टिप्पणीआइतबार, बैशाख ८, २०७०
दाहालः भारत सोच्दै चीनतिर
गत वर्ष एकीकृत माओवादीका दुई शीर्षस्थ नेताले एकैखाले नियति भोगे । अध्यक्ष पुष्पकमल दाहालले अनेकांै पटक विन्तीपत्र हाल्दा पनि भारत भ्रमणको अवसर पाएनन् भने प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण गर्न त्यस्तै उपाय अपनाएका बाबुराम भट्टराईको आकांक्षा पनि पूरा भएन ।
भारत र चीन दुवैतर्फ भ्रमणका लागि विन्तीपत्र हालेका दाहालको भित्री चाहना भने पहिले भारत भ्रमणमा जान पाए हुन्थ्यो भन्ने थियो । एक वर्षदेखिका प्रयत्नले उपलब्धि हासिल नगरेको बेला गत मार्चको तेस्रो साता दाहालले नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सिंहलाई दिल्ली पठाएर भारतीय निमन्त्रणा पाउने प्रयास गरे । तर त्यो प्रयासले कुनै परिणाम नदिंदै बेइजिङबाट निम्तो आयो ।
दिल्लीभन्दा बेइजिङको निम्तो पहिले आउँदा खासै उत्साहित नभएका दाहालले बाबुरामसहित भारतीय दूतावास पुगेर चीनको निम्तो देखाउँदै चीन भ्रमणमा जान बाध्य भएको बताए । यसरी, भारत भ्रमणको चाँजोपाँजो मिलाउन पुनः आग्रह गर्दै दाहाल चीनतिर लागे । दाहालको चीन भ्रमणको सामान्य पृष्ठभूमि यही हो ।
दुई छिमेकीको भ्रमणमा जानुअघि दाहालले एउटा राजनीतिक घटना होस् भन्ने सोचेका थिए, जुन हुनसकेन । दाहाल चाहन्थे– खिलराज रेग्मीको सरकारले तत्कालै असारको पहिलो साताको निम्ति चुनाव घोषणा गरोस् । यदि सरकारले घोषणा गरे पनि असारको चुनावलाई राजनीतिक वातावरण निर्माण हुँदैन भन्ने उनलाई थाहा नभएको होइन । घोषित मितिमा चुनाव हुन नसक्दा रेग्मी सरकार असफल हुने र दुवै देशको भ्रमण अगाडि त्यही सन्देश दिन पाइने उनको योजना थियो ।
उनी ‘नेपालको राजनीतिक व्यवस्थापन मैले बाहेक कसैले गर्न सक्दैन’ भन्ने सन्देश दिन चाहन्थे । जुन, हुन सकेन ।
चीनको चासो
नेपाली राजनीतिमा जतिसुकै विश्वसनीयता गुमे पनि दाहालको तुलनामा गतिशील र सक्रिय नेता अन्य दलमा छैनन् । त्यही कारण दाहाललाई नझ्ेली विदेशीलाई सुखै छैन । विभिन्न राजनीतिक दलहरूमा जस्तै दाहालले कूटनीतिक क्षेत्रमा पनि अविश्वसनीयता नकमाएका हैनन् । तर, कूटनीतिक समुदाय पनि उनीसँग ‘डिल’ गर्न बाध्य छ । अरू जस्तै चिनियाँ पक्ष पनि दाहालका अपरिपक्व कूटनीतिक र राजनीतिक क्रियाकलापप्रति जानकार छ ।
त्यही भएर चीनले दाहाललाई ‘विश्वास गर्न नसकिने’ तर ‘डिल नगरी नहुने’ राजनीतिक पात्र मानेको छ ।
दाहालको चाहिं मुख्य चासो विभिन्न राजनीतिक उपक्रमको माध्यमबाट सर्वशक्तिमान बन्नु हो ।
त्यसैले पार्टी विभाजनपछि गुमेको शक्ति पुनः आर्जन गर्न दाहालले जुनसुकै साधन प्रयोग गर्न सक्छन् । अहिले उनले देखेको एउटै राजनीतिक साधन हो– आफ्नै नेतृत्वमा जातीय ध्रुवीकरण गर्नु । दाहालको जातीय ध्रुवीकरणको मोह र संघीयतामा जातीय पहिचानको नाममा देखापरेको एकल जातीय पहिचानको आधार चीनको अहिलेको चासो हो ।
खासगरी, एमाओवादीलाई केन्द्र बनाएर मधेशी शक्तिको सहयोगमा गर्न खोजिएको ‘विभाजित पहाड’ र ‘एकीकृत मधेश’ को भारतीय अभीष्टप्रति चिनियाँ चासो गम्भीर छ । तिब्बतको वरिपरि बन्ने धेरै जातीय राज्यहरूको अभियन्ता बन्न खोज्ने एमाओवादी नेतृत्वलाई यसो गर्नबाट रोक्नु चिनियाँ प्रयास हो । र, अहिले चीनले दाहाललाई दिने मुख्य अर्ति पनि त्यही हो ।
चिनियाँ राष्ट्रपति सी जिङपिङले दाहाललाई चाँडोभन्दा चाँडो संक्रमणकाल हटाएर चुनावमा जान जोड गर्नुको मुख्य कारण पनि यही हो । नेपालको संक्रमणकाल लम्बिनुको जिम्मेवार दाहालको दल नै हो भन्नेमा चीन प्रष्ट छ । भलै, दाहालले चीनसँग पैसामा जोड दिएर विषयान्तर गर्न किन नखोजुन् ।
शीर्षस्थ नेतृत्वले भेट्नु पहिल्यै विभिन्न ठाउँमा बोल्न लगाउने र त्यसको सूक्ष्म विश्लेषण गर्दै उसको विश्वसनीयता र आशय मूल्यांकन गर्नु चिनियाँ कूटनीतिकै एउटा विशेषता हो । दाहाललाई पनि सिचुवान विश्वविद्यालयमा बोल्न लगाउनु शायद त्यसैको निरन्तरता हुन सक्छ । तर दाहालले त्यो नबुझ्ेर हो वा आफ्नो भ्रमणलाई केवल कर्मकाण्डको रूपमा मात्र लिएर हो, गम्भीरता देखाएनन् । उनले त्यहाँ पढेको लिखित मन्तव्यको प्रस्तुति, भाषा र आशयले उनको प्रस्तुतिलाई ज्यादै निम्छरो देखाउँछ ।
मन्तव्यको भाषामा व्याकरण त्रुटि मात्रै पनि दर्जनौं छन् । उनले आफ्नो लिखित मन्तव्यमा कहीं कतै पनि ‘जनगणतन्त्र चीन’ नभनेर केवल ‘चीन’ मात्र भने । जबकि, कुनै पनि राष्ट्रको नाम औपचारिक मन्तव्यहरूमा उनीहरूले भन्ने भाषामै लिइन्छ । तर दाहालले आफ्नो लिखित भाषणमा चिनियाँहरूले प्रयोग गर्ने ‘पिपुल्स रिपब्लिक अफ चाइना’ कतै प्रयोग गरेनन् । जिङपिङको भेटभन्दा अगाडिका उनका यी क्रियाकलापले उनको प्रभावकारितालाई नै घटाउनेछ ।
‘इण्डिया’ र ‘चाइना’को सम्बन्ध राम्रो बनाउन उपदेश दिने अर्को वचकना काम दाहालले त्यहाँ गरे । भारत र चीनको मित्रता बढाउन र उनीहरूबीच द्विपक्षीय सहयोगको वातावरण तयार पार्न नेपालको महŒवपूर्ण भूमिका हुने हास्यास्पद तर्क उनले गरे ।
जुन राष्ट्रको अहिलेसम्म निश्चित वैदेशिक नीति छैन, जुन राष्ट्रको एउटै दलभित्र पनि छिमेकी राष्ट्रलाई हेर्ने फरक फरक दृष्टिकोण छन्, त्यस्तो राष्ट्रका नेताले भारत र चीनको सम्बन्धलाई बलियो बनाइदिने कुरामा कत्तिको विश्वसनीय होला ? केही गरी ‘त्रिदेशीय साझ्ेदारी’ नै बन्यो भने पनि त्यसको नेतृत्व नेपालले गर्न सक्ने अवस्था रहँदैन ।
अर्कोतिर माओवादी जनयुद्ध, विस्तार र त्यसले स्थापना गर्न खोजेको वर्तमान उद्देश्यसँग चिनियाँ नेतृत्व बेखबर छैन । वर्गीय मुद्दाबाट स्खलित हुँदै गएको एमाओवादी नेतृत्व र त्यसको जातिवादी रुझनसँग एकाकार बन्दै गएको छिमेकी भारतको नेपाल नीतिले चीनलाई अप्रभावित रहन दिएको छैन भन्ने प्रमाण नेपालमा बढिरहेको चिनियाँ सक्रियता हो ।
आवरणमा हेर्दा दाहालको भ्रमणलाई चीनले महŒव दिएको जस्तो देखिए पनि त्यसले कुनै उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने छैन । यसै पनि दाहालले चीन भ्रमणको मुख्य उद्देश्य राजनीतिको साटो आर्थिक बनाएका छन् ।
दाहालले प्रधानमन्त्री हुँदा पनि चीनबाट ज्यादै ठूलो आर्थिक सहयोग आउने घोषणा गरेकै थिए । तर उनले दाबी गरे अनुसार आर्थिक योजना र सहयोग आएको थिएन । किनकि दाहालको नेतृत्व अपारदर्शी रहेको कथित लुम्बिनी विकासको लागि उनले गरेका क्रियाकलापहरू, चिनियाँ व्यापारीसँगको टेप प्रकरण र मुलुकमा बनेको दाहालको आर्थिक अनियमितताको छविप्रति चिनियाँ नेतृत्व पनि बेखबर छैन । त्यसकारण भ्रमणको मान राख्न चीनले कुनै एउटा सेवा क्षेत्रमा लगानी गरे पनि दाहालले दाबी गरे जस्तो ठूलो आर्थिक प्याकेजप्रति चिनियाँ चासो देखिन्न ।
संक्रमणकालको अस्थिर राजनीति र त्यसलाई जातीय द्वन्द्वमा धकेल्न खोज्ने एमाओवादी÷मधेशवादी नेतृत्वलाई साथ दिने भारत र पश्चिमाहरूको प्रभाव कम गर्न खोज्नु चिनियाँहरूको अहिलेको मुख्य चासो हो । औपचारिकताको लागि घोषणा गरिने आर्थिक प्याकेज तपसिल मात्र हो ।
भ्रमण र परिणाम
पृथ्वीनारायण शाहकालपछि ‘जनयुद्ध’ले ल्याएको ‘हलचल’लाई ‘ज्यादै ठूलो माक्र्सवादी परिवर्तन’ मान्ने दाहाल र बाबुरामको भनाइको एउटै आशय देखिन्छ– आफैंलाई पृथ्वीनारायण शाहपछिको स्वघोषित नायक ठान्नु ।
तर, यी दुवै ‘नायक’को दाबी एकअर्काको स्वार्थसँग बाझ्न्छिन् । पृथ्वीनारायण शाहले गोरखाबाट आरम्भ गरेको एकीकरणलाई गोरखाकै बाबुरामले राष्ट्रिय विखण्डनको ‘नायकत्व’लिन भारतको विश्वासिलो देखिन खोज्ने प्रवृत्तिलाई जवाफ दिन दाहालले चीन भ्रमणको उपयोग गर्नेछन् । दाहालले यो चीन भ्रमण बाबुरामलाई साइजमा राख्ने हतियार बनाउन खोज्नेछन् ।
शरीरले धान्न नसक्ने माला लगाएर उत्सवको झ्लक दिन खोजे पनि आफ्नो नेतृत्व असाधारण रूपले स्खलित भइसकेको तथ्य दाहालले पनि नबुझेका होइनन् । त्यही भएर अहिले उनी चीनको ‘विश्वसनीयता’लाई भजाउँदै भारतको आशीर्वाद प्राप्त गर्न लागेका हुन् । दाहालले भारत र चीनलाई दिन खोजेको सन्देश नेपालको राजनीतिलाई सम्हाल्न सक्ने व्यक्ति आफूबाहेक कोही छैन भन्ने नै हो ।
अब उनी भारत पनि यही सन्देशसहित जान चाहन्छन् र त्यहाँका प्रधानमन्त्रीको आशीर्वाद पनि प्राप्त गर्न चाहन्छन् । तर, बाबुरामसँग आत्मसमर्पण गरेका दाहालको राजनीति पछिल्लो समय बाबुरामको इशारामा चलिरहेको छ । तैपनि दाहालले आफ्नो राजनीतिक भविष्य बचाउन बाबुरामलाई सरकारमा राख्न चाहेनन् । त्यो बुझेकाका बाबुरामले पनि भारतसँग दाहालको सम्बन्ध सकारात्मक बन्न दिने छैनन् । चिनियाँ नेतृत्वले एमाओवादीभित्रको यो स्थितिलाई बुझेको छ र उपयोग गर्न पनि खोजेको छ ।
दाहालले अझै पनि आफूलाई राष्ट्रवादी प्रमाणित गर्न र चीन र भारतलाई झुक्याउन सक्ने ठाने पनि उनी सफल हुने छैनन् । उनले अहिले भ्रमण गर्न चाहेको भारत हो, चीन होइन भन्ने रहस्योद्घाटन हुनासाथ दाहालको चीन भ्रमणले उल्टो प्रतिक्रिया दिन थाल्नेछ । तर त्यसको लागि हामीले उनको भारत भ्रमणसम्म भने कुर्नै पर्नेछ ।