रिपोर्टबिहीबार, बैशाख १९, २०७०

ए–लेभल: अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

हिमालखबर

– रामजी दाहाल

एसएलसी परीक्षा दिएपछि ए–लेभलको राम्रो पढाइ हुने कलेज खोज्न कीर्तिपुरका सुमन पोखरेल पत्रपत्रिकाका विज्ञापन हेर्दै झ्ण्डै एक दर्जन कलेज पुगिसके। अघिल्लो वर्षको रिजल्ट, पढाउने शिक्षक र कलेजको वातावरण बुझेर मात्र कुन कलेज पढ्ने निधो गर्ने उनको विचार छ।

एसएलसी दिएका सयौं विद्यार्थी अहिले सुमन जस्तै ए–लेभलको राम्रो पढाइ हुने कलेजको खोजीमा छन्। राम्रो ग्रेड ल्याएर ए–लेभल पूरा गर्दा उच्च शिक्षाका लागि विदेश जान सजिलो हुने बुझाइ विद्यार्थी र अभिभावकमा रहेकोले यो नयाँ प्रकारको शिक्षाको आकर्षण बढेको हो।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) कार्यक्रम अन्तर्गत सञ्चालित ए–लेभलको नेपालमा सम्पूर्ण कार्यक्रम हेर्ने जिम्मा ब्रिटिश काउन्सिलले पाएको छ। एसएलसीपछि दश जोड दुई जस्तै दुईवर्षे कोर्ष हो, यो। २७ वर्षअघि नेपालमा अन्तर्राष्ट्रिय स्तरको यो कोर्ष शुरू भएपछि संसारका सबै ख्यातिप्राप्त विश्वविद्यालयले मान्यता दिएको यो पाठ्यक्रम पढ्न विदेश जानु नपर्ने भएको हो।

बढ्दो आकर्षण

विश्वव्यापी प्रतिस्पर्धा गर्न सजिलो हुने भएकाले युवाहरूमा ए–लेभलको आकर्षण बढेको हो। यो पढेपछि विदेश जान सजिलो हुने युवाहरूको बुझ्ाइ छ भने अभिभावकहरू यो पढाएपछि छोराछोरीको भविष्य सुरक्षित हुने मान्यता राख्छन्। नेपालमा ए–लेभल पूरा गरेकामध्ये ८० प्रतिशत विदेश पढ्न जाने गरेकाले उनीहरूको त्यो धारणा गलत पनि लाग्दैन।

ए–लेभल उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि विदेश जान विद्यार्थीले आईएलटीएस, टोफेल जस्ता परीक्षा दिइरहनुपर्दैन। त्यसमाथि, बेलायत, अस्ट्रेलिया जस्ता देशका विश्वविद्यालयले ए–लेभल गरेकालाई मात्र अन्तर्राष्ट्रियस्तरका विद्यार्थी मान्छ। त्यही भएर केही वर्षअघिसम्म एक हजारको हाराहारीमा विद्यार्थी भर्ना हुने ए–लेभलमा अहिले एक हजार पाँच सयसम्म भर्ना हुने गरेको त्यो पाठ्यक्रम पढाइरहेका कलेजका संचालकहरू बताउँछन्। लिटिल एन्जल्स कलेजका प्रिन्सिपल उमेश श्रेष्ठ भन्छन्, “नाम चलेका विदेशी विश्वविद्यालयमा सजिलै भर्ना पाउने भएकोले ए–लेभलप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो।”

नेपालमा ए–लेभल पढेका विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुनु योप्रति आकर्षण बढ्नुको अर्काे कारण हो। ब्रिटिश काउन्सिलको सन् २०१२ को ए–लेभल परीक्षामा ललितपुरको रातो बङ्गला स्कूलका निरज पराजुली र सोउलराज जोशी गणित विषयमा विश्वकै उत्कृष्ट भए। यसअघि पनि नेपाली विद्यार्थीले यस्तै सफलता पाएका थिए।

सरकारले दश जोड दुई बराबर मान्यता दिए पनि ए–लेभल पूरा गरेको मार्कसिटमा प्रतिशतको साटो ग्रेडिङ हुँदा कैयौं ठाउँमा समस्या परेको बताउँछन्, काठमाडौं विश्वविद्यालय हाईस्कूलका ए–लेभल संयोजक सुशील घिमिरे। सरकारले त्यसबारे प्रष्ट नीति ल्याउँदा मात्र विद्यार्थीले यस्ता समस्याबाट मुक्ति पाउने उनको विचार छ। ए–लेभलमा ‘इ’ ग्रेड पाउनेलाई राम्रो मानिए पनि केही विश्वविद्यालयले त्यसलाई फेल भएको समेत बुझने गरेका छन्। शिक्षा मन्त्रालयको शैक्षिक व्यवस्थापन महाशाखाका तुलसी थपलिया भने ए–लेभलमा देखिएका यी सबै समस्या समाधान गर्न मन्त्रालयले गृहकार्य अघि बढाएको बताउँछन्।

ए–लेभलको अर्को विशेषता भनेको दश जोड दुईले भन्दा बढी पाठ्यक्रम समेट्नु हो। दश जोड दुईमा साइन्स पढ्ने विद्यार्थीले मानविकी वा व्यवस्थापन पढ्न पाउँदैनन् भने ए–लेभलमा समाजशास्त्र र अर्थशास्त्र पढ्नेले पनि फिजिक्स पढ्न पाउँछन्। यसले ए–लेभल पढेका विद्यार्थीलाई अर्काे क्षेत्रमा जाने मौका हुन्छ। पोखराको कसमस कलेजका कार्यकारी निर्देशक तेज गुरुङ भन्छन्, “ए–लेभलका विद्यार्थीले विज्ञान, व्यवस्थापन र मानविकी तीनवटै विषय त पढ्न पाउँछन् नै, माथिल्लो तहमा अर्काे विषय पढ्न सक्छन्।”

व्यावहारिक शिक्षा

ए–लेभल पढाउँदै आएका कलेजका संचालकहरू परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको बताउँछन्। विगत दुई दशकको ए–लेभलका प्रश्नपत्र नदोहोरिनुले घोकेर राम्रो अंक ल्याउन सम्भव नहुने नै देखाउँछ। काठमाडौं विश्वविद्यालय हाईस्कूलको ए–लेभल संयोजक घिमिरे यो पाठ्यक्रम पढेका विद्यार्थीमा कुनै पनि समस्यासँग सीधै जुध्न सक्ने क्षमता विकास हुने बताउँछन्। यो शिक्षामा लिखित, मौखिक, प्रयोगात्मक र प्रोजेक्ट वर्कका आधारमा विद्यार्थीको मूल्यांकन गरिने हुँदा एकदिने जाँच विधिले भन्दा राम्रो मूल्याङ्कन हुन्छ। ए–लेभल पढ्ने विद्यार्थीको अंग्रेजी राम्रो हुनै पर्ने भए पनि कलेज सञ्चालकहरू त्यसले मात्र विद्यार्थीको रिजल्टमा असर नपार्ने बताउँछन्।

साइपाल एकेडेमीका लक्ष्मण गुरुङ क्याम्ब्रिजले विद्यार्थीको अंग्रेजी कति स्तरीय छ, कति विश्लेषण गर्न सक्छ र कति वाद–प्रतिवाद गर्न सक्छ भन्ने हेर्ने र सम्भावना भएका मध्यमस्तरका विद्यार्थीलाई विकास गर्न सकिने मान्यता राख्ने गरेको जानकारी दिन्छन्। मल्पी इन्टरनेशनल कलेजका सुशान्त त्रिपाठी पनि साधारण स्कूलका कतिपय विद्यार्थीको रिजल्ट निकै राम्रो आएको बताउँछन्। उनी भन्छन्, “तर, अंग्रेजीमा विश्लेषण गर्ने क्षमता भने हुनैपर्छ।”

ए–लेभल शिक्षा सर्वसाधारणका लागि भने निकै महँगो छ। जसलाई कलेजका संचालक पनि अस्वीकार गर्दैनन्। लिटिल एन्जल्सका प्रिन्सिपल श्रेष्ठ भन्छन्, “यो शिक्षा सर्वसाधारणका लागि हुँदै होइन।” स्तरीय शिक्षक पाउनै गाह्रो हुने र पाए पनि बढी पारिश्रमिक दिनुपर्ने भएकाले यो शिक्षा महँगो भएको उनको भनाइ छ। तर बेलायतमा करीब रु.३० लाख खर्च लाग्ने यो कोर्ष नेपालमा भने रु.२ लाखको हाराहारीमै पूरा हुन्छ। जसलाई पोखराको नोवेल एकेडेमीका प्रमुख कार्यकारी विशेश्वर आचार्य नेपाली विद्यार्थीले पाएको ठूलो अवसर मान्छन्।

ए–लेभलका लागि कलेज अनुसार मासिक रु.५ हजारदेखि रु.२० हजार लाग्छ। भर्ना रु.५८ हजारदेखि रु.९६ हजारसम्म लाग्छ भने परीक्षा शुल्क रु.३५ हजारसम्म। रातो बंगला स्कूलकी रजनी उपाध्याय कलेजले दिने सुविधाले शुल्क फरक पर्ने बताउँछिन्। उनको भनाइमा शुल्क कम लिएर आंशिक शिक्षकका भरमा कलेज चलाउनुभन्दा केही बढी शुल्क लिएर विद्यार्थीलाई पर्याप्त समय दिनसक्ने तालीमप्राप्त शिक्षक राख्नु राम्रो हो। तर, परीक्षा शुल्क घटाउन केही पहल गर्ने र शिक्षा मन्त्रालयले शैक्षिक शुल्क नलिने हो भने अन्तर्राष्ट्रिय स्तरको यो शिक्षा मध्यमवर्गीय विद्यार्थीको पहुँचमा पुग्नेछ। ब्रिटिश काउन्सिलको नेपालस्थित कार्यालयका कन्ट्री डाइरेक्टर ब्रेण्डन म्याक्सारी अन्तर्राष्ट्रिय परीक्षाको शुल्क नै महँगो भए पनि घटाउन प्रयास गरिरहेको बताउँछन्।

के हो ए–लेभल?

बेलायतको विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) कार्यक्रम अन्तर्गत संचालित शैक्षिक कार्यक्रम हो ए–लेभल शिक्षा। आधुनिक युवापुस्ता र कलेजको आवश्यकतालाई ध्यानमा राखेर शुरू गरिएको ए–लेभलको पढाइ विश्वका १८० देशमा हुन्छ। ए–लेभल १६ देखि १८ वर्षसम्मका विद्यार्थीका लागि तयार पारिएको उच्च माध्यमिक शिक्षाको पाठ्यक्रम हो।

२८ वर्षअघि बूढानीलकण्ठ स्कूलले सात जना विद्यार्थीबाट नेपालमा ए–लेभलको पढाइ शुरू गर्दा नेपालस्थित कूटनीतिक नियोगमा काम गर्ने कर्मचारीका छोराछोरीका लागि लक्षित गरिएको थियो। अहिले यो पढाइ विराटनगर, पोखरा र बुटवललगायत मुलुकका ४१ शिक्षण संस्थामा हुन्छ।

बेलायतको क्याम्ब्रिज युनिभर्सिटीले नेपालमा यो शिक्षाको पाठ्यक्रम सम्बन्धन, अनुगमन र परीक्षा संचालन गर्न नेपालस्थित ब्रिटिश काउन्सिललाई अधिकार दिएको छ। त्यसैले उसले आफूकहाँ आएका निवेदनमा छानबिन गरी सम्बन्धन दिने गर्दछ। ए–लेभलमा समावेश ७० विषयमध्ये विद्यार्थीले रोजेका कुनै चार विषयमा अध्ययन गरेपछि ए–लेभल पूरा भएको मानिन्छ। नेपालमा दश जोड दुई बराबरको मान्यता दिइएको छ ए–लेभललाई। त्यसैले यो परीक्षा उत्तीर्ण विद्यार्थीले विश्वका जुनसुकै विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन पाउँछन्।

दश जोड दुई र ए–लेभलको विकल्पमा अर्को कार्यक्रम ‘इन्टरनेशनल ब्याकुलरेट डिप्लोमा प्रोग्राम’ (आईडीबीपी) पनि शुरू भएको छ नेपालमा। जसलाई ललितपुरको खुमलटारस्थित युलेन्स इन्टरनेशनल स्कूलले तीन वर्षअघि शुरू गरेको हो। दुईवर्षे यो कोर्ष दश जोड दुई र ए–लेभलभन्दा महँगो छ। मासिक रु.४४ हजार खर्च लाग्ने यो कोर्ष सन् १९६८ मा स्वीट्जरल्याण्डको जेनेभामा स्थापना भएको इन्टरनेशनल ब्याकुलरेट अर्गनाइजेशन (आईबीओ) ले संचालनमा ल्याएको हो। विश्वविद्यालय पढ्ने आधार तयार गर्न यो कार्यक्रम प्रभावकारी भएको युलेन्सको दाबी छ।

पोखराः ए–लेभल सस्तो

रवि बराल, तेज गुरुङ, विशेश्वर आचार्य

ए–लेभलको पढाइप्रति पोखरामा पनि विद्यार्थीको आकर्षण बढ्दो छ। १० वर्षअघि कसमस कलेजले १० जना विद्यार्थीबाट शुरू गरेको ए–लेभल कक्षा अहिले नोवेल एकेडेमी र गण्डकी आवासीय उच्च माविमा पनि सञ्चालित छ।

कसमसमा अहिले १२० विद्यार्थी अध्ययनरत छन्। ए–लेभल पढेपछि विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने भएकोले विद्यार्थीको आकर्षण बढेको कसमसका कार्यकारी निर्देशक तेज गुरुङ बताउँछन्। कलेजले एसएलसीमा ९० प्रतिशतभन्दा बढी अंक ल्याउनेलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ भने ८० प्रतिशतभन्दा बढी ल्याउने र दलित, जनजाति, महिला, आदिवासी विद्यार्थीलाई केही छात्रवृत्ति दिंदै आएको छ।

सन् २००२ देखि ए–लेभल शुरू गरेको नोवेल एकेडेमीमा हाल १०० विद्यार्थी छन्। नोवेलले पनि एसएलसीमा ९० प्रतिशतसम्म ल्याउने ३ जनालाई शतप्रतिशत, ८८ प्रतिशत ल्याउने ३ जनालाई ७५, र ८० प्रतिशत ल्याउने पाँच जनालाई ५० प्रतिशत छुट दिने गरेको छ। नोवेल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विशेश्वर आचार्य ए–लेभलको कोर्षबारे बुझाउन सक्दा विद्यार्थी बढ्ने बताउँछन्।

सन् १९९१ मा ए–लेभल पढाइ शुरू गरेको गण्डकी आवासीय उमाविले बीचमा त्यो बन्द गरेर दश जोड दुई पढाउन थाल्यो। विद्यार्थीको आकर्षण बढेको देखेर सन् २०१० देखि पुनः ए–लेभल शुरू गरेको त्यो उमाविका प्राचार्य रवि बराल काठमाडौंमा भन्दा कम खर्चमा पोखरामा ए–लेभल पढाइ हुने बताउँछन्।

माधव बराल, पोखरा


१५ वैशाखको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>