिन बेच्न थाले। मःमको स्वाद पनि थाहा नभएका लक्ष्मणले बजारका रेस्टुरेन्ट घुमेर मःम खाँदै बनाउने तरिका सिकेका थिए। लक्ष्मण सम्झ्न्छन्, “कसैले देखिहाल्ला भनेर लाज लाग्थ्यो, अघिल्तिरको सटर कतिखेर बन्द होला र भाँडा धस्काउँला भनेर कुरेर बस्थेँ। गुल्मीबाट श्रीमती आएपछि अलि होलो भयो।”

जसोतसो वर्ष बित्यो, तैपनि राम्रो छाँट नदेखेपछि मासिक रु.४४०० भाडा तिरेर हिमाल होटल खोले। ठीकठीकै चल्न थालेपछि गुल्मीबाट आएका दाजुसँग मिलेर रु.७५०० मा घर भाडामा लिई सिद्धार्थ होटल पनि चलाउन थाले। आखिर यसैबाट जीवनले कोल्टे फेर्‍यो। होटल चलेपछि विस्तार गर्ने विचार आयो र शुरु भयो― नेपालगञ्जदेखि काठमाडौंसम्मको दौडाहा।

हिजो टीकापुरमा पालमुनि रेस्टुरेन्ट शुरु गर्दा एक्ला लक्ष्मणसँग आज आफन्त र सहकर्मीहरूको साथ छ। उनका चारै भाइ सिद्धार्थ ग्रुपलाई उचाइमा पुर्‍याउन प्रयत्नरत छन्, दाजु बुटवलको सिद्धार्थ होटल हेर्छन्। सिद्धार्थ ग्रुपमा आबद्ध करिब ४०० जनाको टिमसँग कर्मको नाता पनि एकै परिवारका सदस्यकै जस्तो छ। कर्मचारी-मजदुरलाई सिद्धार्थ फुडल्याण्डमा १०, धोबीघाट रेस्टुरेण्टमा १५ र चिसापानीको कटेज रेस्टुरेन्टमा ३० प्रतिशत शेयर दिएका लक्ष्मण भन्छन्, “कर्मचारी नै कम्पनीका मालिक भएपछि तिनमा अपनत्वको भावना आउँछ, काममा गम्भीर बन्छन्। आज हामीकहाँ मालिक र कामदार भन्ने भावना छैन।” यसले गर्दा कर्मचारी मजदुर हड्तालको समस्या पनि आउँदैन। कर्मचारीकै हितका लागि उनले हरेकको तलबबाट पाँच प्रतिशत र कम्पनीबाट त्यति नै थपेर सिद्धार्थ सेभिङ फण्ड पनि शुरु गरेका छन्, जसबाट कर्मचारीले ऋण लिन पाउँछन्।

पैसा भोलि रहला-नरहला, असल व्यवहार र नाम राख्नुपर्छ भनेर बाबुले सिकाएको बाटोमा अघि बढेका लक्ष्मण न्यौपाने कृषिमा हात हाल्न चाहन्छन्। “बुबाले कृषिमै केही गर्नुपर्छ भन्नुहुन्थ्यो, कृषिबाहेक राम्रो भविष्य भएको अर्को क्षेत्र छैन”, उनी भन्छन्, “बजारमा प्याज, आदिको भाउ बढेको र कृषि उत्पादनको अभाव भएको बेला साह्रै खिन्न लाग्छ।” त्यसैले जैविक खेती गर्ने सोच बनाएका लक्ष्मण सकभर आफ्ना होटल-रेस्टुरेन्टमा आफैँले उत्पादन गरेको स्वस्थकर खाद्यान्न-तरकारीबाट स्वास्थ्यमैत्री स्वाद पस्कन चाहन्छन्।

रामेश्वर बोहरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...