रमझमबुधबार, बैशाख ४, २०७०
चाँदीको चमक
ललितपुर, मंगलबजारकी अलिशा ताम्राकार (२६) चाँदीका गरगहनाको सौखिनमा पर्छिन्। ब्रिटिश काउन्सिलमा कार्यरत उनलाई चाँदीका एसीसिरिज सुन भन्दा राम्रो लाग्छ।
उनी क्याजुअल पहिरनमा कालो पत्थर भएको सानो औंठी र नेकलेश अनि जमघटमा सेतो क्रिष्टलको सेट लगाउँछिन्।
“मलाई चाँदीका गहना मन परेको यो सस्तो भएर मात्र होइन”, अलिशा भन्छिन्। शहरमा अलिशा जस्ता चाँदीका पारखीको संख्या ठूलो छ र त्यही अनुसारको व्यापार।
अलिशाले भने जस्तै यो चिज सुन र हीरा–मोतीभन्दा सस्तो भएर मात्र हैन, डिजाइन र विशेष चमकका कारण पनि धेरैको रोजाइमा परेको हो।
राजधानीका नयाँसडक र ठमेलमा आउटलेट रहेको निधि क्राफ्ट एक्सपोर्टरका अमित गुप्ताका अनुसार नेपालमा तिब्बती डिजाइनका चाँदीका गहना बढी बिक्री हुन्छ। राजधानीलगायत देशभरका ज्वेलरीमा चाँदीको व्यापार सुनको भन्दा कम छैन।
नेपालमा बनेका चाँदीका गरगहना युरोप, अमेरिका र जापानसम्म पुर्याउने गरिएको छ। ट्रेड एण्ट एक्सपर्ट प्रोमोशन सेन्टर नेपालका अनुसार, गत आर्थिक वर्षमा साढे दुई अर्ब रुपैयाँको चाँदीका सरसामान निर्यात भयो। नेपालमा बनेका चाँदीका गहना देश भित्रभन्दा बाहिर लोकप्रिय रहेको यसले देखाउँछ।
अहिले चाँदीको मूल्य प्रति तोला रु.१११० छ। ललितपुरको एभरेष्ट आर्ट एण्ड सिल्भर क्राफ्ट सञ्चालक सिद्धार्थ शाक्य चाँदीका गरगहनालाई रु.३०० देखि रु.१० लाख (हीरामोती जडित) सम्म पर्ने बताउँछन्।
चाँदीको तौलमा गहनाको डिजाइनको मूल्य पनि जोडिन्छ। शाक्यका अनुसार, धेरैजसो नेपाली युवती चाँदीका वान पीस सेट मन पराउँछन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
