ब्लगबुधबार, फाल्गुण १६, २०६९

शक्ति हुन् नारी

tara

विलाश राई

केही साताअघि एक दैनिकमा प्रकाशित ‘कि बच्चा नपाऊ, कि छाउपडी नपठाऊ’ भन्ने शीर्षकको समाचार साह्रै बुलन्द लाग्यो । विभिन्न दलका नेता–कार्यकर्ता र सामाजिक अभियन्ताहरूले भरिभराउ जिल्ला विकास समिति अछामको सभाकक्षमा ५८ वर्षीया अमृता खड्काले मुलुकको सामाजिक कुसंस्कारलाई चुनौती दिंदै भनिछन्, “कि छाउपडी बन्द गर, कि त आफैं बच्चा जन्माऊ । हामीले जन्माएका छोराहरू नेता, मन्त्री र हाकिम भएर सम्मान पाउने अनि हामीलाई अपमान किन ?”

क्या दामी अभिव्यक्ति ! मेरो मन खुशीले ढक्क फुल्यो । कुनै महिलाले, अझ् त्यसमा पनि कुनै ग्रामीण महिलाले ठीक ठाउँ हेरेर यति सन्तुलित ढंगले यस्तो युगीन समस्याको बम विस्फोट गरेको आवाज मैले सुने÷पढेकी थिइनँ । म त्यो सभाकक्षमा भएकी भए ती खुल्ला विचारकी साहसी नारीप्रति मेरो तत्कालीन प्रतिक्रिया कस्तो हुन्थ्यो होला, थाहा छैन ।

कमको छैन शहर पनि
म सुदूरपश्चिमका सबै जिल्ला पुग्न नसके पनि त्यताका हृदय चिमोट्ने खबरहरू नियमित भनेजसो गरी पढ्ने/सुन्ने गरेकी छु । त्यतातिर छाउपडी प्रथा छ, जसका कारण एक्लो गोठभित्र महिलाहरू चिसोले मरेका, सर्पले डसेका र बलात्कारको शिकार समेत भएका समाचारहरू उत्पादन भइरहन्छन् । तर, रजस्वला भएकी नारीलाई विभेद गर्ने संस्कार सुदूर तथा मध्यपश्चिममा मात्र नभएर नेपालभर कायम रहेको हाम्रो समाजका प्रत्येक सदस्यलाई थाहा छ । अर्थात्, रजस्वला भएकी नारीप्रतिको विभेदका लागि सुदूर र मध्यपश्चिम नेपालले मात्र लज्जित हुनुपर्दैन । मेरो बुझइमा समस्या घटी–बढीको मात्र हो; सबैका घर–घरमा नारीमाथि विभेद छ ।

कुरा कोट्याएपछि पहिला आफ्नै घरबाट शुरू गरौं । मेरो माइती काठमाडौंको बुद्ध धर्मावलम्बी, त्यसमा पनि निङमापा (तिब्बती रातो पोशाक लगाउने) को अनुसरण गर्ने नेवार परिवार हो । यो धर्ममा नछुने बार्नुपर्दैन, तर हिन्दू धर्म–संस्कृतिमा भिजेका मेरा माइतीका सबै महिला नछुने बार्थे । ६ कक्षामा पुग्दा रजस्वला शुरू भएपछि मैले पनि आमाले सिकाए अनुसार नै गरें । बुहारीका रूपमा ब्राह्मणको घरमा भित्रिएपछि हिन्दू संस्कार र सासूआमाको निर्देशन अनुसार अझ् कठोर नियमहरू पालना गर्न थालियो । तीन दिनसम्म बार्नुपथ्र्याे, छुट्टै ओछ्यानमा सुत्नुपथ्र्यो । अरूको कोठामा कार्पेट, गलैंचा छोइने हुनाले भित्र पसिंदैनथ्यो । जनै लगाउने र पूजा गर्नुपर्नेहरूसँग त जोगिनुपर्ने । झ्ुक्किएर छोइएमा उनीहरूले नुहाएर जनै फेरेर सुनपानी छर्कनुपथ्र्यो ।

रजस्वला भएको चार दिनमा नुहाएपछि पानी चल्थ्यो । पाँचौं दिनमा नुहाएर सफा लुगा फेरेपछि चोखो भएको मानिन्थ्यो । अनि मात्र मान्यजनका लागि खाना पकाउन, खुवाउन र पूजाआजा गर्न योग्य भइन्थ्यो । पितृकार्यका लागि त अझ् सात दिनपछि मात्र चोखो भइन्थ्यो । अहिले समयले निकै फड्को मारिसकेको छ र म आफैं सासू भइसकेकी छु । तर, यो मामिलामा राजधानी पनि त्यति खुल्ला भएजस्तो लाग्दैन । मेरो इनारमा पानी लिन आउने महिलाहरू कम्पाउण्डमा कुनै बोटविरुवा अलि ओइलाएको देख्यो कि ‘नछुने भएकी महिलाले छोइदिएछन्’ भनेर टिप्पणी गर्छन् । अफिसमै पनि कतिपय साथी श्रीमती नछुने भएकीले आफैं खाना पकाउनु परेको कुरा गर्छन् ।

कुरीतिको दोष भगवानलाई !
स्वर्गका राजा इन्द्रले आफ्नो पाप घटाउन त्यसको तीन भागको एक खण्ड नारीमाथि सारिदिएको कुरा कहीं पढेकी थिएँ । त्यसैबेलादेखि नारीले रजस्वलाको भार बोक्नु परेको रे ! तर, म यसलाई कुनै पाप या अभिशाप नभएर ईश्वरले नारीलाई दिएको एक अद्भुत वरदान वा अद्वितीय दैवीशक्ति मान्दछु । हरेक महीना रजस्वला हुने शक्तिकै कारण नारीहरू आफू जस्तै प्राणी सृष्टि गर्न सक्षम भएका हुन् । नारीको रजस्वला विना सृष्टि संभव हुँदैन । मानव सृष्टिविनाको धरती कस्तो होला, हामी सबैले निमेषभरमा कल्पना गर्न सक्छौं ।

म रजस्वला भएको बेला मन्दिरभित्र पस्न पाउनुपर्ने दावा गर्ने विद्रोही महिला होइन, तर धर्मको नाममा नारीमाथि सबैखाले विभेद, अन्याय, अत्याचार र शोषण चुपचाप सहनुपर्छ भन्ने नारी पनि हैन । बरु, ‘जहाँ नारीको सम्मान हुन्छ, त्यहा“ देवताहरू खुशी हुन्छन्’ भन्ने भनाइको पक्षपाती हुँ । त्यसकारण नारीको सम्मान गरौं, समाजलाई सुन्दर बनाऔं ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...