ब्लगमंगलबार, जेठ १६, २०६९

बन्द अपराध

Deepak Rauniar

७ जेठ २०६९ को ९.०५ बजे एउटा टेलिभिजन च्यानलले पत्रकारहरूका लागि ‘कालो दिन’ भएको घोषणा गरिरहेको थियो । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको तीनदिने नेपाल बन्दको पहिलो दिन बिहानैदेखि देशभर पत्रकारहरूमाथि कुटपिट र तिनका सवारी साधनमा क्षति पुरयाउन शुरू गरिएको थियो । मौसम, बेमौसम बन्द भइरहने नेपालमा यसअघि मिडियामाथि यो स्तरको हमला शाही शासनमा समेत भएको थिएन ।

मलाई सन् २००५ को डिसेम्बरमा अमेरिकाको न्यूयोर्कमा यातायात मजदूर युनियनले गरेको हड्तालको सम्झ्ना भयो । तलब वृद्धिको मागका साथ गरिएको हड्ताल विरुद्ध अदालतमा मुद्दा प¥यो । अदालतले हड्तालका आयोजकहरूलाई दिनको १० लाखका दरले अढाई दिनको २५ लाख डलर जरिवाना र युनियनका अध्यक्षलाई जेल सजाय तोक्यो । जरिवानाले युनियनलाई टाट पल्टायो ! तर हामीकहाँ जसले धेरै बिगार गर्न सक्यो उसैको बढी प्रचार हुन्छ । यस्तो ‘शानदार’ बन्द हड्तालका लागि आयोजकहरू पालो कुरेर बसे झ्ै लाग्छ । पालो आएपछि अघिल्लोले भन्दा बढी ‘शानदार’ बन्द गर्ने अभ्यास हुन्छ, मानौं यो देश कानूनले हैन, बन्द हड्तालबाट चलेको होस् ।

तीन वर्षअगाडि हामी बाराको अमलेखगञ्जमा ५७ घण्टा बन्दमा परेका थियौं । करीब २२ घण्टा त पानीसम्म खान पाएनौं । पहिलो रात बित्दासम्म बन्दको कारण र आयोजकबारे केही थाहा भएन । खानलाई एउटा चाउचाउ पनि पाइएन । थियो त खाली भोक, गर्मी र मच्छर । दोस्रो दिन थाहा भयो, वीरगञ्जतिर कतै एक जना चालकलाई कसैले कुटेको विरोधमा बन्द गरिएको रहेछ । हूल बाँधेर नजिकैको प्रहरी कार्यालयमा कुरा गर्न जाँदा पुलपारि वार्ता भइरहेको बताएपछि हामी त्यतै लागौं । त्यहाँ एक हूल ड्राइभर–खलासी रड लिएर बसेका रहेछन् । हामीले भागेर ज्यान जोगायौं । केही प्यासेन्जर रगतपच्छे भए ।

पत्रकारका नाताले काठमाडौं फोन गरेर समाचार टिपाएँ, तर दुर्भाग्य त्यो घटना ‘न्यूजवर्दी’ ठहरिएन । पथलैयादेखि अमेलखगञ्जसम्म टन्टलापुर घाममा हजारौं यात्रु अलपत्र थिए । पर्सिपल्ट सेनाले अलि–अलि पानी खान दियो । तेस्रो दिन राति करीब १ बजे बन्द खुल्यो । हतारमा बन्दबाट निस्कने हुँदा हामीभन्दा अगाडिको एउटा गाडीले गाडीमुनि सुतिरहेको खलासीलाई किचेछ । उसको क्षतविक्षत शरीर अहिले पनि मेरो आँखाबाट हटेको छैन । अझ्ै पनि त्यो बाटो हिंड्दा मन भरङ्ग हुन्छ । अमेलखगञ्ज बन्द मेरो जीवनको न पहिलो अनुभव थियो न त अन्तिम नै । नेपालमा बन्द हड्ताल दिनदिनै थप हिंस्रक हुँदै आइरहेको छ । पछिल्लो उदाहरण शैक्षिक भ्रमणमा रहेका मोरङको सुकुनाका विद्यार्थीसहितको बसमा नवलपरासीमा आगो लगाएको घटना । जनताको नाममा एउटा यस्तो ‘अपराध’ हुँदैआएको छ जसको दूरगामी असरको हिसाब कसैले गरेका छैनन् । बन्दबाट भौतिकसँगै जुन मानसिक क्षति भइरहेको छ त्यो सजिलै पुरिनेवाला छैन ।


अमलेखगञ्ज बन्दले मलाई चलचित्रको विषय भने दियो । बन्दको अर्को एक दिन दाइ केदार शर्मा र सहकर्मी खगेन्द्र लामिछानेसँग चितवनबाट काठमाडौं आउने क्रममा चलचित्र हाइवे को कथाले पूर्णता पायो । बन्दले दिने प्रताडना बारेको यो कथालाई शुरूमा हामीले शुभविवाह नाम दिएका थियौं, पछि हाइवे भयो । हाइवे ले बन्दकर्ताहरूको विरोध वा समर्थन गर्दैन, बन्दभित्र बन्द हुनेहरूको कथा भन्छ । यसले बन्दलाई ‘अपराध’को दर्जा दिलाउन थोरै भए पनि मद्दत पुरयायो भने हाइवे टीमलाई सन्तुष्टि हुनेथियो ।

(रौनियार चलचित्र हाइवेका निर्देशक हुन् ।)

१६-३२ जेठ २०६९ हिमाल खबरपत्रिकाबाट


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>