व्यक्तित्वआइतबार, चैत्र २५, २०६९
सानुको साहस
सानो छँदा चरा झै उड्ने लालसाले छाता समातेर बारीको डिलबाट हामफाल्दा उनको हातखुट्टामा नराम्रोसँग चोट लाग्यो, छाता भाँचियो, अभिभावकको गाली समेत खानुपरयो । फेरि एकदिन सिनो खाइरहेको गिद्धको खुट्टा समातेर उड्न खोजे, गिद्ध फ्याट्ट उड्यो, उनी तीन कान्ला तल पुगे । यस्ता बदमाशी उनले कति गरे कति । चरा झै उड्ने रहर पुरा गर्न अनेक उट्पट्याङ गरिरहने सानुबाबु सुनुवार (२९) ले आज त्यो रहरमात्रै पुरा गरेका छैनन्, आकाशमा चरा झै उड्ने प्याराग्लाइडिङमा विश्व कीर्तिमान नै बनाएका छन् ।
गएको २४ माघमा उनले अफ्रिकी मुलुक तान्जिनियाको सबैभन्दा अग्लो हिमाल किलिमञ्जरो ९५८९५ मिटर० बाट प्याराग्लाइडिङ गर्ने कीर्तिमान बनाए । किलिमञ्जरोबाट एक विदेशीसहित उडेका उनी एक घण्टा ४५ मिनेटमा समुद्र सहतदेखि ४०० मिटर उचाइको मोसीमा अवतरण गरेका थिए । त्यहाँको सरकारले पहिलो पटक उक्त चुचुरोबाट उडान गर्न अनुमति दिएको थियो, जसमा सयौं विदेशी पाइलटलाई पछि पार्दै उनले किर्तीमान बनाए ।
सानुबाबुको नाममा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिरबाट उडेर समुद्र सतह (समिट टु सी) मा पुगेको कीर्तिमान समेत छ । सगरमाथाबाट उडेको ३३ घण्टापछि मे २०११ मा उनी भारतको कपिलमणि धाममा ओर्लेका थिए, जुन कीर्तिमानकै कारण उनलाई नेशनल जोेग्राफी टेलिभिजनले ‘एड्भेञ्चर अफ दी इयर २०१२’ बाट सम्मान गरयो । तर, सगरमाथाभन्दा किलिञ्जरोको उडान बढी चूनौतिपूर्ण थियो, हावाको गति र जोखिम दुबै बढी भएकाले । पोखरास्थित प्याराग्लाइडिङ कम्पनी ब्लुस्काईमा आवद्ध सानुबाबु विश्वकै साहसिक मानिने ‘रेडबुल एक्स आल्पस्’को सन् २०१३ को स्पर्धाका निम्ति छनोट भइसकेका छन् ।
सानुबाबुले आफ्दो जादू आकाशमा मात्रै हैन, अप्ठ्यारा गल्छी, खोल्सा र नदीमा कायकिङ गरेर पनि देखाइसकेका छन् । जमिन भित्रभित्रै बगेको पोखराको सेती नदीको केआइसिंह पुलदेखि रामघाटसम्म कायकिङ गर्ने उनी एक्लो व्यक्ति हुन् । सन् २००४ मा गुमनाम सेती हेर्दै दुई घण्टामा रामघाट पुगेका सानुबाबु भन्छ्न्, “त्यस्तो अनुभव त सायदै हुन्छ ।”
संघर्षपछिको सफलता
रामपुर, रामेछापमा जन्मेका सानुबाबुले सुनकोशीमा पर्यटकले रयाफ्टिङ गरेको देखेका थिए । सुनकोशी किनारमै हुर्केका उनी २०५५ सालमा एसएलसी दिएपछि बाबुले पिकनिक जान दिएको रु। ५०० लिएर काठमाडौं भागे । त्यसबेला उनको उमेर १५ बर्षमात्र थियो । काठमाडौंबाट पनि भागेर उनी पोखरा पुगे । खल्तीमा २० रुपैयाँ मात्र बाँकी रहँदा रात्रिबस चढेका सानुबाबु बोल्न नसक्ने नाटक गरेर पोखरा पुगेका थिए । पोखराबारे उनलाई ‘गोराहरु आउने ठाउँ’ भन्नेबाहेक केही थाहा थिएन । पोखराको पहिलो रात लेकसाइडमा पाटीमै सुतेर काट्नुपरयो । संयोगवश, पाटीमा सँगै सुतेका एक अपरिचित मजदुरले टे«किङ जाने काम खोजिदिए ।
दुई महिना ट्रेकिङमा हिडेपछि उनले रयाफ्टिङ कम्पनीमा काम गर्न शुरु गरे । त्यसको १५ दिनमै कायक चलाउन सिके । त्यहीबेला जुनियर कायक प्रतिस्पर्धा भयो र उनी च्याम्पियन बने । सन् २००३ को सेती रिभर कायकिङ प्रतियोगिता पनि जिते । त्यहीबर्ष उनले नेपालमा कसैले नसकेका ३२ खोला र छाँगामा कायकिङ गरे ।
सन् २००५ मा स्वीटजरल्याण्डका पाइलट डेबिडसँग भेट भएपछि प्याराग्लाइडिङसँग उनको नाता जोडिएको हो । डेबिडले उनलाई सुरुमा प्याराग्लाडिङमा उडाएका थिए । त्यसपछि उड्न सिकाए । सन् २००८ मा सुनुवारले अमेरिकाबाट नेपाली प्याराग्लाइडिङ पाइलटको अनुमतिपत्र दियो । प्याराग्लाडिङबाट कास्कीको सिक्लेस, लमजुङ, काठमाडौ र मेचीदेखि महाकालीसम्मको यात्रा गरेका उनी संविधानसभा निर्वाचनमा मत खसाल्न पनि काठमाडौंबाट प्याराग्लाडिङमै रामेछाप पुगेको सुनाउँछन् ।
-माधब बराल, पोखरा