व्यक्तित्वमंगलबार, फाल्गुण २९, २०६९

छ्वाली कलामा अब्बल सीताराम

हिमालखबर

सीताराम गोसाई

इनाचो भक्तपुरका सीताराम गोसाई (२९) को फरक खालको सिर्जना हेरेपछि अचम्मित नहुने कमै हुन्छन् । छ्वालीलाई कलाको क्षेत्रमा जोडेका उनी छ्वालीबाट उत्कष्ट कलाकृति सिर्जना गर्न सकिन्छ भन्ने दह्रो उदाहरण बनेका छन् । भक्तपुरको दत्तात्रय मन्दिर छेवैको आफ्नै घरमा छ्वालीका उत्कृष्ट सिर्जनाका लागि उनी दिनरात खटिरहेका भेटिन्छन् ।

सानैदेखि चित्रकलामा पोख्त उनी आफ्ना मामाले छ्वालीबाट पंखा बनाएको देखेपछि उत्साहित हुँदै यसमा काम गर्न थालेका थिए । प्रारम्भताका छ्वालीबाट पनि कतै कला हुन्छ भन्दै जिस्काउने आफन्त साथीभाइ अहिले उनको कलाकृतिका पारखी बनेका छन् । कुनै क्याम्पस, विश्वविद्यालयको वा तालीम केन्द्रको प्रशिक्षण विना अहिले यो कलामा अब्बल कलाकर बनेका छन् सीताराम । “छ्वालीबाट उत्कृष्ट सिर्जनाहरु गरेको छु, तर मेरो कलाबारे धेरैलाई थाहै छैन, त्यसैले ओझ्ेलमै छु” उनले हिमालसँगको भेटमा गुनासो गरे, “काठमाडौंमा भएको भए म ठूलो कलाकारमा गनिइसक्थें होला ।” यद्यपि उनलाई घरेलु तथा साना उघोग विकास समिति भक्तपुरले दुई पटक सर्वोकृष्ट कलाकारको पुरस्कार दिइसकेको छ ।

भक्तपुर दरबार स्क्वायर, दत्तात्रय स्क्वायरमा उनले आफ्ना कलाकृतिको २ पटक एकल प्रदर्शनी गरिसके भने २ दर्जन संयुक्त प्रदर्शनीमा सामेल भए । छ्वालीबाटै व्यत्तिचित्रदेखि प्राकृतिक दृश्य, मठमन्दिर, थाङ्का, ग्रिटिङ कार्ड दुरुस्तै उतारेका छन् उनले । कालचक्र, ग्रिनतारा, गुरुचक्र, पाटन दरबार, मन्जुश्री लगायतका आकृति छ्वालीकलामार्फत उत्कृष्ट ढंगले सिर्जना गरेका छन् । छ्वालीबाटै बनाएको आफ्नो सिर्जना साढे तीन लाखमा बिक्री भएको सुनाउँदै उनी भन्छन्, “यसले मलाई नाममात्र दिएको छैन, आय आर्जनको राम्रो बाटो बनेको छ ।” उनले अरु ७ जनालाई रोजगारी दिएका छन् । सीतारामले मावि तहकी शिक्षिका रहेकी आफ्नी श्रीमतीलाई पनि स्कुल छुटाएर यही काममा लगाउँदैछन् । “यही कामबाट अहिले धेरै राम्रो भइरहेको छ, अरु भन्दा श्रीमती भएपछि हरेक कुरामा सजिलो हुन्छ भनेरस्कुल छुटाउने निर्णय गरेको हुँ”, उनले सुनाए ।

अहिले धेरैजसो महोत्सवमा उनको यो कलालाई आयोजकहरु महोत्सवको आकर्षणको रुपमा प्रस्तुत गर्छन् । उनका यो कलाको विशेषतः नेपाली नै धेरै ग्राहक भए पनि चीन, थाइल्याण्ड, सिंगापुर, अमेरिका, जापानसम्म व्यापारीले पुरयाउने गरेको बताउँछन् । गगन तारा ह्याण्डीक्राफ्टमार्फत छ्वालीकलामा काम गरिरहेका उनी यसबाट प्रशिक्षण समेत दिंदै आएका छन् ।

ऋषिराम कट्टेल (तस्बीरपनि)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>