रमझमबुधबार, जेठ १७, २०६९
म्युजिक भिडियोका महिला क्याप्टेन
गीतलाई भाव अनुसार दृश्यमा उतार्ने विधा भएकोले म्युजिक भिडियोलाई लघु चलचित्र पनि भन्छन्। त्यसकारण दृश्य प्रविधिको प्राविधिक ज्ञान र गीत बुझने क्षमतादेखि कन्सेप्ट को खुबी र सिर्जनशीलता भएकाहरूलाई राम्रो म्युजिक भिडियो निर्देशक मानिन्छ, म्युजिक भिडियो डाइरेक्टर हुन संगीत बजारमा आएजति सबै टिक्दैनन्। र, यो मामलामा केही महिला निर्देशकहरूले विधागत दक्षता लिएर आएका देखिन्छन्। तिनैमध्येकी एक सुलोचना थिङ भन्छिन्, “सबै काममा पेशागत दक्षता चाहिन्छ, तर म्युजिक भिडियोमा बढी लगाव पनि चाहिन्छ।”
सुलोचनाले नेपाली म्युजिक भिडियोको नयाँ संसारमा एक्सन-कट भन्न थालेको एक दशक भयो। उनले शुरूका पाँच वर्ष ट्र्याङ्गल क्रियसनमा प्रसन्न पौडेल र प्रचण्ड पौडेलको टीममा काम गरिन्। उनले बनाएका अञ्जना गुरुङको मलाई तिर्खा, अञ्जु पन्तको हरियो चुरा मेरो हातै भरियो कर्णदासको सास रोकी देउ बरु लगायतका डेढ दर्जनभन्दा बढी म्युजिक भिडियोलाई धेरैले मन पराएका छन्। यी गीतहरूले म्युजिक भिडियो निर्देशकको रूपमा आफ्नो पहिचान बनाएको सुलोचनाको ठम्याइ छ।
नेपाली म्युजिक भिडियो निर्देशनमा संगीता श्रेष्ठ, मिनाक्षी कोइराला, स्मृति तिमिल्सिना, सुनिता राजभण्डारी आदि अन्य सक्रिय नामहरू हुन्। एक समयमा निकै जमेका पूजा गुरुङ, सिर्जना जोशी, प्रभा अमात्य, सृष्टि गहतराज आदि अहिले यो क्षेत्रमा देखिएका छैनन्।
नेपाली म्युजिक भिडियो निर्देशनको क्षेत्रमा संगीता श्रेष्ठलाई सेलिब्रेटी को रूपमा लिइन्छ। उनी म्युजिक भिडियो, छोटा चलचित्र, विज्ञापन, टेलिभिजन कार्यक्रम लगायतमा एक दशकदेखि सक्रिय छिन्। शुरूमा रेडियो आरजे संगीता टेलिभिजन कार्यक्रम निर्माण गर्दागर्दै खेमराज गुरुङको बलेसी
गीतबाट म्युजिक भिडियो निर्देशनमा आएकी हुन्।
संगीताले निर्देशन गरेको यश कुमारको म कहिले हाँसेको थिएँ, नरहरि प्रेमीको ए साइला दाइ, जुना प्रसाईको नदेखेको भए हुन्थ्यो, राजेश पायल राईको सेली आइ लभ, रिमिक्स गीतहरू माछी मारन, तिम्रो मन त चक्कु छुरी, सुन सुन सनम लगायतका ६ दर्जन हाराहारी म्युजिक भिडियो निकै चलेका छन्।
कला लगायत सबै क्षेत्रमा पुरुषको वर्चस्व रहेको समयमा यी महिला निर्देशकहरूले आफूलाई स्थापित गरेका छन्। उनीहरू लगन र लगावकै कारण यो क्षेत्रमा टिकेका र भविष्य बनाएका हुन्।
१६-३२ जेठ २०६९ हिमाल खबरपत्रिकाबाट
http://www.nepalihimal.com/old/