अन्तर्वार्ता/विचारआइतबार, फाल्गुण १३, २०६९

‘आफैं विरुद्ध पेसी तोक्नुपर्ने अवस्था आउँछ’

हिमालखबर

हरिकृष्ण कार्की

प्रधानन्यायाधीश नै प्रधानमन्त्री बन्दा न्यायालयमा कस्तो प्रभाव पर्ला ?
न्यायालयको स्वतन्त्रता समाप्त हुने, जनआस्था घट्ने र शक्तिपृथकीकरणको सिद्धान्त विपरीत हुने त छँदैछ प्रधानमन्त्री बनेर पुनः प्रधानन्यायाधीशमा फर्कंदा कार्यपालिका प्रमुखको हैसियतमा आफूविरुद्ध परेका मुद्दामा आफैंले पेसी तोक्नुपर्ने अवस्था आउन सक्छ ।

संवैधानिक वा कानूनी हिसाबले न्यायपालिका प्रमुखलाई कार्यपालिका प्रमुख बनाउन मिल्छ ?
संविधानमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुराको परिकल्पनै छैन । त्यस्तो गर्नु सीधै गैर–संवैधानिक र गैर–कानूनी हो । कतिपयले संविधान संशोधन गरेर बनाउन सकिने भनिरहेका छन्, तर संविधान संशोधन पनि संविधानवाद बाहिर गएर गर्न सकिंदैन । संविधानवाद बाहिरको दस्तावेजलाई संविधान भनिंदैन ।

राजीनामा दिएको अवस्थामा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सकिन्छ पनि भनिएको छ नि !

अन्तरिम संविधानको धारा १०६ मा पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बाहेक अन्य लाभको कुनै पनि पदमा बस्न नपाउने प्रावधान छ । भविष्यमा कतै नियुक्ति पाउने आशाले न्याय सम्पादन प्रभावित नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

दलहरूले निकास निकाल्न नसकिरहेको अवस्थामा यही विकल्पलाई सकारात्मक मान्दा के फरक पर्ला ?
म राजनीतिक प्रभावको विषयमा टिप्पणी गर्न चाहन्न । तर अन्तरिम संविधानको प्रस्तावनामा ‘लोकतान्त्रिक मूल्यमान्यता प्रति प्रतिबद्ध रहने’ भन्ने वाक्य तीन ठाउँमा छन् । ती वाक्यहरू त्यसै तेहे¥याएर राखिएका होइनन् । प्रस्तावनामा ‘दलीय प्रतिस्पर्धा’ भन्ने पनि उल्लेख छ । लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्दै दलहरूबीच प्रतिस्पर्धा हुनुपर्छ भन्ने स्पष्ट दिशानिर्देश हो, यो ।

सर्वोच्च अदालत करीब–करीब न्यायाधीशविहीन हुनुमा प्रधानन्यायाधीशको भूमिका देख्नुहुन्छ ?
न्यायाधीश खाली राख्ने वा पूर्ति गर्ने विषयमा प्रधानन्यायाधीशको भूमिका नै थिएन भन्यो भने त्यो गलत हुन्छ । सबैले भन्दै आएको कुरा के हो भने सर्वोच्च अदालत र न्यायपरिषद्को नेतृत्वको हैसियतले प्रधानन्यायाधीश खिलराज रेग्मिले न्यायाधीश नियुक्तिका लागि कुनै पहल गर्नुभएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>