अर्थ/बजारशनिबार, चैत्र १०, २०६९
रेमिट्यान्सको सही उपयोग भएन
राजाराम कार्की
सन् २०१२ मा करिब चार खर्ब विप्रेषण मुलुकमा भित्रिएको अनुमान छ । यो मुलुकको कुल गार्हस्थ उत्पादनको २२ प्रतिशत भएको अर्थशास्त्री भवानी खनालले बताए ।
वैदेशिक रोजगारीमा गएका नेपालीले स्वदेशमा पठाएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी नभएको तर अनुत्पादक, तडकभडक र विलासिताको क्षेत्रमा धेरै खर्च भइरहेको खनालको बुझाइ छ ।
नेपालको तेस्रो जीवनस्तर मापन सर्वेक्षणअनुसार ५५.८ प्रतिशत घरपरिवारले रेमिट्यान्स (विप्रेषण) प्राप्त गरिरहेका छन् । यसको २.०९ प्रतिशत रकम मात्र पुँजी निर्माणमा खर्च हुने गरेको र बाँकी सबै दैनिक उपभोग र ऋण भुक्तानीमा खर्च हुने गरेको देखिएको छ ।
सरकारले लगानीका क्षेत्रमा जनतालाई प्रत्यक्ष सहभागी गराउन नसकेकै कारण विप्रेषण अहिले ग्रामीण महिला वा पुरुष दुवैबाट सदुपयोग नभएको सामाजिक महिला कार्यकर्ता निर्मला श्रेष्ठले बताइन् ।
पति वैदेशिक रोजगारमा गएका महिला हिजोआज परम्परागत कामलाई बेवास्ता गर्न थालेका छन् । उनीहरू विभिन्न विकृतजन्य काममा संलग्न हुने र पतिले पठाएको रकम दुरूपयोग गरी परपुरुषसँग लाग्ने प्रवृत्ति बढ्दै गएको छ ।
विप्रेषणले मानव विकास सूचकाङ्कमा सकारात्मक प्रभाव देखिए पनि यसको उपयोग उत्पादनमूलक क्षेत्रमा हुन नसक्दा यसले नकारात्मक प्रभाव पारिरहेको छ ।
“दिगो विकासका लागि विप्रेषणको कुनै अर्थ हुँदैन, तर पनि प्राप्त विप्रेसणलाई अनुत्पादक क्षेत्रमा खर्च गर्दै जाने बानीले कालान्तरमा समाजलाई गलत बाटोतिर डो¥याउँछ,” अर्थशास्त्री खनाल भन्छन् ।
प्राप्त रेमिट्यान्सको नेपालका अधिकांश ग्रामीण जनताले दुरूपयोग गरेको प्रष्ट देखिन्छ । उनीहरू हिजो खेतबारीमा काम गर्थे तर आज जमिनको खनजोत गर्न नै छोडिसके । गाउँघरको जग्गा बाँझो हुने क्रम निरन्तर बढ्दै गएको छ ।
भुटेको मकै, भट्मास, गहुँ, फापर, कोदोको रोटीको खाजा गाउँघरमा पाक्न छोडिसके ।
“विप्रेषण भित्र्याउन पल्केका ग्रामीण समुदाय काम होइन नानाथरिका विलासिताको सामान खरिद गर्न र दैनिक करिब ६ घन्टा फिल्म हेर्न जुट्न थालेको देखिन्छ”, भविष्य उज्ज्वल प्राविका शिक्षिका तारा थापाले भनिन् “फुर्सदको समयमा गाईवस्तु, बाख्रापाठा चराउन र खेतबारीमा काम गर्न अग्रसर ग्रामीण जनता अहिले विकृत प्रकृतिका काममा लागेका छन् ।”
रासस