समाचारबुधबार, बैशाख १८, २०७०

रामानन्द चोक विष्फोटको एक वर्ष, मुख्य अपराधी अझै बाहिर

हिमालखबर

जनकपुर विष्फोटमा ज्यान गुमाउनेहरु क्रमश: रञ्जु झा, सुरेश उपाध्याय, विमलशरण दास, झगरु मण्डल

१८ बैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै संघर्ष समितिले दिएको धर्नामा भएको नरसंहारको एकवर्ष बितिसक्दा पनि घटनाका नाइकेहरु कानूनी दायरामा आउन नसक्दा मृतकका परिवार र अड्डभड्ड भएका घाइतेहरुले असन्तुष्टि जनाएका छन् ।

उक्त घटनामा गायिका एवम् रंगमञ्च कलाकार रञ्जु झासाथै बिमलशरण दास, सुरेश उपाध्याय, झगरु दास र दिपेन्द्र साहको निधन भएको थियो । राज्यले तत्कालै मृतकहरुलाई शहीद घोषणा गरी प्रहरी नायब महानिरिक्षक उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा ३ सदस्यीय छानबीन टोलि गठन गरेर झारा टार्ने काम गर्‍यो तर अनुसन्धानले पूर्णता पाउन सकेन ।

उक्त घटनाका मुख्य अपराधीहरुलाई विभिन्न शक्ति केन्द्रहरुको दबाबमा राज्यले नै संरक्षण गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन् । स्वयं प्रहरी अधिकृतहरु समेत अनुसन्धानको परिणामबाट सन्तुष्ट छैनन् । घटनाको अनुसन्धानको लागि जनकपुर आएको टोलीका सदस्य समेत रहेका प्रहरी निरिक्षक गोविन्द पुरी भन्छन्, “प्रमुख अभियुक्त अझै फरार रहेकोले अनुसन्धानले पूर्णता पाउन सकेको छैन् ।”

घटनाको जिम्मेवारी लिएका तराईमा सशस्त्र हिंसा गरिरहेका राजन मुक्ति र मुकेश चौधरी फरार छन् । एउटा घटनाका लागि दुई फरक समूहका नाइकेहरुले जिम्मेवारी लिनुले पनि घटनाको मुख्य नाइके अरु नै भएको अनुमानलाई बल पु¥याएको छ । जिम्मेवारी लिनेहरु अरु कसैको मोहरा भएको स्थानीय व्यक्तिहरु बताउँछन् ।

संघर्ष समितिका सक्रिय सदस्य एवम् मिथिला नाट्य कला परिषद्का अध्यक्ष सुनिल मल्लिक मुकेश चौधरी र राजन मुक्ति पक्राउ परे पनि अनुसन्धान पूरा नहुने बताउँछन् ।

प्रहरीको अनुसन्धान टोलीले घटनामा राजनीतिक संलग्नता रहेको स्वीकार गरिसकेपछि घटनाका प्रमुख योजनाकार सार्वजनिक भएर कानूनी दायरामा नआईञ्जेल अनुसन्धानले पूर्णता पाउनै नसक्ने मल्लिकको भनाई छ ।

घटनाका घाईतेहरु भने संघर्ष समितिले दोषिलाई कारवाहीको दायरमा ल्याउन कडा आन्दोलन गर्नु पर्ने बताउँछन् । उनीहरु मिथिला राज्यको माग समेत ओझेलमा परेको भन्दै गुनासो गर्छन् ।

घटनाको अनुसन्धान र दोषिलाई कार्वाहीका लागि राजनीतिक दलहरुको सहयोग नहुँदा पनि दोषिलाई कानूनी दायरमा ल्याउन नसकिएको मल्लिकको भनाई छ ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>