रमझमसोमबार, बैशाख २, २०७०
अब क्याप्टेन
१०० भन्दा बढी चलचित्रमा नायक–नायिकालाई नचाइसकेका गोविन्द राई (४०) नेपाली चलचित्रको नृत्य विधामा वसन्तजंग रायमाझी, वसन्त श्रेष्ठ, शान्ता नेपाली, कमल राई र राजु शाहको प्रशंसित उत्तराधिकारी हुन् ।
उनले आफ्ना अग्रजहरूभन्दा कमसल भएको गुनासो रहन दिएनन् । राजु शाह भन्छन्, “गोविन्द आफ्नो समयको चलचित्र नृत्य–निर्देशनमा अब्बल रह्यो ।”
२०५३ सालमा चलचित्र सिउँदो को सहायक नृत्य–निर्देशकको रूपमा यो क्षेत्रमा आएका गोविन्दले त्यही वर्ष, चमत्कार र जीत मा निर्देशककै काम गरे ।
निर्माता चिरञ्जीवी बस्नेतले २०५४ मा चलचित्र को नृत्य–निर्देशक नै बनाएपछि गोविन्द उकालो लागेको लाग्यै भए । उनले गोर्खा पल्टन, नैना रेशम, गिरफ्तार, माया त माया हो, निशानी जस्ता चलचित्रमा सम्झ्नयोग्य काम गरेको मानिन्छ ।
तर, लोक र रोमान्टिक शैलीको नृत्यमा बढी प्रशंसित गोविन्द भन्छन्, “राम्रो नृत्य निर्देशक भनेर चिनिएको छु, तर आफैं सन्तुष्ट हुने काम भने गर्न पाएको छैन ।”
रत्नचोकबाट राजधानी
गोविन्द पूर्वको चर्चित शहर धरानको रत्नचोकमा किशोरकाल बिताउँदा नबिताउँदै लोक, आधुनिक र शास्त्रीय नृत्यमा पोख्त भइसकेका थिए । यसरी नाँच्दै र नाँच्न सिकाउँदै हिंड्दा उनका लागि धरान क्रमशः साँघुरो हुँदै गयो अनि २०४६ को जनआन्दोलनलगत्तै राजधानी हान्निए ।
तर, उनका लागि राजधानी निकै चाम्रो सावित भयो । छिंडीमा सुते, भोकभोकै कति रात कटाए । संघर्षका दिन सम्झ्ंिदै गोविन्द भन्छन्, “केही नलागेपछि २०४८ मा धरानै फर्किएँ ।”
तर, रीस उठे पनि उनलाई राजधानीको चस्का लागिसकेको थियो । २०५० मा फेरि आएर स्कूलहरूमा नृत्य सिकाउँदै अडिने प्रयासमा लागे । २०५३ मा चलचित्र सिउँदो का नृत्य–निर्देशक प्रवेश वान्तवाको सहायक भएपछि चाहिं काठमाडौंको रातमा मस्त निन्द्रा सुत्न पाएको गोविन्द बताउँछन् ।
त्यसयताको समयमा सयौं हिरो–हिरोइनलाई नचाएका उनलाई करिष्मा मानन्धर, सारंगा श्रेष्ठ, रेखा थापा, केकी अधिकारी, ऋचा घिमिरे, दिलीप रायमाझी, श्रीकृष्ण श्रेष्ठ, विराज भट्ट, राजवल्लभ कोइराला सजिलै नाँच्न जान्ने कलाकार लाग्छन् ।
पहिला नेपाली चलचित्रका गीतहरू राम्रा हुने र तिनमा काम गर्दा आनन्द लाग्ने तर, अहिलेका गीत नै झुर हुने गोविन्दको अनुभव छ । उनी भन्छन्, “अहिले त मिहिनेतको मतलबै हुँदैन ।”
दुई दशकको नृत्य–निर्देशनमा चार दर्जन म्युजिक भिडियोको निर्देशक समेत भएका गोविन्द अब फिल्म निर्देशक बनेका छन् ।
उनले निर्देशन गरेको पहिलो चलचित्र नागबेली पोष्टप्रोडक्सनको चरणमा छ । चलचित्रको ‘क्याप्टेनसीप’ नै पाइसकेपछि अब उनी नृत्यविधामा रहलान् त ?
“पहिचान नै नृत्य भएकाले यसलाई छाड्ने कुरै आउँदैन”, गोविन्द भन्छन्, “नृत्यसँगै चलचित्र निर्देशनमा जम्ने हो ।”
ऋषिराम कट्टेल, हिमाल खबर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
