रमझमआइतबार, बैशाख १५, २०७०
पौभामा प्रयोग
थाङ्का, पौभा जस्ता परम्परागत चित्रकलाको क्षेत्रमा काम गर्ने कलाकारको संख्या घट्दो छ । आधुनिक कला पढेका रानीबारी काठमाडौंका समुन्द्रमान सिंह श्रेष्ठ (३३) भने पौभामा जमेका छन् ।
बौद्धमार्गीहरूको परम्परागत कला अन्तर्गतको पौभामा उनका सिर्जनाहरू उच्चस्तरका मानिएका छन् । “पौभामा १५औं र २०औं शताब्दीको सिर्जना एउटै भए” यी प्रयोगधर्मी कलाकार भन्छन्, “मैले यसमा नयाँपन दिन खोजेको छु, जुन सर्वस्वीकृत भएको छ ।”
नेवारी समुदायको चित्रकार र त्यसमा पनि पाकाहरूको कला मानिन्छ पौभा कलालाई । समुन्द्रले भने यसमा नयाँ शैली र आयाम थपेका छन् । ललितकलाको चित्रकलामा स्नातक उनी पौभामा समयको छाप अत्यावश्यक भएको बताउँछन्, जसले यसलाई अझ् लोकप्रिय बनाउन सघाओस् ।
उनी भन्छन्, “संसारका अरू उन्नत मुलुकजस्तै नेपाल परिवर्तनशील छ भने यसको धर्म, संस्कृति र कला पनि जड भएर बस्न सक्दैन ।”
विदेशमा नेपाली पेन्टिङ भन्नासाथ कि थाङ्का कि त पौभा बुझिन्छ । तर, नेपालमा यी परम्परागत कलाको अभ्यास हराउँदै गएको छ । यो कुराले छोएर पनि यसमा हात बसाएका समुन्द्रमान पौभाकै माध्यमबाट जापान, बेलायत, अमेरिका र चीनसम्मका कला पारखीबीच परिचित भइसकेका छन् ।
उनी महँगा कलाकार मानिन्छन् । गत वर्ष उनको पेन्टिङ बज्रपानी भैरव रु.८ लाखमा बिक्री भयो । जसलाई काठमाडौंकै बोधिसत्व आर्ट ग्यालरीका पूर्णमान शाक्यले किनेका थिए ।
उनका चित्रहरू फूल टिपाइ भएका छन् । यही कारण, यत्रो वर्ष काम गरे पनि धेरै पेन्टिङ नहुँदा समुन्द्रले एकल प्रदर्शनी गर्न सकेका छैनन् ।
१५ वैशाखको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
