रिपोर्टशुक्रबार, चैत्र २३, २०६९
ललितपुरबाट शुरु भो
विद्यालयमा जान तयार स्वयंसेवीहरू यतिबेला ६ साताको आवासीय तालीममा व्यस्त छन्।
पेशाले इञ्जिनियर प्रवीणराज निरौला दुई सातापछि हातमा चक र डस्टर समातेर ललितपुरको दक्षिणी गाउँ जाँदैछन्। स्वयंसेवीका रूपमा एक माध्यमिक विद्यालयमा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई गणित पढाएर उनको दुई वर्ष बित्नेछ। पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट ७ वर्षअघि सिभिल इञ्जिनियरिङ पूरा गरेर विभिन्न कम्पनीमा काम गरिसकेका निरौला भन्छन्, “ग्रामीण भेगका स्कूलको सुधारका लागि स्वयंसेवा गर्न मनैदेखि उत्साह जाग्यो।”
कामको सिलसिलामा म्याग्दीमा पुगेका बेला सरकारी विद्यालयका विद्यार्थी गणितमा कमजोर देखेपछि निरौला यो अभियानमा जुटेका हुन्।
एसएलसीको तयारीमा रहेकालाई निजी स्कूलमा ७ कक्षाका विद्यार्थीले सजिलै हल गर्न सक्ने गणित पनि नआएपछि उनलाई लाग्यो, “सरकारी र निजी विद्यालयबीचको असमानताकोदूरी घटाउन नसकेसम्म मुलुकको भविष्य उज्यालो हुँदैन।” त्यसैकारण, निजी जीवनलाई थाती राखी गाउँका विद्यालयमा निःशुल्क पढाउन तयार भएका हुन्।
र, यो सुकर्ममा निरौला एक्लै छैनन्। भर्खरै कलेज वा विश्वविद्यालयको पढाइ सकेका ३३ स्वयंसेवी वैशाखको पहिलो साताबाट ललितपुरका दुर्गम भेगमा गणित, विज्ञान र अंग्रेजी पढाउन जाँदैछन्। निरौलाजस्तै इञ्जिनियरिङका स्नातक आठजना तथा विभिन्न विषयमा स्नातकोत्तर गरेका वा अध्ययनरत १५ भन्दा बढी छन्। टिच फर नेपाल नामक संस्थाको अभियन्ताका रूपमा सरकारी विद्यालयका माध्यमिक तहका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन उनीहरू तयार भएका हुन्।
देशैभरि फैलँदै
हरेक वर्ष एसएलसी उत्तीर्ण हुनेमा अधिकांश निजी स्कूलका विद्यार्थी छन्। सरकारले शिक्षामा वर्षेनि अर्बौं रुपैयाँ लगानी गर्दा पनि सरकारी विद्यालयबाट एसएलसी दिने तीनमध्ये एक मात्र उत्तीर्ण भएका छन्। शिक्षामा गरिएको कुल बजेटको १७ प्रतिशतमध्ये ८५ प्रतिशत सामुदायिक विद्यालयका शिक्षकको तलब भत्तामै खर्च हुन्छ। गत वर्ष सरकारी विद्यालयबाट ३ लाख २६ हजार ६३६ विद्यार्थीले परीक्षा दिएकोमा ३६.४९ प्रतिशत अर्थात् १ लाख १९ हजार ११८ मात्र उत्तीर्ण भए।
जबकि, निजी विद्यालयबाट ८४.६० प्रतिशत उत्तीर्ण भएका थिए। सरकारी विद्यालयका विद्यार्थीमध्ये ९० प्रतिशतभन्दा बढी अंग्रेजी, गणित र विज्ञानमा अनुत्तीर्ण भएका थिए। अन्य विषयमा सरकारी र निजी विद्यालयका विद्यार्थीबीच खासै फरक छैन। टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल योग्य र दक्ष शिक्षकको अभावमा यी तीन विषयमा अनुत्तीर्ण दर बढेको बताउँछन्।
विज्ञान, वाणिज्यशास्त्र जस्ता विषय एसएलसीमा राम्रो अंक ल्याउने विद्यार्थीको रोजाइमा परेका छन्। महँगो शुल्क तिर्न नसक्ने वा कमजोर विद्यार्थी शिक्षामा भर्ना हुन्छन्। तिनै कमजोर विद्यार्थी शिक्षक बनेपछि उत्पादित विद्यार्थी गतिलो हुनै नसक्ने तर्क गर्छन्, खनाल। “यो अन्त्यहीन चक्र नतोडिएसम्म देशले फड्को नमार्ने ठानेर विद्यालयस्तरको शिक्षा सुधार्ने अभियान शुरू गरेका हौं”, उनी भन्छन्।
नेपाल आयल निगमको जागिर छोडेर दुर्गम गाँउमा पढाउने स्वयंसेवी अभियानमा सोनाली झा सँगै ३३ तन्नेरीहरु होमिएका छन् ।
टिच फर नेपालले शिक्षाको सामाजिक असमानता हटाउन गाउँका स्कूलमा दक्ष स्वयंसेवी शिक्षक अभियान शुरू गरेको हो। जुन, अर्को वर्ष सिन्धुपाल्चोक र धनुषामा विस्तार हुँदैछ, ५० थप स्वयंसेवीसहित। तेस्रो वर्ष १०० स्वयंसेवी थपेर देशैभर कार्यक्रम विस्तार गर्ने लक्ष्य छ। वैशाखदेखि ललितपुरका चापागाउँ, लुभु, डुकुछाप, इकुडोल, भट्टेडाँडा, प्युटार, आस्राङ, गिम्दी, मानिखेल, कालेश्वर, चन्दनपुर लगायतका ठाउँका सरकारी विद्यालयमा दुई/दुई जनाका दरले स्वयंसेवीले पढाउन जानेछन्। उनीहरूले पहिलो वर्ष ६ देखि ९ कक्षासम्मका विद्यार्थीलाई पढाउनेछन् भने दोस्रो वर्ष ७ देखि १० सम्म।
यस्ता विद्यालयमा दुई वर्षभित्र एसएलसीमा अनुत्तीर्ण हुनेको संख्या न्यूनतम ३० प्रतिशत घटाउने अभियानको लक्ष्य छ। “दुई वर्षपछि पनि निरन्तर स्वयंसेवी पठाएर नतिजामा सुधार ल्याउँछौं”, खनाल भन्छन्।
विद्यालयमा जान तयार स्वयंसेवीहरू यतिबेला ६ साताको आवासीय तालीममा छन्। उनीहरूलाई शिक्षण अभ्यासदेखि नेतृत्व विकासका विभिन्न पक्षमा तालीम दिइएको छ। स्वयंसेवीका लागि माग गरिएको आवेदनमा इच्छुक ५३३ मध्ये तीन चरणपछि ३३ जना छनोट गरिएको हो।
स्वयंसेवीलाई मासिक रु.१० हजार दिन संस्थाले निजी व्यावसायिक संस्था तथा व्यक्तिगत सहयोग लिइरहेको छ। दुईवर्षे स्वयंसेवापछि विदेशमा थप अध्ययन वा देशभित्रका निजी कम्पनीमा काम गर्न संस्थाले पहल गर्नेछ। टिच फर नेपालले टिच फर अल नामक विश्वव्यापी सञ्जाल भएको संस्थाको स्थानीय अंगका रूपमा काम गर्नेछ। टिच फर अलमा विश्वका २७ देशमा काम गर्ने संस्था आबद्ध छन्।
आत्मसन्तुष्टि प्यारो
दुई वर्षभित्र सरकारी विद्यालयका विद्यार्थीको क्षमता बढाउनेमा स्वयंसेवीहरू ढुक्क छन्। निरौला भन्छन्, “विद्यार्थीमा आत्मविश्वास बढाएर रमाइलो गरी पढाउने योजना छ।” कमजोर जग भएका विद्यार्थीको भविष्य बलियो नहुने बताउने निरौला जग बलियो बनाउने अभियानमा जुटेको सुनाउँछन्।
पत्रकारिता र अर्थशास्त्रमा स्नातकोत्तर विजयमणि पौडेल सामाजिक काममा संलग्न हुने रहरले अभियानमा जोडिन आइपुगेको बताउँछन्। “देशका लागि केही योगदान गरौं भन्नेका लागि यो राम्रो अवसर हो”, उनी भन्छन्।
भारतबाट एम टेक सकेर नेपाल फर्केकी सोनाली झा पनि आत्मसन्तुष्टिका लागि स्वयंसेवी अभियानमा जोडिन आएकी हुन्। नेपाल आयल निगमको जागिर छोडेर दुर्गम गाउँमा पढाउन तयार झा यसलाई पुण्यकर्म ठान्छिन्।
पत्रकारितामा स्नातक इटहरीकी भावना श्रेष्ठले स्कूले विद्यार्थीलाई पढाउने अभियानसँग जोडिन परिवारभित्र लामै कसरत गर्नुपर्यो। भावना भन्छिन्, “गाउँका विद्यार्थीलाई पढाउँदा पाइने सन्तुष्टि, पैसामा पाइँदैन।” यी स्वयंसेवीहरूको निष्कर्ष छ– “देश बिग्रनुको जग कक्षाकोठा बिग्रनु हो, यसलाई सुधार्न सके देश सुधि्रन्छ।”
साथमा देवयानी सिवाकोटी