टिप्पणीसोमबार, बैशाख १६, २०७०
जात होइन कर्म
युनिभर्सिटी अफ वाशिङ्गटन कमन ल्याङ्गवेज प्रोगामको अनुमान अनुसार सन् २०२५ सम्ममा चीनमा अंगे्रजी बोल्नेको संख्या संसारमा पहिलो भाषाको रूपमा अंग्रेजी बोल्नेहरूको भन्दा बढी हुनेछ । चीनमा अंगे्रजी मातृभाषी कम्पनीहरू ओइरिइरहेकाले यसमा विश्वव्यापीकरण, समयको आवश्यकता र उपयोगिताको सिद्धान्त लागू भएको छ ।
आफ्ना मूल्यमान्यतामा जति कट्टर भए पनि अमेरिकी कम्पनीका लागि आइफोन र आइप्याड बनाउन जान्ने पुस्ता तयार हुनु चिनियाँहरूले गर्व गर्ने विषय हो । यी र यस्तै कारणले चीन आज विश्वको एउटा प्रभावशाली राष्ट्रको रूपमा उभिएको छ ।
धार्मिक वा भौगोलिक पहिचानका हिसाबले तिब्बत संसारकै नमूना हो, तर विकासका दृष्टिले त्यस्तो हुनसकेको छैन । जम्मा आठ प्रतिशत मातृभाषी भएको उर्दू पाकिस्तानको आधिकारिक भाषा हो । त्यहाँ करीब ४५ प्रतिशत पञ्जाबीभाषी छन्, तर उर्दूपछि अंग्रेजी सरकारी कामकाजको भाषा छ ।
जातीय, क्षेत्रीय वा भाषिक पहिचान गर्व र आत्मरतिका विषय हुन्, विकासको अकाट्य आधार होइनन् । जातीय र क्षेत्रीय धार मात्रै समातेर बसेको भए आजको काठमाडौं खोकना जस्तै हुन्थ्यो, आधुनिक चकाचौंधसहितको कस्मोपोलिटन शहर बन्दैनथ्यो; नाम्चे र खुम्बू उपल्लो डोल्पा जस्तो मात्रै हुन्थे, हरेक घरका छोराछोरी विदेशमा पढ्ने हैसियत राख्ने थलो बन्दैनथे ।
व्यक्तिगत पहिचान महŒवपूर्ण विषय हो । जात र थर त श्राद्ध गरेजस्तो मात्रै हुन्, जसको कुनै विज्ञानसम्मत तुक छैन । हामी स्वीट्जरल्याण्ड बन्न खोज्दैछौं, तर ठेकी र मदानीमा गर्व गरेर ।
सत्य र तथ्य सरल छन्, तर नेपालमा यसलाई जटिल र बंग्याइएको छ । आफ्नोप्रति मोह हुनु स्वाभाविक हो । तर अंगे्रजी भाषा मात्र होइन, अब चिनियाँ र स्पेनिस भाषा सिक्दा जति बिकाउ भइन्छ, एक–दुई प्रतिशतले बोल्ने भाषा नै मेरो पहिचान भन्ने अड्डीले बजार भेटिंदैन ।
उदारताकै कारण, अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएको हो । नेपालका केही जातिवादीको बुझइ अनुसार संस्कृत बाहुनको भाषा हो भन्नेजस्तो कट्टरता साँधेको भए अंग्रेजीमा संस्कृतका शब्दले स्थान पाउँदैनथे ।
व्यर्थको बहस
नेपालको जातीय, क्षेत्रीय र भाषिक बहसमा विना अध्ययन लहडका भरमा विरोधाभास खडा गरिंदैछ । यसो गर्नेमा हिजो सत्ताको वरिपरि बसेर सामान्य जनताका लागि सिन्को नभाँच्ने, बाँचुञ्जेल पुनः सत्तामा रमाउन चाहने र आफ्नो शक्ति गुम्ने डर पाल्ने ४५ नाघेका व्यक्तिहरू छन् । आफ्नो क्षमतामा विश्वास नभएकाहरू यस्तै कमजोर विषय पक्रेर चर्का नारा लगाउँछन् । यिनलाई बिर्सने हो भने नेपालमा जातीय बहस यति ठूलो विषय हुँदै होइन ।
नेपालमा पहिचानको बहस भइरहँदा स्पष्ट नपारिएको प्रश्न यो आत्मरतिका लागि हो कि प्रगतिका लागि भन्ने हो । आत्मरतिका लागि हो भने आज लगाइएका नारा ठीकै होलान्, तर प्रगतिका लागि सान्दर्भिक छैनन् । नेपालमा चर्काइएको नाराले कुन व्यक्ति कुन जातको भन्नेमा चासो राख्छ, उसले के जान्दछ भन्नेमा होइन । दाँज्ने कुरा त होइन, तर यहाँनेर सान्दर्भिक हुनसक्छ— अमेरिकी पहिचान ।
अमेरिकीहरू नौलो व्यक्तिलाई ऊ के हो भनेर सोध्दैनन्; उसको सीप, क्षमता वा कलाबारे जिज्ञासु हुन्छन् र त्यस हिसाबले उपयोगी व्यक्तिलाई तुरुन्तै स्वागत गर्छन् । यसो गर्दा उनीहरू आफ्नो पहिचानमा ठेस पुगेको ठान्दैनन् । धार्मिक र जातीय पहिचानको होइन, व्यक्तिगत विचार र क्षमताको सम्मान अमेरिकीहरूको पहिचान हो । यसैले आज अमेरिकीको कुनै एउटै तस्वीर भेटिंदैन ।
नेपालमा चाहिएको एउटा कुरा छ, तर खोजी र बहस अर्कैतिर गएको छ । हामीलाई चाहिएको जातको होइन, कर्मको पहिचान हो; सडक र अस्पताल, विद्यालय र बत्ती, प्रविधि र सीप हो । विल गेट्स जहाँका भए पनि माइक्रोसफ्ट उनको पहिचान हो । स्टिभ जब्स कहाँका हुन् कमैलाई थाहा होला, तर आइफोन चिन्ने कति छन् कति ।
आजका किशोर–किशोरीहरू भावनाको संसारमा होइन, यथार्थ धरातलमा हिंड्न चाहन्छन् । कुन थरको वा कुन क्षेत्रको मान्छेले मातृभाषामा चर्को भाषण गर्यो भन्दा पनि कस्तो आइफोन वा कस्तो टेब्ल्वायड आयो भन्नेमा उनीहरूको चासो बढी देखिन्छ ।
राजनीतिक नेतृत्वले आउने पुस्तालाई जातीयता र क्षेत्रीयताको बोझिलो भारी होइन, सीप र दक्षताको सरल बाटो देखाइदिनुपर्दछ । बाँचुन्जेल फेरि पनि जातका नाममा राज गर्ने सपना देखेका ४५ कटेकाहरू टेब्ल्वायड जमानाका पुस्ताको विचारका निर्णायक हुन सक्दैनन्, भोलिको देश र समाज कस्तो बनाउने भन्ने निर्णयको अधिकार त्यही पुस्ताको हुनुपर्छ ।
साप्ताहिक हिमाल खबरपत्रिकाबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
