व्यक्तित्वबुधबार, बैशाख ११, २०७०
सराहनीय उडान

बुद्ध एअरका प्रमुख वीरेन्द्रबहादुर बस्नेत, जमिन धितो राखेर ३६ प्रतिशत व्याजमा रु.३६ लाख ऋण लिएर शुरू भएको यो कम्पनीको सम्पत्ति अहिले रु.८ अर्बभन्दा धेरै पुगेको छ भने वार्षिक कारोबार मात्रै रु.४ अर्ब छ । उसले ७५० जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ । तस्बीरः विक्रम राई/हिमालखबर
२५ असोज २०५४ मा १८ सीटे एउटा ‘बी १९०० डी’ जहाजबाट उडान सेवा शुरू गरेको बुद्ध एअरसँग अहिले तीन वटा १६ सीटे, तीन वटा ४२ सीटे र तीन वटा नै ७२ सीटे गरी ९ जहाज छन् । जमिन धितो राखेर ३६ प्रतिशत व्याजमा रु.३६ लाख ऋण लिएर शुरू भएको यो कम्पनीको सम्पत्ति अहिले रु.८ अर्बभन्दा धेरै पुगेको छ भने वार्षिक कारोबार मात्रै रु.४ अर्ब छ । उसले ७५० जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ ।
निजी क्षेत्रबाट नेपाली हवाई सेवा क्षेत्रलाई डेढ दशकमै यो आकारमा फैलाउन सफल बुद्ध एअरका प्रमुख वीरेन्द्रबहादुर बस्नेत (४८) का उपलब्धि अरू पनि धेरै छन् । मोरङमा जन्मेका उनले गृहजिल्लासहित सुनसरी र झपाको कृषिमा यान्त्रिकीकरण अभियान चलाएका छन्, जसमा १० हजार बिघा जमिन जोत्ने किसानहरूको ५० सहकारी २०७० सम्ममा सहभागी हुनेछन् । उनको त्यो अभियानले ती जिल्लामा चुपचाप कृषि क्रान्ति नै चलाएको मानिएको छ ।
पूर्व मन्त्री सुरेन्द्रबहादुर बस्नेतका छोरा वीरेन्द्रको बुबामा जस्तै कृषिमा रुचि थियो । त्यही भएर भारतको बनारसमा अध्ययन गर्दा उनले कलकत्ता गएर माछाका भुरा उत्पादन सम्बन्धी तालीम पनि लिए । बुबा चाहिं २०४२ को त्यो बेला मोरङको डागीहाटमा आधुनिक प्रविधि अपनाएर खेती गर्दैथिए । भारतबाट फर्केपछि वीरेन्द्र पनि माछा खेतीमा लागे । जुन बेला उनले ५६ पोखरी खनेर वर्षमा ६० लाख भुरा बिक्री गरे ।
स्नातकोत्तर पढ्न काठमाडौं आएपछि भने उनी गाउँ फर्केनन् । त्यसपछि लामो व्यावसायिक फड्को हानेका वीरेन्द्र भन्छन्, “चुस्त व्यवस्थापन, कडा मिहिनेत र धैर्यले म र बुद्ध एअरलाई यहाँसम्म पुरयाएको हो ।” २०४६ को राजनीतिक परिवर्तनपछि नियन्त्रित ‘लाइसेन्स सिस्टम’ र ब्याङ्किङ असुविधा हटेर व्यवसाय गर्न सहज भए पनि राजनीतिक अस्थिरता बाँकी रहँदा निजी क्षेत्रले क्षमता अनुसार प्रगति गर्न नसकेको बताउने वीरेन्द्र भन्छन्, “चुनाव हुने र राजनीतिक अस्थिरता समाप्त हुने हो भने बुद्ध एअरले छिट्टै अन्तर्राष्ट्रिय उडान पनि शुरू गर्नेछ ।”
-डम्बरकृष्ण श्रेष्ठ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
