ब्लगशनिबार, चैत्र १७, २०६९
हराए हरिया भाँडा
दुई वर्षअघि जनवरीताका काठमाडौंका सडक किनार अचानक हराभरा देखिए– ‘स्वच्छ हराभरा काठमाडौं’को अपत्यारिलो नारा पूरा हुन आँटेको हो कि भन्ने भान पार्दै।
रूखबिरुवा र घाँसपात रोपेर हराभरा पार्न नसकिएको आधुनिक महानगर काठमाडौंका सडककिनार उत्तरी छिमेकीले उपहारमा दिएका बडाबडा हरिया डस्टबिनको प्रताप रहेछ त्यो, जसलाई हामीले सगर्व दुई दिनको पाहुना बनाइदियौं। हामीलाई लाग्यो, जोसुकैले दिएको होस्, त्यति राम्रो भाँडोमा के फोहोर फाल्नु ?
चारै हजार चम्पट
शुरूमा ठमेल, मैतीदेवी, पुतलीसडक, रत्नपार्क, बागबजार, नयाँबानेश्वर, घण्टाघर र एयरपोर्टतिर देखिएका ती डस्टबिनको संख्या चार हजार भएको अखबारहरूले जनाएका थिए। चीन सरकारले डस्टबिनसँगै शहर सफा गर्ने अरू धेरै नौला र राम्रा गाडीहरू पनि दिएको थियो। तिनमा सडकछेउमा दुमो रहेका रूखहरूमा पानी हाल्ने, पखाल्ने उपकरण भएका गाडी, सडकको धूलो तान्ने मेसिन जडित गाडीहरू थिए। चक्का भएका हरिया डस्टबिनहरूलाई गाडी नजिक लगेर फिट गरिदिएपछि मेसिनले जुरुक्क उठाएर मजाले फोहोर खनाउँथ्यो, अमूल्य नेपाली बल खर्च गर्नै नपर्ने!
तर, ती बिचरा यस्तो गुणसँगै राम्रो रूप पनि लिएर आएका थिए। बिचराहरू रात परेसँगै शहरका दोबाटो, चौबाटोहरूबाट एक–एक गर्दै गायव हुन थाले। तिनले फोहोर हैन, दाल–चामल, आँटा–मैदा जस्ता दामी चिज बोक्ने भाग्य लिएर आएका रहेछन्, टिपिन थाले। चोर–डाँका समात्न समेत नभ्याइरहेका प्रहरीबाट ती डस्टबिनको उद्धार हुने कुरै भएन।
महानगरपालिकाले सभ्य शहरीहरूको घर–कम्पाउण्डमा छापा मार्ने हैसियत नै राख्दैन। ती बिचराहरू एकपछि अर्को गर्दै अपहरणमा परे। यो कसैलाई लगाइएको आक्षेप होइन, तिनताकाको खबरकागतहरूले छापेका खबरको सार हो। यसरी खबरहरू आएपछि कतिले डस्टबिनहरू पोलिदिएको खबर पनि छापिएका थिए। ४० लिटर पानी या १०० किलो फोहोर अट्ने ती भाँडाको दर्शन अहिले विरलै पाइन्छ।
महानगरपालिकाले ती डस्टबिनमा घरका फोहोरका पोका नहाल्न नगरवासीलाई अनुरोध गरेको थियो। किनभने, ती थिए अहिले शहरवासीको लगभग प्रमुख भोजनको हैसियत हासिल गर्न लागेको खैनी, गुट्खा, चुईगम आदिका खोल र ‘मिनरल वाटर पानी’, इनर्जी ड्रिङ्क्स आदिका बोतल फाल्ने सोचका साथ राखिएका भाँडो। तिनमा चकलेटका खोल, केराको बोक्रा, न्यापकिन पेपर आदि राख्दा भने गाल परिंदैनथ्यो।
घरमा उत्पादन हुने फोहोरका ठूलो पोका राख्दा चाँडै भरिने र सडकमा बटुवाले फाल्ने फोहोर नहराउने भएकोले त्यस्तो अनुरोध गरिएको बुझन सकिन्थ्यो। तर, शहरवासीले त्योभन्दा पनि एक हात पर गएर आफ्नै घर र कम्पाउण्डभित्रको सामान मात्र आफ्नो हो भन्ने बुझिदिए!
महानगरपालिकाले सन् २००० ताका पनि उपत्यकाका विभिन्न स्थानमा डस्टबिन राखेको थियो, तर तिनले पनि धेरै दिन सडकको घामपानी सहनु परेन। ‘आफ्नो बानी को छाड्ने, अरूको बानी को लिने’ भन्ने उखान त्यसै चलेको हैन।
महानगरपालिकाको वातावरण विभागले यस्ता एक हजार डस्टबिन स्टकमा राखेको गफ दिएको थियो। ती अहिले विभागकै स्टकमा छन् कि कर्मचारी लगायतका महानुभावहरूका स्टकमा छन्, यो बबुरोको बुताको कुरा भएन। विभागकै स्टकमा छन् भने चाहिं सबै डस्टबिन पोखरा, हेटौंडा जस्ता सफासुग्घर मन पराउने नगरहरूलाई दिंदा राम्रो हुन्छ। राजधानी बाहिरका ती हुनेवाला महानगरहरूले सामान स्याहार्न पनि पक्कै जानेका छन्। शहर सफा राख्नेको जय होस्!
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
