Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोफसलका पौरखी - Himalkhabar.com

रिपोर्टबुधबार, बैशाख ४, २०७०

मोफसलका पौरखी

हिमालखबर

थोरै पूँजीबाट स्थानीयस्तरमा व्यापार/व्यवसाय शुरू गरेर उन्नति गरेका पौरखीहरू सशस्त्र द्वन्द्व समाप्त भएर शान्ति आउँदा पनि राजनीतिक अस्थिरता कायम रहेकाले अझै अन्योलमै छन् । चुनाव नहुने, राजनीतिक द्वन्द्व बढ्ने र अराजक समूहको मनपरीले व्यापार व्यवसायको वातावरण बिग्रिने उनीहरूको चिन्ता छ ।

२०४६ को राजनीतिक परिवर्तनले दिएको खुलापनबाट उदाएको यो समुदाय लोकतन्त्र सुदृढ र दिगो होस् भन्ने चाहन्छ र नेपाली समाजलाई अंगभंग पारेको दशक लामो सशस्त्र द्वन्द्व मुलुकले कहिल्यै बेहोर्नु नपरोस् भन्ने आकांक्षा राख्छ ।

यही समुदाय हो, जसले कतै आशा नदेखिएको २०५२ देखिको दशक लामो हिंसाको अँध्यारो कालमा पनि समाजको आर्थिक धुकधुकीलाई बचाइराखेको थियो । कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, व्यापार जस्ता क्षेत्रबाट यो समुदायले दिएको योगदानकै कारण अहिले मुलुक छिटै तङ्ग्रिएको छ र हिंड्न पाइला सार्दैछ ।

मोफसल भनिने राजधानी बाहिरको यो समुदायले अहिले गरिरहेको प्रगतिलाई नजिकबाट नियाल्ने हो भने मुलुक अघि बढिरहेको र बढ्नेछ भन्ने आशा जगाउने ठाउँ प्रशस्तै भेटिन्छ ।

विविध क्षेत्रमा लगानी

१९ वर्ष जापानमा काम गरेर कमाएको रु.२८ लाखबाट झापामा व्यवसाय शुरू गरेका मीनप्रकाश मैनाली अहिले झापाकै उत्कृष्ट व्यवसायीमा गनिन्छन् । फूलबारी कलरल्याब, भगवती सिमेण्ट कारखाना, होटल अर्किडमा लगानी गरेका राजनीतिक परिवारका मैनाली मायक्रोम्याक्स मोबाइलका विक्रेता पनि हुन् ।

२०४५ सालसम्म पानबिंडी बेच्ने मेचीनगर–१० का शेखर गुरागाईं (५०) ले झापा काँकडभिट्टामा खोलेको हार्डवेयर पसलबाट नोक्सानी बेहोर्नु परेपछि त्यो व्यवसाय छाड्दै समूह बनाएर एउटा माइक्रोबस किने ।

उनी प्रबन्ध निर्देशक रहेको मितेरी यातायात एण्ड अटो प्रालिसँग अहिले झापा–काठमाडौं चल्ने ३५ वटा गाडी छन् । त्यो कम्पनीले बाराको अमलेखगञ्जमा डेढ करोड रुपैयाँको लगानीमा एउटा होटल पनि शुरू गरेको छ ।

खुलापनको अनन्त सम्भावना बुझेर डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराटनगरमा एउटा बेडबाट २०५१ मा शुरू गरेको विराट नर्सिङ होम अहिले ४०० शैच्चयाको विराटनगर अस्पताल बनेको छ, जहाँ ३५ डाक्टरसहित तीन सय स्वास्थ्यकर्मी कार्यरत छन् । त्यो अस्पतालसम्बद्ध विराट हेल्थ कलेजमा ७०० विद्यार्थी पढिरहेका छन् ।

२०४२ मा थोरै लगानीमा तयारी पोशाक उद्योग शुरू गरेका विराटनगरका राजेन्द्र राउतले २०६० मा राउत कन्स्ट्रक्सन स्थापना गरे । त्यो कन्स्ट्रक्सन अहिले पूर्वाञ्चलका लागि स्काभेटर, डोजर, क्रेनलगायतका ठूला उपकरणको आधिकारिक बिक्रेता छ ।

होलसेल पसलबाट व्यापार शुरू गरेका कर्माचार्य ग्रुप पोखराका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य अहिले त्यहाँकै गनिने व्यवसायीमा पर्छन् । गण्डकी आयल मिल, प्लाष्टिक, बिस्कुट, डेरी, चकलेट उद्योग संचालन गरिरहेका उनको शिक्षा र ब्याङ्किङ क्षेत्रमा गरी वार्षिक रु.१ अर्बभन्दा बढीको कारोबार हुन्छ ।

रारा चाउचाउले सफलता दिलाएपछि पोखराकै सूर्यबहादुर केसी निर्माण व्यवसायमा लागे । त्यसमा पनि सफल भएका उनको अहिले मेडिकल, इन्जिनियरिङ र होटल म्यानेजमेण्ट कलेज र ब्याङ्कमा लगानी छ ।

थोरै लगानीको घरेलु प्रविधिबाट डल्लो साबुन बनाएर बेच्न शुरू गरेका भैरहवाका सतिशचन्द्र कसौधनले बुटवल औद्योगिक क्षेत्रमा शिवशक्ति सोप इण्डष्ट्रिज खोल्ने हैसियत बनाए । अहिले उनको जेके सोप एण्ड केमिकल इण्डष्ट्रिज, महाकाली ओलियो केमिकल इण्डष्ट्रिजलगायतका उद्योगमा पनि करोडौंको लगानी छ ।

२०४६ को परिवर्तनअघि उद्योगको लाइसेन्स पाउनै गाह्रो रहेको सम्झ्ँदै सतिश भन्छन्, “ब्याङ्क तथा वित्तीय संस्थाले पनि त्यो बेला सहजै ऋण दिंदैनथे ।”

नेपालगञ्जमा स्नेहा होटलसहित ट्राभल एजेन्सी, कार्गो, क्राफ्ट भिलेज र बर्दियामा कृषि व्यवसायमा लगानी गरेकी नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष भवानी राणा खुलापनले व्यवसायको दायरा फराकिलो पार्न प्रेरित गरेको बताउँछिन् । ३० वर्षअघि १० कोठाबाट शुरू भएको उनको स्नेहा होटल अहिले ६० कोठाको चार तारे भएको छ ।

बुटबलमा २०३८ मा राइस मिल र स–मिल खोलेर औद्योगिक क्षेत्र प्रवेश गरेका ध्रुव श्रेष्ठ अहिले पञ्चकन्या गु्रपका उपाध्यक्ष छन् । त्यो गु्रपको २५ ठूला उद्योगमा अर्बौंको लगानी छ । नामी उद्योगी प्रदीपकुमार श्रेष्ठ र बद्रीकुमारका दाइ उनी भन्छन्, “पिताले बसालेको जगमा हामी ईंटा थपिरहेका छौं ।”

दाङका सुरेश हमाल २०५४ देखि यातायात व्यवसायमा प्रवेश गरेका हुन् । निर्माण व्यवसाय पनि गरिरहेका उनको त्यहाँ केबुल टेलिभिजन नेटवर्क पनि छ । वार्षिक करोड रुपैयाँभन्दा बढी कारोबार रहेको उनी बताउँछन् ।

१७ वर्ष सरकारी स्कूलमा पढाएर २०५१ देखि दाङको हलवारमा सानो छाप्रोमा बोर्डिङ स्कूल खोलेका टीकाबहादुर जिसीको अहिले ‘पब्लिक ज्ञानज्योति एजुकेशनल नेटवर्क’ छ । ८ जना विद्यार्थीबाट शुरू भएको यो नेटवर्कमा अहिले करीब ३ हजार ८०० विद्यार्थी अध्ययनरत छन् भने वार्षिक करीब रु.४ करोडभन्दा बढी कारोबार छ ।

दिनेश मेटल इण्डष्ट्री खोल्दै २०४२ देखि व्यवसायी बनेका धनगढीका गोपाल हमालको उन्नति त्यहाँका राइस मिल, ट्रेड एण्ड सप्लायर्स क्षेत्रमा उनको लगानीले देखाउँछ ।

कुनै बेला उनका ७१ वटा बस देशभरि गुडे पनि माओवादी द्वन्द्वमा तोडफोड भएपछि यातायात क्षेत्र छाडेका गोपाल भन्छन्, “मृतक भाइ दिनेशको नामको ब्राण्डमा कम्प्युटर पार्टस्, औषधि, होटल, एग्रो, सञ्चार, इलेक्ट्रोनिक्स तथा अटोमोबाइलमा लगानी गरेका छौं ।”

धनगढीकै मनोज अग्रवालले स्थापना गरेको उद्योगले मेघा ब्राण्डको चामल, पीठो र मैदा उत्पादन गरिरहेको छ । जसको उत्पादन मध्य तथा सुदूरपश्चिममा पुग्ने गरेको छ । उनकै रश्मि एग्रो प्रोसेसिङ्ग उद्योग र राजश्री फुड इण्ड्रष्ट्रिज पनि छ, जसको उत्पादन देशैभरि वितरण हुन्छ ।

भीमदत्त नगरपालिकाका डा. नेत्रराज चटौतले प्राविधिक शिक्षा क्षेत्रमा पाएको सफलता उदाहरणीय छ । सेती महाकाली नर्सिङ्ग क्याम्पस स्थापना गरेपछि कञ्चनपुरमा फारवेस्ट स्कूल अफ मेडिसिन खोले ।

जसमा सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी, ल्याब टेक्निसियन पढाइ हुन्छ । त्यसपछि, नेपालगञ्जमा नेपालगञ्ज टेक्निकल कलेज बनाए, जहाँ सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र सामान्य चिकित्सा (एचए)मा प्राविधिक शिक्षा दिइन्छ ।

चितवनको भरतपुरमा उनले खोलेको श्री मेडिकल एण्ड टेक्निकल कलेजमा बीपीएच, बी.फार्मेसी, बीएस्सी नर्सिङ्ग, स्टाफ नर्स, ल्याब टेक्निसियन अध्यापन हुन्छ भने महेन्द्रनगरमा उनले भर्खरै स्थापना गरेको ब्रिक्सटन कलेजमा बीबीए पढाइन्छ ।

जनकपुरका प्रदीप चौधरीले प्लाई उद्योगका लागि चाहिने कच्चा पदार्थ पाउने बिर्तामोड पुगेर दुईवटा उद्योग स्थापना गरे । ती उद्योगको वार्षिक कारोबार रु.३ करोडको छ ।

२०४७ मा खुलेको अविनाश ह्याचरीको सफलतापछि चितवनका गुणराज बिष्टले अहिले फार्मस्, फिड, भेट फर्मा र हाईलाईन प्रा.लि.मा हात हालेका छन् । चितवनमै उनको किचन क्याफे र रियलस्टेटमा पनि लगानी छ। वार्षिक रु.१५ करोड कारोबार गरिरहेका उनी आउने दिन व्यापारलाई अरू विस्तार गर्ने योजनामा छन् ।

चितवनमा खाद्यान्न व्यवसाय गरिरहेका उमाशंकर अग्रवालले क्रेताहरूलाई २०५१ देखि कम्प्युटर काँटामा जोखेर बेच्न थाले । उनको कारोबार वार्षिक रु.२० करोड छ ।

१४ बिघा जमिन भाडामा लिएर २०५१ मा केरा खेती शुरू गरेका चितवनकै अम्बिकाप्रसाद अधिकारीको दुई बिघा जमिनमा माछा पालन पनि छ । ‘जय अम्बे मल्टी एग्रो फार्म’ बाट उनले गरिरहेको यी खेतीको वार्षिक कारोबार रु.६० लाखको छ ।

वीरगञ्जका सत्यनारायण क्यालले छोटो समयमै नारायणी रोलिङ मिल्स, स्टार सिमेन्ट र हार्डवेयरमा करीब रु.१ अर्ब लगानी पुर्‍याइसकेका छन् । त्यहींका विष्णु अग्रवालले २० वर्षअघि रु.६० करोडको लगानीमा खोलेका आरएमसी सिमेण्ट उद्योगले अहिले दैनिक ८०० टन उत्पादन गरिरहेको छ ।

“तेस्रो मुलुकतर्फ निकासी गर्ने उद्योगलाई अनुदान दिने सरकारी नीति अव्यावहारिक भएकोले भारततर्फ निकासी गर्नेहरू निरुत्साहित भएका छन्”, अग्रवाल भन्छन् ।

विराटनगरमा केमिकल, पाइप, पोलिमर र सेन्चुरी मसला उद्योग सञ्चालन गर्दै आएका उद्योगी मोती दुगडको चिया, ग्लुकोज तथा स्न्याक्स उत्पादनतर्फ लगानी छ । फन एण्ड फुड भिलेज रिसोर्टमा पनि लगानी रहेको उनी विराटनगरमा रु.७५ करोडको लगानीमा पाँच तारे होटल बनाउँदै छन् ।

धरानमा १९ वर्षअघि साढे दुई लाख रुपैयाँको लगानीमा लेयर्स कुखुरा पालन शुरू गरेका मछिन्द्र चोङबाङको अहिले वार्षिक करीब रु.१३ करोडको करोबार छ ।

२०५६ मा त्रिवेणी एग्रोभेटमार्फत पशुपन्छीको औषधि पसल, दानाको डिलर र चल्ला बेच्न शुरू गरेका उनले २०६० मा हिमालयन गोर्खा पोल्ट्री फर्म पनि शुरू गरे । २०६२ देखि उनी प्रिमा ग्यास र २०६६ देखि कोकाकोलाको पनि अधिकृत विक्रेता हुन् ।

दुई दशकअघि नेपालगञ्जमा थोक पसलबाट सिमेण्ट बेच्ने र सूर्य टोबाको चुरोट बिक्री गर्ने सतिशकुमार अग्रवालले २०५५ मा करीब रु.१ करोडको लगानीमा जय मंगलम् सिमेण्ट उद्योग स्थापना गरी ‘स्टार’ ब्राण्डको सिमेण्ट उत्पादन शुरू गरे । होण्डा कम्पनीका मोटरसाइकल, स्कुटी र सूर्य नेपालका सम्पूर्ण ब्राण्डको पनि उनी त्यो क्षेत्रको डिलर बिक्रेता छन् ।

समस्यासँग जुध्दै

बन्द, हड्ताल र चन्दा आतंकको मारमा परेको नेपालको औद्योगिक क्षेत्रले २८ चैतमा काठमाडौंमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ४७औं वार्षिक साधारणसभामा राजनीतिक दलका शीर्ष नेताहरूले ऊर्जा विकासका लागि राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँँदा केही राहत महसूस गरेको छ ।

तर, अरू धेरै जस्तै भैरहवाका चर्चित उद्यमी सतिशचन्द्र कसौधन पनि दलहरूको भनाइ र गराइ फरक भएकोले विश्वास गर्न गाह्रो भएको बताउँछन्। कसौधन भन्छन्, “उद्योगमैत्री वातावरण नबनेसम्म निर्धक्कसँग व्यवसाय गर्न सकिन्न । ”

उद्योगको विकास हुन औद्योगिक क्षेत्रको सुरक्षा प्रत्याभूति हुनुपर्ने बताउँछन्, कर्माचार्य ग्रुपका चन्द्रकृष्ण कर्माचार्य । मजदूर युनियनका अनावश्यक माग, चन्दा आतंक र दिनहुँका धम्कीबाट औद्योगिक क्षेत्र अस्तव्यस्त रहे पनि आशावादी हुने ठाउँ बाँकी रहेको उनको धारणा छ । उनी भन्छन्, “त्यही आशले व्यवसायीले व्यापार नछाडेर लगानी थपेका हुन् ।”

धनगढीका व्यवसायी गोपाल हमाल दुर्घटनासम्बन्धी प्रष्ट कानून नहुँदा व्यवसायीलाई लगानी गर्न समस्या परेको बताउँछन् । “२०४९ को यातायात ऐन संशोधन नहुँदासम्म यातायात व्यवसाय फस्टाउँदैन” उनको भनाइ छ ।

उता, विराट अस्पतालका डा. ज्ञानेन्द्र कार्की उपचारको क्रममा बिरामीको मृत्यु हुँदा चिकित्सकमाथि आक्रमणका घटना बढेका र बिरामीको मृत्यु बीमा नभएसम्म त्यो क्रम नरोकिने बताउँछन् ।

अविनाश ह्याचरीका बिष्ट माओवादीको युद्धकालदेखि नै कुनै न कुनै रूपमा चन्दा आतङ्क रहेको र त्यसले व्यवसायीलाई निरुत्साहित पारेको पिरलो सुनाउँछन् । बिष्ट भन्छन्, “चन्दा आतङ्क नरोकिएसम्म लगानी बढाउन समस्या छ ।”

सरकारले निजी क्षेत्रलाई करदाता र चन्दादाताको रूपमा मात्र हेरेको बताउने वीरगंजका क्याल भन्छन्, “उद्योगी रोजगारदाता हुन् भन्ने सरकारले नबुझेसम्म समस्या कायमै रहन्छन् ।” धरानका पुराना यातायात व्यवसायी हीरा उदास (६७) बन्द आयोजकहरूका कारण व्यवसायीहरू मर्कामा परेको बताउँछन् ।

उद्योगधन्दामा भएका लगानीको सुरक्षा नहुनु, मजदूरका नाममा उद्योगहरूमा हडताल हुनु र जबरजस्ती चन्दाको त्रास कायम रहनुले व्यावसायिक वातावरण बन्न नसकेको सबै उद्योगी व्यवसायीको एकमत छ ।

बढ्दो लोडसेडिङले उनीहरूलाई अरू पिरोलेको छ । यस्तो बेलामा पनि उनीहरूको आशा एउटै छ, राजनीतिक अवस्थामा सुधार आउनेछ र व्यावसायिक वातावरण निर्माण हुनेछ । त्यही आशामा मोफसलका व्यवसायी नयाँ योजनाहरू बनाइरहेका छन् ।

गोपाल गडतौला, झापा, सीता मादेम्बा, धरान, कमल रिमाल, विराटनगर, ईश्वरचन्द्र झा, जनकपुर, बिम्मी शर्मा, वीरगञ्ज, सविता श्रेष्ठ, नारायणघाट, माधव बराल, पोखरा, दीपक ज्ञवाली, बुटवल, गजेन्द्र बोहरा, घोराही, नेत्र केसी, नेपालगञ्ज, बच्चु बिक, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>