अन्तर्वार्ता/विचारसोमबार, बैशाख २, २०७०
युवा र प्रविधिलाई जोडौं
२७ चैतमा काठमाडौंमा शुरू भएको पाँच दिनसम्म चल्ने ‘सामसुङ ग्यालेक्सी ग्राण्ड आईसीटी इलेक्ट्रोनिक्स ब्राण्डिङ एक्स्पो’ को आयोजक सूचनाप्रविधि संघका अध्यक्ष शिशिर उपाध्याय भन्छन्, “सरकार र निजी क्षेत्रको संयुक्त प्रयास विना सूचनाप्रविधिमा फड्को मार्न सकिंदैन ।”
एक्स्पो आयोजना गर्नुको उद्देश्य के हो ?
विभिन्न ब्राण्डको प्रमोशन गर्नु एक्स्पोको मुख्य उद्देश्य हो । सूचनाप्रविधिबारे आम मानिसलाई जानकारी गराउने र सामान बिक्री गर्ने त छँदैछ ।
यो एक्स्पोका विशेषता के हुन् ?
युवाहरूलाई सूचनाप्रविधिबारे ‘टच एण्ड फिल’ गराउने लक्ष्य राखेर एसएलसी दिएका विद्यार्थीलाई निःशुल्क प्रवेश दिएका छौं । युवा पुस्तालाई प्रविधिसँग जोड्ने हाम्रो उद्देश्य हो । एक्स्पोमा नयाँ–नयाँ मोडलका ल्यापटप, मोबाइल, पावर सोलुसन, मोनिटर, प्रोजेक्टर, इन्टरनेट सेवा, नेटवर्क सिस्टम, सेक्युरिटी सिस्टमका स्टलहरू छन् ।
स्टक रहेका सामान बेच्न एक्स्पो गरिएको भनिन्छ नि !
सोह्रै आना गलत । वस्तु आयात गरेर बेच्ने हामी जस्ता व्यापारीले कुनै पनि सामान लामो समयसम्म राख्दैनन् । अहिलेका सचेत उपभोक्तालाई स्टकको सामान बेच्न सम्भव पनि हुँदैन ।
एप्पललगायतका कम्पनीको आधिकारिक डिलर यहाँ नहुँदा समयमै नयाँ प्रविधि प्रयोग गर्न उपभोक्ता वञ्चित भइरहेका छन् भनिन्छ, हो ?
एप्पल र सफ्टवेयर कम्पनीहरूको नेपालमा आधिकारिक डिलर नभएकाले रिसेलरले तिनका सामान बेच्छन् । तर, सामान ढिलो आउनुमा व्यापारीहरू भन्दा सरकार नै बढी जिम्मेवार छ । कम बिजकीकरण भयो भनेर भन्सारमा सामान धेरै समय अल्मल्याउने परम्परा छ ।
सूचनाप्रविधिको क्षेत्रमा नेपाल पछि परे जस्तो लाग्दैन ?
नयाँ रणनीति र योजनासहित अगाडि नबढेसम्म सूचनाप्रविधिमा विकसित देशसँग प्रतिस्पर्धा गर्न सकिंदैन । त्यसका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अनिवार्य हुन्छ । हामीले दिएका यस्ता सुझव सरकारले अहिलेसम्म मानेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
