ब्लगसोमबार, बैशाख ९, २०७०
अझै पनि बोक्सी !
नयाँ वर्ष २०७० शुरू हुनु केही दिनअघि सुदूरपश्चिमको वेलादेवीपुर–८ कैलालीमा मानव सभ्यताकै खिल्ली उडाउने गरी एक वृद्धालाई बोक्सीको आरोपमा दुव्र्यवहार गरियो । सुतिरहेका ठाउँबाट एकाबिहानै लछारपछार पार्दै आँगनमा ल्याएर लुगा, गहना सबै फुकाई आगोमा जलाइयो ।
निर्वस्त्र अवस्थामै ब्लेडले कपाल खौरिएर शौचालयबाट बाल्टीमा दिसा ल्याएर मुखमा कोच्याइयो । कुटेर भुईंमा बजार्दै गुप्ताङ्गमा लट्ठी घुसाएर उनलाई चरम यातना दिइयो । आधुनिक मानव समाज पाशविक बन्दै गएको यो घटनाले संकेत गर्दछ । हुन त यस्तो पाशविक आक्रमण भएको यो पहिलो घटना भने होइन ।
यसअघि चितवनमा एउटी विधवालाई जिउँदै जलाएर हत्या गरिएको थियो भने राजधानीमै एक विधवामाथि अत्यन्त क्रूर ढंगबाट आक्रमण गरी आँखा समेत फोडिएको थियो । यस्ता घटनाले १६औं र १७औं शताब्दीमा विश्वमा महिलाहरूलाई बोक्सीको आरोपमा दिइने यातनाको पुनः स्मरण गराएको छ ।
शताब्दीऔं पहिले विश्वका धेरै मुलुकका जनता बोक्सीमा विश्वास गर्थे । बोक्सीले शैतानलाई आत्मा बेचेको हुन्छ र त्यसको बदलामा शैतानसित उनीहरूले आम मान्छेमा नहुने अद्भुत शक्ति पाएका हुन्छन् । यस्तो शक्तिको माध्यमबाट उनीहरू शत्रु र मन नपर्ने मान्छेलाई दुःख दिने तथा उनीहरूका वस्तुभाउ, बालबच्चा र परिवारका सदस्यलाई बिरामी पार्ने र ज्यानैसमेत लिन्छ भन्नेमा विश्वास गरिन्थ्यो ।
बन्द कोठाभित्र बोक्सी छिर्न सक्ने, आफ्नो रूप जनावरमा परिणत गर्न सक्ने र कुचामाथि चढेर उड्न सक्ने जस्ता कुरामा उनीहरू विश्वास गर्थे । आम मानिसको बुझइमा बोक्सी भनेको अधिकांश वृद्ध, विधवा र एकल हुन् । परिवारसित बस्ने महिलाको पछि सधैं बिरालो लाग्ने र उनको शरीरमा शैतानले निशान बनाएको हुन्छ भन्ने विश्वास गरिन्थ्यो ।
यसैले कुनै महिला बोक्सी भएको शंका लागेमा नाङ्गै पारेर उनको शरीरमा शैतानले छोडेको निशान खोज्ने गरिन्थ्यो । यही अन्धविश्वासमा १६औंदेखि १७औं शताब्दीको अन्त्यसम्म युरोप र अमेरिकामा बोक्सीको आरोपमा जिउँदै जलाएर,झुण्ड्याएर, स्तन र गुप्ताङ्गमा तातो फलामको भाला घोपेर तथा अनेक किसिमले शारीरिक यातना दिएर मारिएका हजारौंमध्ये कम्तीमा १५ प्रतिशत पुरुष थिए ।
सन् १६९२ तिर अमेरिकाको सलेम भन्ने गाउँमा कुकुरले जस्तो भुक्दै अनौठो व्यवहार गरेका केही केटीलाई अरूले बोक्सी लगाइएको बके । छिटो फैलिएको यो मास हिस्टेरिया ८ महिनासम्म जारी रह्यो । यस अवधिमा सयौंलाई जेल पठाइयो भने कैयौंलाई मृत्युदण्ड । तर १७औं शताब्दीको अन्त्यतिर धेरै बुद्धिजीवीले बोक्सी विद्या जस्ता कुनै विद्या हुँदै नभएकोले शंका गर्न थालेपछि कानूनले यसलाई अपराध मानेर सजाय दिन रोक लगाए ।
तर दुर्भाग्य, नेपाललगायत दक्षिण एशिया, अफ्रिकामा यो अन्धविश्वास कायमै छ । अझै पनि अफ्रिकामा सीमान्तकृत र गरीब वृद्धालाई बोक्सीको आरोपमा मारिन्छ । एक तथ्याङ्क अनुसार ताञ्जानियामा बोक्सीको आरोपमा वर्षेनि ६०० जना मारिने गरेका छन् ।
सन् २००५ देखि २०११ सम्ममा त्यहाँ राता आँखा भएका तीनहजार वृद्धाहरू बोक्सीको आरोपमा मारिएका थिए । छिमेकी भारतको अवस्था पनि नाजुकै छ । प्रहरी रिपोर्ट अनुसार इष्टइण्डियामा मात्र २००१ देखि २००६ को बीचमा ७०० जना महिला बोक्सीको आरोपमा मारिए, जुन वास्तविकता भन्दा धेरै न्यून भएको बताइन्छ ।
ढिलो नगरौं
हुन त मुलुकी ऐनमा बोक्सो-बोक्सीको आरोपमा हुने दुव्र्यवहारमा संलग्नमाथि कारबाहीको व्यवस्था गरिएको छ । मुलुकी ऐनमा भनिएको छ, “कसैले कसैलाई बोक्सोबोक्सीको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा कुनै अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा यातना दिने काम गरेमा तीन महीनादेखि दुई वर्षसम्म कैद वा रु.५ हजारदेखि रु.२५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।”
मुलुकी ऐनमा उल्लेख गरिएको यस किसिमको दण्ड–सजाय सम्बन्धी व्यवस्था पढेरै उदेक लागेको छ । जबकि बोक्सीको आरोपमा एकजना निर्दोष व्यक्तिले अनाहकमा यति ठूलो यातना पाएको छ ।
जसका कारण पीडित एकजना व्यक्ति मात्र नभई सिङ्गो परिवार नै समाजबाट अपहेलित र बहिष्कृत हुनु परेको छ । यस्तो अवस्थामा के यति सजाय नै पर्याप्त छ त अपराधीलाई ? यसबारे जनता र सिङ्गो मुलुकको भविष्यको जिम्मा लिएका राजनेताले कहिले सोच्ने होलान् ?