टिप्पणीसोमबार, फाल्गुण २८, २०६९
पावरको टावर
इतिहासको विभिन्न कालखण्डमा शासकहरूले आफ्नो कीर्ति राख्न वास्तुकलाको माध्यम रोजेका छन् । मानदेवले मानगृह, अंशुवर्माले कैलाशकूट र भीमसेन थापाले मिनार (अहिलेको धरहरा) बनाए । चन्द्रशमशेर राणाले सिंहदरबार बनाउँदा नेपालबाट झण्डै मास नै मास्सिएको इतिहासमा पढ्न पाइन्छ ।
राणाहरूको लाचारछायाँ बनेका शाह राजाहरूले यस्तो कीर्ति राख्न सकेनन् । तीमध्येका महत्वाकांक्षी र समयलाई उल्टो बगाउने दुस्साहस गरेका राजा महेन्द्रले नयाँ दरबारको डिजाइन गरेका थिए रे तर, अचानक बितेकाले नेपालमा शाह शैलीको टावर उठाउन भ्याएनन् । पञ्चायत र प्रजातन्त्रकालमा यस्ता काममा कसैलाई न फुर्सद भयो न त रहर ।
गणतन्त्रकालमा बाबुराम भट्टराई अर्थमन्त्री बनेपछि भने पावरको आडमा टावर ठड्याउने कर्ममा पुनर्जागरण ल्याए, भलै शिलान्यासको सेरोफेरोमा अड्किन परेको होस् ।
नबनेका टावरहरू
गोर्खाका बाबुराम भट्टराईले अर्थमन्त्री भएर गणतन्त्र स्मारक बनाउने घोषणा आर्थिक वर्ष २०६५÷६६ को बजेट भाषणमै ठोकिदिए, त्यो पनि चानचुने ठाउँमा हैन, नारायणहिटी दरबारको पूर्वी बगैंचामा ।
त्यसबेला भाषण मात्र भएन ‘जोन स्यान्डे एण्ड एसोसिएट्स’लाई टावरको डिजाइन गराएर त्यसलाई ठड्याउने चुरीफुरी पनि थालियो । तर, पुष्पकमल दाहाल नेतृत्वको सरकार चिरञ्जीवी नहुँदा नारायणहिटीमा विजय स्मारक ठड्याउने दम्भ फिस्स हुन पुग्यो ।
त्यसपछिका अर्का वाम प्रधानमन्त्री माधवकुमार नेपाल कीर्ति ठड्याउने रहरबाट नहौसिने कुरै आएन । उनले पनि कत्ति ढिलो नगरी मन्त्रिपरिषद्बाट निर्णय गराएर १५ जेठ २०६६ मा धरहराभन्दा अग्लो स्तम्भको शिलान्यास गरिहाले, तर नारायणहिटीमा हैन, रत्नपार्कको शान्ति वाटिकामा । त्यो स्तम्भ पेरिसको ‘आईफेल टावर’ या न्यूयोर्कको ‘स्ट्याचु अफ लिवर्टी’भन्दा कम भव्य नहुने उनको कल्पना थियो । यही क्रममा उनको फर्मान आएको थियो– १११ मिटर अग्लो स्तम्भमाथि उडेको घोडा हुनेछ !
तर, माधवकुमार महोदयको निर्णय यति सतही थियो कि, जान्नेहरूले रत्नपार्क जस्तो सानो ठाउँमा त्यत्रो स्तम्भ सम्भव नहुने भनिदिए । त्यसपछि उनले ९ चैत २०६६ मा ललितपुरको गुसिंगाल (वागमती छेउ) मा त्यो स्तम्भ बनाउने निर्णय गरेर आफू इलास्टिक जस्तै लचकदार नेता भएको परिचय पनि दिए । उनले वागमती नदीछेउमा बन्ने स्तम्भको उचाइ पनि ह्वात्त घटाएर ८४ मिटरमा झरे । तर, सत्ताबाट माधवकुमार नेपालको वहिर्गमनसँगै गणतन्त्र स्तम्भको सपना पनि वागमतीको लेदोमा पर्यो र रु.१ अर्ब २१ करोडको योजना कमिसनको चक्करसम्म पुग्न पाएन ।
इन्जिनियर पनि भएको नाताले बाबुरामको टावर सपना सकिने कुरा भएन, पावरमा फर्किनासाथ कीर्तिपुरको गाम्खेलमा टावर ठड्याउने भनेर कराउन थालिहाले । कराएनन् मात्र, त्रिभुवन विश्वविद्यालयको ५३ रोपनी जग्गामा स्तम्भको शिलान्यास पनि गरिहाले । यस क्रममा उनले माधव नेपालको रु.१ अर्ब २१ करोड लागत अनुमानलाई सदर गरे, तर नेपाली वास्तुकलाले लवालव यो टावरको उचाइ थपेर ९४ मिटर पु¥याइदिए । अब उपरान्त विदेशी राष्ट्र या सरकार प्रमुखहरू आउँदा सलामी पनि यहीं दिने रे !
पुरानो बसपार्कको २३ रोपनी जग्गामा बनाउने भनिएको रु.२ अर्बको २५ तले काठमाडौं ‘भ्यू टावर’ को सम्भाव्यता अध्ययन अघि नै कमिसन तय गर्न प्रधानमन्त्री पत्नी हिसिला यमीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत टेन्सन हुने गरी महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई थर्काउन थालेको खबरहरूका बीचमा नारायणहिटी, रत्नपार्क, गुसिंगाल र गाम्खेलमा गणतन्त्र स्मारकहरू नबन्दा नराम्रो भने भएको छैन । अहिलेलाई वसन्तपुर दरबार र धरहराकै जय होस् !
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
