ब्लगबुधबार, बैशाख १८, २०७०

गोर्खापत्रमा सिनेमा

दीपक अर्याल

२४ वैशाख १९५८ मा शुरू भएको गोर्खापत्र को पहिलो अंकमा नै चलचित्र सम्बन्धी सूचना छ।
‘श्री ३ महाराज बाट बेदाम्मा दुनिञा हरूले हेर्न पाउन् भनी टुडिखेल मा प्रोजेक्टास्कोप् अर्थात् मानिस ले चलफिर गर्‍ये को सब काम तसवीर बाट सोही बमोजीम दुरूस्त देखिन्या तमासा वैशाख गते २६ वुधवार देखि हुनेछ । सो तमाशा हेर्न लाई अगाडि केटा केटि हरू, ताहाँपछि नीज केटा केटी हरू का आमा हरू, वाहाँपछि लोग्ने मानिस हरू वाहाँ पछि वग्गी मा आउने हरू अरू लाई नछेकने गरी रहने छन् ।’

गोर्खापत्र मा प्रकाशित यो सूचनाले नेपालमा ‘बाइस्कोप’ वा ‘सिनेमा’ वा ‘मूभी’ कहिले भित्रियो भन्ने आधिकारिक जानकारी दिन्छ । त्यो कति लामो वा के विषयमा थियो भन्ने विवरण नभए पनि त्यसपछिका वर्षमा दरबारमा यस्ता फिल्महरू हेर्ने र विभिन्न उत्सवलाई क्यामेराले खिच्ने चलन बसेको भन्न सकिन्छ ।

जोसेफ निप्से, लुइ डेगोरालगायतका फोटोग्राफी र फिल्मका उत्साही अनुसन्धाता–प्रयोगकर्ताहरूको अन्वेषणसँगै नेपालमा पनि यो प्रविधि लोकप्रिय हुँदै गयो ।

फिल्मको जन्म

सन् १८२४ मा पिट् मार्क रोगटले ‘फोटोहरूलाई नै छिटो–छिटो घुमायो भने वास्तवमै चलिरहेको (मूभ) भ्रम दिन सक्छ’ भन्ने धारणा राखेपछि ‘मूभी’का बारे सोच्न र काम गर्न थालियो । सन् १८९५ मा यसै सिद्धान्तमा आधारित रहेर लुमियर दाजुभाइले एउटा कारखानाको तस्वीरहरू खिचेर ‘मूभिङ इमेज’का रूपमा प्रस्तुत गरे ।

शुरूका यस्ता मूभीमा ध्वनि हुँदैनथे । १९२७ मा बनेको ‘द ज्याज् सिंगर’ ध्वनिसहितको पहिलो मूभी हुन पुग्यो। त्यसअघि नै १९१३ मा भारतमा दादा साहेब फाल्केले ‘राजा हरिश्चन्द्र’ नामक अमूक (ध्वनि नभएको) चलचित्र बनाएर एशियामा सिनेमा सम्बन्धी उत्सुकता बढाइसकेका थिए ।

भारतमा ‘राजा हरिश्चन्द्र’ बनेको ३७ वर्षपछि १९५० मा डीबी परियारले त्यही धार्मिक कथामा नेपाली भाषाको चलचित्र ‘सत्य हरिश्चन्द्र’ बनाए । कलकत्तामा त्यो चलचित्र बनाउन उनलाई सघाउनेमा ठाकुरप्रसाद, पीके बनर्जी र हरिप्रसाद मुखर्जी थिए ।

यसको सफलताबाट उत्साही परियारले सन् १९५१ मा ‘नेपाली फिल्म कम्पनी’ खोलेर पाँच वटा फिल्मका लागि आवश्यक लगानीकर्ता खोजेका थिए ।

यसका लागि परियारको कम्पनीले प्रभात साहित्यिक मासिकको १९५१ मार्च अङ्कमा ‘नयाँ युगको सबभन्दा ठूलो खबर, नेपाली जनताले गर्व गर्नुपर्ने कुरा’ भन्दै विज्ञापन छापेको थियो ।

कम्पनीले नेपाली र हिन्दी भाषामा ‘श्री मंगलको सारंगी’ (सामाजिक), ‘नल दमयन्ती’ (ऐतिहासिक), ‘धर्मको बाटो’ (सामाजिक), ‘सीता वनवास’ (धार्मिक) र ‘सावित्री सत्यवान’ (धार्मिक) गरी पाँच वटा फिल्म निर्माण हुन लागेको जनाएको थियो ।

विज्ञापनमा प्रत्येक फिल्म एक लाखमा तयार हुने जानकारी दिंदै रु.२१ हजार लगानी गर्ने प्रत्येकले चलचित्र बनेको ५/६ महीनाभित्र रु.५ हजार नाफा कमाउने भएकाले यस काममा लगानी गर्न आह्वान गरिएको थियो ।

‘९/१ ए. जस्टिस चन्द्र माधव रोड, कलकत्ता–२०’ ठेगाना रहेको ‘नेपाल फिल्म कम्पनी’ले व्यवसायमा लगानीका लागि दिएको यो विज्ञापनले प्रत्यक्षतः त्यति काम नगरेको देखिए पनि नेपाल र नेपाल बाहिरबाट नेपाली भाषाका फिल्महरूको विकासमा लगानी अवधारणाको विकास गरेको देखाउँछ ।

नेपाली फिल्मको विकास तथा विस्तारमा डीबी परियार पछि हीरासिंह खत्रीले महत्वपूर्ण योगदान पुर्‍याए । तर, भारतमा भन्दा जम्मा ३७ वर्षपछि फिल्म बन्न शुरू गरेको नेपाली सिने क्षेत्रले अझै पनि उद्योगको दर्जा नपाएको स्थिति छ ।

१५ वैशाखको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>