समाचारबिहीबार, जेठ ११, २०६९
१४ जेठ भित्रै संविधान जारी हुनेमा ‘प्रचण्ड’ विश्वस्त
११ जेठ दिउसो आएको सर्वोच्च अदालतको फैसलापछि १४ जेठ भित्रै संविधान जारी गर्नुको विकल्प नभएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । ११ जेठ बेलुकी ८ बजे सभामुख सुवास नेम्बाङसँगको भेटमा ‘प्रचण्ड’ले उक्त कुरा बताएको बुझिएको छ ।
हिमालखबर सँगको कुराकानीमा सभामुख नेम्बाङले भेटघाट भएको बताउँदै अध्यक्ष दाहाल १४ जेठ भित्रै संविधान जारी गर्न सकरात्मक रहेको पाएको बताएका छन् । सभामुखले भने ‘उहाँले सहमतीकै आधारमा संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ ।’ प्रचण्डले सभामुखलाई राजनीतिक सहमतिबाटै संविधान जारी गरिने भएकाले अन्य (मतदान) लगायतका प्रकृयालाई अघि बढाउनु नपर्ने समेत बताएको बुझिएको छ । दाहाल नेम्बाङ भेटघाटबारे व्रिफिंग प्राप्त एक उच्च राजनीतिक स्रोतका अनुसार प्रचण्डले सभामुखलाई भोली दिउँसोसम्म चित्त बुझ्दो अवस्था निर्माण भइसक्ने बताएका थिए ।
त्यसैगरी प्रधानमन्त्री भट्टराईले पनि सभामुखसँगको टेलिफोन वार्तामा सर्वोच्चको फैसला पश्चात १४ जेठ भित्रै संविधान जारी गर्न आफू लागी पर्ने बताएका थिए । प्रधानमन्त्री आफु पनि गम्भीर भएर लागेको र १२ जेठ बिहानदेखी बेलुकीसम्ममा बृहत छलपल गरेर सहमतीमा पुग्ने कुरामा बताएको उक्त स्रोतको दाबी छ ।
यसैबीच बालुवाटारस्थित एक उच्च श्रोतका अनुसार १४ जेठ बेलुकीसम्म सहमतीकै संविधान ल्याउनमा प्रयासरत रहने र सहमती हुन नसकेको अवस्थामा मात्र संकटकाल लगायतका अन्य विकल्पबारे सोच्न सकिने प्रधानमन्त्रीले आफ्ना निकटस्थहरुसँग बताएको बुझिएको छ । यद्यपी सो अवस्था आउनु अघि नै सहमति भइसक्नेमा आफू समेत विश्वस्त रहेको स्रोतको दावी छ ।