समाचारबिहीबार, जेठ १८, २०६९
सुर्खेत उपत्यकामा पानीको हाहाकार
झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले स्रोतबाटै पानी कम आएकाले उपत्यकामा पानीको अभाव देखिएको बताए । उनले भने –’३६ घन्टाको फरकमा पानी वितरण गर्ने भनिए पनि मुहानबाटै आवश्यकता पर्ने जति पानी आउन नसकेकाले यसैअनुसार पानी वितरण गर्न सकिँदैन ।’
उपत्यकाका लागि झुप्राखोला, इत्रामखोला, खोर्केखोलाको स्रोतबाट पानी ल्याइएको छ । उपत्यकाका बासिन्दाका लागि प्रतिसेकेन्ड एक सय लिटर पानीको आवश्यकता भए पनि तीनवटा स्रोतबाट जम्मा प्रतिसेकेन्ड ४६.५ लिटर पानी मात्रै आउने गरेको छ । ती स्रोतमध्ये झुप्राबाट ७३ लिटर प्रतिसेकेन्ड पानी आउनुपर्नेमा ४० लिटर प्रतिसेकेन्ड पानी उपलब्ध भएको छ । इत्रामको स्रोतबाट प्रतिसेकेन्ड १७ लिटर पानी आउनुपर्नेमा पाँच लिटरमात्रै आएको र खोर्केखोलाको स्रोतबाट पनि प्रतिसेकेन्ड सात लिटर पानी आउनुपर्नेमा १.५ लिटर पानी मात्रै आएको बताइएको छ ।
एकदिनमा एक करोड लिटर पानी आवश्यक पर्ने भए पनि हाल दिनमा ४० लाख ३७ हजार २९९ लिटर पानी मात्रै उपलब्ध भएको छ । झुप्राको स्रोतबाट गत वर्ष प्रतिसेकेन्ड ४७ लिटर पानी आएको र हाल ४० लिटर मात्रै आएको छ । ‘इत्रामबाट गत वर्र्ष ६ र खोर्केबाट दुई लिटर पानी उपलब्ध हुँदै आएको थियो, यो वर्ष यी स्रोतमा पनि पानी घटेको छ’– अध्यक्ष देवकोटाले भने, ‘पानीको खपत बढेको र स्रोतमा पानी घटेका कारण आवश्यकता अनुसार पानीको आवश्यकता पुरा गर्न सकिएको छैन ।’
पानीका भल्भ प्राविधिक बाहेक उपभोक्ताले खोल्ने गरेको, मोटरको प्रयोग गरेर पानीको प्रयोग गरिनाका साथै पानीको मुख्य स्रोतका समुदायले ट्याङ्की निर्माण गरी घरघरमा पानी पुरयाएको र पानीको चुहावट बढी भएका कारण पनि समस्या थपिएको हो ।
पैँतिस प्रतिशत पानी चुहावटमै गएको छ । वीरेन्द्रनगर नगरपालिका एकदेखि दस वडासम्ममा २०३१ सालदेखि नै बिछ्याइएको ३५ किमि पाइप लाइनबाटै पानीको वितरण गरिएकाले पनि पानी चुहावट भएको बताइएको छ । यो वर्ष मात्रै १३.५ किलोमिटर पाइप खरिद गरेर परानो पाइप भएको स्थानमा नयाँ पाइपको प्रयोग गर्ने बताइएको छ ।
हाल उपत्यकामा सरकारी कार्यालय, सेना, प्रहरी बाहेक एक लाख ५० हजार जनताका लागि १२ हजार धारा जडान गरिएको छ । पानीका मुहान विभिन्न कारणले सुक्दै गएका कारण वैकल्पिक स्रोतको खोजी नभएसम्म खानेपानीको अभावले विकराल रुप लिने अध्यक्ष देवकोटाले बताबताए । उनले प्रतिसेकेन्ड १८ लिटर उपलब्ध गराउन सक्ने बुलबुलेलाई वैकल्पिक स्रोतका रुपमा तत्कालका लागि प्रयोग गर्नुपर्ने बताए । यसका लागि पनि केही समय लाग्ने भएकाले तत्कालका लागि भने सहजरुपमा पानी आपूर्तिको बाटो नभएको देवकोटाको भनाइ छ ।
स्किम नं ७ को २७ धारा, बसपार्कदेखि इत्राम खोलाको लाइन एयरपोर्टदेखि इत्रामको लाइनमा पानी आपूर्ति पूर्णरुपमा बन्द भएको छ– देवकोटाले भने ‘केही समयलाई उपभोक्ताले संयमता अपनाउनुभन्दा अन्य विकल्प छैन’ । झुप्रा खानेपानी आयोजनाले वीरेन्द्रनगर, जर्बुटा, लाटीकोइली र उत्तरगङ्गाका एक लाख ५० हजार बढी स्थानीयवासीलाई लाभान्वित बनाएको छ ।
-काशीराम शर्मा/सुर्खेत
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
