ब्लगआइतबार, चैत्र २५, २०६९
चुनाव हैन चामल
दुःखीको घरमा मात्र, तेरो बास हुने भए
हे ईश्वर दया राखी, मलाई अझ् दुःख दे १
स्थलगत रिपोर्टिङका क्रममा १४–२० चैतमा सुदूरपश्चिमको बाजुरा र मध्यपश्चिमको मुगुका गाउँहरू डुल्दा बालकृष्ण समका यी हरफहरूको स्मरण भयो । डेढ वर्षअघि रिपोर्टिङका क्रममा सुदूरपश्चिमको डडेल्धुरा, डोटी र अछाम पुग्दा त्यस क्षेत्रका बासिन्दाको भुक्तमानको साक्षी भए पनि यस पाला जति स्तब्ध हुनुपरेको थिएन । गरीबी र अशिक्षाका कारण एचआईभीरएड्सको चपेटामा परेका ती जिल्लाका नेपालीको तुलनामा बाजुरा र मुगुका दुर्गम गाउँघरको अवस्था झनै पीडादायी रहेछ ।
बाजुराको कोल्टी विमानस्थलमा हवाईजहाजबाट ओर्लनुअघि देखिने मनोरम फाँटले मोहित नपार्ने मानिस शायदै होलान् । तर, ओर्लिसकेपछि जुन वास्तविकता अगाडि आउँछ, त्यो बडो स्तब्धकारी छ । सदरमुकाम मार्तडीबाट १२ कोस (एकदिन पैदल) टाढाका कोल्टीवासीलाई स्थानीय उत्पादनले ६ महीना पनि पुग्दैन रहेछ । छिमेकका मुगु र हुम्ला जिल्लाबाट समेत बाक्लो आउजाउ हुने ११ गाविसको केन्द्र कोल्टी बजारमा जताततै कैयौं दिनदेखि ननुहाएका बालबालिका र फाटेका लुगा लगाएका मानिसहरू देखिन्छन् । त्यो दृश्य देख्दा म आफैंले हिमाल मा गरेको ‘चिनियाँ सरसामानको सुलभताले नेपालमा फाटेका कपडा लगाउने मानिस देख्न छाडिएको’ रिपोर्टिङ सम्झीएर लज्जित भएँ ।
कोल्टीबाट पूर्वतिर कर्णालीको तीरैतीर मुगुका गाउँहरूमा पूर्वी नेपालका पहाडी कन्दरामा नभएका दुःखहरू देखिन्छन् । मुगुको श्रीकोटको बाटोमै राडी बुन्दै गरेका नन्दुश्वर थापा (५५) ले ‘हामी त दुःख पाउनै जन्मेका रहेछम्’ भन्दा मलाई अत्यास लागेर आयो । मुगुको माझचौरमा भेटिएका ५५ वर्षीय धनबहादुर कार्कीको पिठ्युँमा उनको उमेरभन्दा करीब दोब्बर फलामे पाइपको भारी (हे.तस्वीर) देख्दा मलाई उकुसमुकुस भयो । खत्याड क्षेत्रमा राराको पानीले सिंचेको लोभलाग्दो खेत भए पनि त्यही ठाउँमा धेरै गरीबको भोकको कहालीलाग्दो कथा सुन्नुपरयोे ।
४–११ चैतको हिमाल खबरपत्रिकाको आवरणमा छापिएको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको तस्वीर चिन्ने मानिस बाटामा कोही भेटिएनन् । सिमीसँग चामल साट्न बाजुराको मार्तडी हिंडेका हुम्लाका अजवीर फडेराहरूको कुरा डायरीमा टिपिरहँदा ‘हाम्रो दुःख सुनिदिन टाढाबाट आएका रहेछौ, अब हामीले के पाउँछम् ?’ भनेर सोधिंदा म निरुत्तर भएँ । बाजुराबाट मुगु जाँदा भेटिएकी कोटडाँडाकी रेउली कार्की (५९) ले आफूहरू दुःख पाउनैका लागि मात्र जन्मिएको बताइन् । त्यस्तो कुनै मानिस भेटिएन जसलाई वैशाखे पानी, खाद्यको चामल किन्ने पैसा र रोग लागे उपचार नपाइने चिन्ताले नसताएको होस् । सबैले चामलकै माग गरे, जुन सुन्ने फुर्सद चुनावको चर्चामा डुबेको काठमाडौंलाई छैन ।
यस क्षेत्रमा राज्यको उपस्थिति भनेको ४/५ प्रहरी चौकी, खाद्य संस्थानको डिपो, सरकारी विद्यालय र डाक्टर–स्वास्थ्यकर्मी विनाका स्वास्थ्यचौकीहरू मात्र हुन् । गम्था–४ मुगुका नन्दबहादुर बुढा थापा (४०) ले एमालेका चन्द्रबहादुर शाही सांसद् र नेपाली कांग्रेसका हस्तबहादुर शाही मन्त्री भएको तर, आफूहरू भोकाको भोकै रहेको बताए । सरकारले गाउँसम्म गाडी ल्याइदिए जीवन फेरिन्थ्यो कि भन्ने आशा उनले व्यक्त गरे । ढुवानीमा करोडौं खर्चेर वर्षेनि चामल पठाउन उद्यत सरकारले भने कर्णालीमा सडक निर्माण, रोजगारी सिर्जना र शिक्षा विस्तारतिर भने त्यति ध्यान दिएको छैन ।
जति नै दुःख भए पनि, खानै नपाए पनि आगन्तुकलाई हाँसेर स्वागत गर्ने हूलले भने आनन्दको अनुभूति गराइरह्यो । हातमा चकलेट राखिदिंदा केटाकेटीहरूको अनुहारमा तैरने अपार खुशीलाई शब्दमा व्यक्त गर्नै सकिन्न । जति नै दुःख भए पनि मानिसलाई स–साना खुशीहरूले आशावादी बन्ने शक्ति दिंदोरहेछ । मेरा लागि अर्को उत्साहको कुरा भयो, गाउँका स्कूलहरूमा बढेको छात्राहरूको संख्या । शैलेश्वरी मावि, रुंगिनका प्रधानाध्यापक पर्शुराम मण्डरले बाजुराको धिम गाउँको बडीमालिका विद्यालयमा २०४२ सालमा १५० विद्यार्थीमध्ये चार जना छात्रा रहेको, पाण्डुसेनको सत्य माविमा २०४७ मा २५० विद्यार्थी रहेकामा ७ छात्रा र अहिले शैलेश्वरीमा ३३९ विद्यार्थीमा आधाभन्दा बढी छात्रा रहेको बताउँदा म थप आशावादी हुँदै फर्किएँ ।