अर्थ/बजारबुधबार, चैत्र १४, २०६९
कफीको उचित मूल्य पाएपछि कृषक उत्साहित
किसानले उत्पादन गरेको फ्रेसचेरी प्रतिकिलो रु ५० र पार्चमेन्ट कफी प्रतिकिलो रु २१५ मा घरबाटै बिक्री हुन थालेपछि स्याङ्जाका किसानहरुको उत्साह बढेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरीको मूल्य प्रतिकिलो रु ४० र पार्चमेन्टलाई रु १८० तोकेको भएपनि स्याङ्जा जिल्ला कफी व्यवसायी सङ्घले बोर्डले तोकेभन्दा बढी मूल्य दिएकाले कृषक कफीखेतीतर्फ निक्कै उत्साहित भएको जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष फणिनारायण अर्यालले बताए ।
अर्यालका अनुसार कृषकले गएका वर्षमा प्रतिकिलो फ्रेसचेरी रु ३५ मा बिक्री गर्दै आएका थिए । विगतका वर्षमा यहाँका कृषकले जिल्ला कफी व्यवसायी सङ्घले तोकेको सङ्कलन केन्द्रमार्फत कफी बिक्री गर्दै आएका थिए” अध्यक्ष अर्यालले भने, “त्यसरी केन्द्रमार्फत बिक्री गर्दा कृषकले केही थोरै मूल्य पाएका थिए ।”
अहिले सङ्घले जिल्लाका सङ्कलन केन्द्र हटाएर कृषकका घरघरमा पुगेर कफी खरिद गरिरहेको छ । “हामीले उत्पादन गरेको कफी घरमै आएर खरिद गरेर लैजान्छन्,” पुतलीबजार नगरपालिका– १० का कफी किसान रविलाल सुवेदीले भने, “अब आफ्नो अन्य जमिनमा पनि कफीखेती विस्तार गर्ने तयारीमा जुटेकोछु ।”
व्यवसायी सङ्घले कृषकबाट खरिद गरेको फ्रेसचेरीलाई पल्पर मेसिनबाट पार्चमेन्ट बनाउने कार्य तीव्र पारिएको सङ्घका कार्यालय सचिव सरीता तिवारीले बताइन् ।
जिल्ला कफी व्यवसायी सङ्घका अनुसार २३० हेक्टर जमिनमा कूल पाँच लाख छ हजार कफीका बिरुवा रोपिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
