रिपोर्टशनिबार, चैत्र ३, २०६९
सच्चा सेवा
मीना शर्मा
रुकुमका राजकुमार र काठमाडौंकी उमाले महाकविको यो दर्शनलाई व्यवहारमा उतारिरहेका छन्।
कीर्तिपुरको भत्केपाटी चोक नजिकै दुईतले घरमा रहेको बेबी लाइफ होममा एचआईभी/एड्स संक्रमित १० बालबालिका छन्। यसका सञ्चालक साँख–२ रुकुमका राजकुमार पुन (२९) र काठमाडौं बसुन्धराकी उमा गुरुङ (३४) हुन्। तीन वर्षअघि यो घर बनाएका राजकुमारले यिनै बालबालिकाका लागि अहिले घर बेचिसकेका छन्। उमाले पनि यिनैका लागि चाबहिल चोकको कस्मेटिक पसल बेचिन्।
२०६७ असोजमा संस्था दर्ता गरेर दाङबाट चार जना एचआईभी संक्रमित केटाकेटी ल्याउँदा राजकुमारको घर बन्दै थियो। शुरूमा उमाको बसुन्धरास्थित घरमा राखिएका बालबालिकालाई जस्ता पाता र टेबुलहरू राख्न मिल्ने भएपछि राजकुमारको नयाँ घरमा सारियो। त्यसबेला कुपोषण लगायतका समस्याहरूले सताएका एचआईभी संक्रमित नानीहरूलाई हरेक दिन अस्पताल लैजानुपर्थ्यो। उनीहरूका लागि राम्रो खानपान र नियमित औषधिको आवश्यकता पूरा गर्दा र पढाइको चाँजो मिलाउँदासम्म उमाले होलसेल कस्मेटिक्स पसल र राजकुमारले बाबुआमा राख्न बनाएको घर नै बेचे।
समस्यामाथि समस्या
बेबी लाइफ होममा दाङ, सल्यान र बैतडीका ३ देखि ११ वर्षसम्मका एचआईभी संक्रमित बालबालिका छन्। तीमध्ये पाँच बालबालिकाका आमाबाबु दुवै छैनन् भने पाँच जनाको बाबु छैनन्। उनीहरू सबैलाई आमाबाबुबाट रोग सरेको हो। उनीहरूको वास्तविकता लुकाउनुभन्दा अपहेलना गर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्ने विचार राख्ने राजकुमार र उमालाई यसले गर्दा सहयोग जुटाउन र विद्यालय भर्ना गर्न कठिनाइ परेको छ। उनीहरूलाई परिचय नलुकाई कुनै विद्यालयले पनि भर्ना लिन मानेनन्। “निजी विद्यालयहरूले त सीधै यस्ता विद्यार्थी लिंदा व्यापार डुब्छ भने” उमा भन्छिन्, “सरकारी विद्यालयहरू पनि मानेनन्।”
६ महीना भौंतारिंदा पनि कसैले भर्ना नलिएपछि उमा र राजकुमार आफैं विद्यालय दर्ता गर्न जिल्ला शिक्षा कार्यालय काठमाडौं पुगे, तर अघिल्लो वर्ष निवेदन दिएकाले मात्र यस वर्ष अनुमति पाउँछ भनियो। त्यसपछि भदौ २०६८ देखि प्रारम्भिक बाल विकास केन्द्र दर्ता गरेर नानीहरूलाई पढाउन शुरू गरेका उनीहरूले विद्यालय दर्ताको प्रयास पनि जारी राखे। वैशाख २०६९ मा जिशिकाले नजिकका दुई विद्यालयको सिफारिसपत्र लिएर आउन भन्यो, जुन कसैले दिएनन्। राजकुमार भन्छन्, “तर, नानीहरूको उमेर बढ्दै गएकाले विद्यालय नभई भएको छैन।”
नानीहरूको पालनपोषण र औषधि उपचार गर्दागर्दै थेगिनसक्नु ऋण बढेकाले राजकुमारले गत वैशाखमा घर बेचेर मासिक रु.१५ हजार भाडामा त्यहीं बसेका छन्। घर भाडासहित बाल विकास केन्द्र र बेबी लाइफ होमको न्यूनतम मासिक खर्च रु.६० हजार छ। घर बेचेको पैसाले अरू केही महीना धान्ने अवस्था त छ, तर घर खाली गरिदिनुपर्यो भन्ने अनुरोधले अर्को समस्या थपिएको राजकुमार बताउँछन्। “दुइ–तीन महीनापछिको खर्च कसरी जुटाउने भन्ने चिन्ता थियो” राजकुमार भन्छन्, “अब कहाँ सार्ने भन्ने समस्या थपिएको छ, त्यसमाथि संक्रमित नानीहरू पालिरहेका छौं भन्दा कसैले घर दिंदैनन्।”
सरकार, अरू निकाय वा व्यक्तिहरूले सहयोग गरिदिए आफूहरूको शिक्षा सदनमा संक्रमित बालबालिकाको भविष्य फुल्ने आशा उमा र राजकुमारको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
