समाचारबिहीबार, चैत्र २२, २०६९
‘सवै तयारी पूरा भएपछि मात्रै मिति घोषणा’
२२ चैत बिहान बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक समितिको बैठकले चुनाव सम्बन्धी ऐनको संसोधन लगायतका चुनावका सबै प्रक्रिया पूरा भएपछि निर्वाचनको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
यसअघि भने समितिले ४ असारभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो । सेना समायोजन समन्वय समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकमा असारमा संविधानसभाको चुनाव सम्भव भए नभएको विषयमा छलफल भए पनि कुनै निर्णयमा नपुगिएको समितिका सदस्य एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकले निर्वाचनको वातावरण बनाउने जिम्मा समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । निर्वाचन ऐनमा देखिएको विवादलाई सर्वदलीय बैठकबाट टुंगो लगाउन आज बेलुका फेरि छलफल गरिने नेताहरुले बताएका छन् ।
राष्ट्रिय योजना आयोग लगायत विभिन्न महत्वपूर्ण निकाय र संवैधानिक निकायमा सहमति गरी नियुक्तिका लागि संवैधानिक परिषदलाई सिफारिस गर्ने पनि बैठकले सहमति गरेको छ ।
यसअघि सरकारले निर्वाचनको मिति तोक्नमा ढिलाई गरेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले आरोप लगाउँदै आएका थिए । २१ चैतमा एमाओवादी अध्यक्ष दाहालसँग भएको वार्तामा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनका लागि आवश्यक वातावरण तयार पारी मिति सम्बन्धमा समितिले साझा निर्णय गर्न दाहालसँग आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
