ब्लगआइतबार, चैत्र १८, २०६९
हजुरबुबालाई अन्तिम बिदाइ
९ मार्च २०१३, अमेरिकी शहर लुइभेलको चिसो बिहान । सधैंभन्दा आज मेरो लागि फरक परिस्थिति भएकाले ‘मर्निङ वाक’ गइनँ । घरमा पाठपूजा लगाउँदै हामी ९४ वर्षीय हजुरबुबा नन्दलाल खरेलको अन्तिम क्षण पर्खंदै छौं ।
चिकित्सकहरू भन्छन्, उहाँ अब सदाका लागि हामीलाई छाडेर जाँदै हुनुहुन्छ, संभवतः भोलि बिहानसम्म ।
पुराना सम्झना
हजुरबुबा मृत्युशैयामा हुनुहुन्छ, मेरो दिमागमा भने भुटान, त्यहाँदेखि नेपालसम्मको यात्रा र नेपालको करीब १८ वर्षे शरणार्थी जीवन सिनेमाको रिल जस्तै घुमिरहेका छन् । प्रजातन्त्र प्राप्तिका लागि भुटानमा संघर्ष शुरू हुनासाथ राज्यको आँखामा पर्नुभएका बुबा नरपति एकाएक बेपत्ता हुनुभयो । सेनाले गोली ठोकेका र महिलाहरूलाई बलात्कार गरेका समाचारहरू सुनिएकै बेला गाउँमा दिनदिनै सेना घुम्दा हाम्रो डरले सीमा नाघ्थ्यो ।
म आमाको सुरक्षाका लागि चिन्तित हुन्थें भने आमा मेरो लागि । तर, त्योभन्दा बढी चिन्ता हामीलाई बुबाकै हुन्थ्यो । बेलुकी भएपछि बुबाको सम्झनामा उहाँको कमिजलाई अँगालो मार्दै यहाँ बुबाका हात, जीउ हुन्थ्यो भन्दै म रुन्थें । त्यसपछि घरमा रुवावासी मच्चिन्थ्यो ।
एक दिन आएको बुबाको चिठी हाम्रो लागि आशाको किरण बन्यो र त्यसैलाई पछ्याउँदै हामी भुटानको अथाह सम्पत्ति छाडेर हिंड्यौं । भारत आएपछि बुबासँग भेट भयो, त्यो हाम्रा लागि सबैभन्दा खुशीको क्षण थियो । सन् १९९२ को त्यो बेला उहाँ, हजुरबुबा र परिवारसहित ९० हजार भुटानी शरणार्थी जस्तै हामी नेपाल पुग्यौं ।
नेपालको शरणार्थी जीवनमै हामीले हजुरआमालाई गुमाएपछि हजुरबुबा एक्लो हुनुभयो । हजुरबुबाले हजुरआमालाई असाध्यै सम्झ्ँदाका क्षण मेरा लागि पीडादायक र हृदयस्पर्शी बन्थे । शरणार्थी जीवनमै मेरो विद्यालय र कलेजको अध्ययन पूरा भयो । यही क्रममा भुटानी शरणार्थीहरूका लागि तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भयो र हामी बूढा हजुरबुबालाई डोर्याउँदै अमेरिका आयौं ।
हजुरबुबाको बिदाइ
५ मार्चमा पूजापाठ गरिसकेपछि हजुरबुबालाई असजिलो महसूस भएको थियो । घरमा भएका प्राथमिक स्वास्थ्य जाँच्ने यन्त्रले मैले तत्कालै उहाँको सामान्य जाँच गर्दा शरीरमा अक्सिजनको मात्रा कम देखियो भने रक्तचाप सन्तुलित थिएन । त्यसपछि आकस्मिक सेवामा फोन गर्दा तुरुन्तै एम्बुलेन्स आयो । उनीहरूले तत्कालै हजुरबुबालाई अस्पताल पुर्याए । अनि, दमको रोगी हजुरबुबाको स्थिति गम्भीर रहेको बताए । उहाँको फोक्सोले कार्वनडाइअक्साइड बाहिर कम फालेकाले उनीहरूले फोक्सोमा पाइप हाल्ने कि भने पनि मामाघरका हजुरआमाको त्यही विधि अपनाउँदा असफल भएकाले हामीले मानेनौं ।
त्यसपछि चिकित्सकहरूले उपचार अन्त भएको घोषणा गर्दै उहाँलाई आराम दिन अक्सिजनको मात्रा घटाए । अनि, कुनै धार्मिक विधि छ भने गर्नुहोस् भनेपछि अस्पतालमै हामीले पुरेत लग्यौं र वैतरणीलगायत विधि गरायौं । अस्पतालले मृत्यु पर्खिरहेकालाई राख्ने हस्पिसमा सम्पर्क गरेपछि हाम्रा अघि दुई विकल्प आए, हस्पिसमा पठाउने या घर लैजाने । हामीले घर लैजाने निर्णय लियौं । तर, घरमै पनि उहाँको जिम्मा हस्पिसले नै लियो ।
भुटानबाट नेपालमा शरणार्थी हुँदै अमेरिका आइपुग्ने शरणार्थीमध्ये हजुरबुबा नै सबैभन्दा ज्येष्ठ हुनुभएकोले त्यहाँ वरिपरि रहेका ३० घरका नेपालीको भीड उहाँलाई हेर्न लाग्ने नै भयो । अपरान्ह धार्मिक विधि चलिरहँदा हजुरबुबा बित्नै लागेको खबरले रुवावासी शुरू भयो । तर, त्यो बेलालाई दुखद् नबनाउन छिमेकीहरूले कीर्तनलाई चर्को बनाए पनि हजुरबुबाको मृत्यु टरेन ।
हस्पिसका चिकित्सकले पनि मृत्युको घोषणा गरेपछि हामी भोलिपल्टको अन्त्येष्टि पर्खिन थाल्यौं । भोलिपल्ट हामी हजुरबुबाको अन्त्येष्टिका लागि समय लिन स्थानीय फनेरल होम पुग्दा इन्द्रचोकमा किनिएको नेपाली ढाकाको दौरा सुरुवाल र टोपी लगाएको हजुरबुबाको शव बक्समा राखिएको थियो । यो फनेरल होम चर्च नै भए पनि उनीहरूले हिन्दू विधि गर्न सहयोग पुर्याए । दुईहजार डलर (करीब रु.१ लाख ७४ हजार) तिरेपछि अन्त्येष्टिका लागि हामीले त्यहीं दिउँसो ४ बजे समय पायौं ।
आउनेहरूले श्रद्धाञ्जली दिएपछि हजुरबुबाको शव चर्चको गाडीमा राखियो । शवयात्रा मुख्य सडकमा नपुग्दासम्म एकोहोरो शंख बजिरह्यो भने शवयात्री चढेका २५० जति गाडीमा शवयात्रा जनाइने झ्ण्डा राखिएको र आकस्मिक अवस्था जनाउन बत्ती बालिएकाले सडकमा सबैले बाटो छाडे । त्यहींको विद्युतीय शवदाह गृहमा शवयात्रा पुगेर केही घण्टाको धार्मिक विधि सकिएपछि हजुरबुबाको शव राखिएको बाकस बन्द गरियो र विद्युतीय शवदाह गृहभित्र राखियो । यसरी, केही मिनेटमै हामीले हजुरबुबालाई अन्तिम बिदा गर्यौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
