अर्थ/बजारशुक्रबार, बैशाख २०, २०७०
दोलखामा वन उद्यम
दाउरा र मुढाहरूको यो डङ्गुर हो― दोलखाको भीमेश्वर नगरपालिका–१२ चरिकोट–पुँवालेस्थित दिव्य प्लाइ उद्योग परिसरको ।
डेढ सय जनाले प्रत्यक्ष रोजगारी पाएको यस उद्योगले कात्तिकदेखि जेठसम्मको ‘सिजन’मा काठ कटानी, ढुवानी आदिमा गरेर अरू धेरैलाई अप्रत्यक्ष रोजगारी दिलाएको छ।
२० रोपनीमा फैलिएको उद्योग दोलखा, भीमेश्वर–१० गैरास्वाँराका भैरवबहादुर थापा र सुष्पाक्षेमावती–२ बुमाका शिवबहादुर शिवाकोटीको अग्रसरतामा खुलेको हो ।
२०५२ सालसम्म जिल्लास्थित सिंचाइ कार्यालयमा सुपरभाइजर रहेका भैरव र खिम्ती जलविद्युत् आयोजनाको प्रवर्द्धक हिमाल हाइड्रोमा निर्माणको ठेक्का गरिरहेका शिवलाई अलि दिगो व्यवसाय गर्ने विचार आएपछि रु.१ लाखको लगानीबाट थापा एण्ड शिवाकोटी फर्निचर उद्योग शुरू गरेका थिए ।
उनीहरूले २०५९ सम्ममा यही नामबाट हार्डवेयर पसल, चिरानी मिल र भिनियर मिल स्थापना गरे।
भिनियर मिलबाट पत्ता (कोर) उत्पादन गरेर देशका विभिन्न प्लाइ उद्योगलाई आपूर्ति गर्दै जाँदा उनीहरूलाई आफ्नो गाउँठाउँको स्रोत किन उपयोग नगर्ने भन्ने लाग्यो र खडा भयो– दिव्य प्लाइ उद्योग प्रालि ।
एसबीआई ब्याङ्कको रु.७ करोड ऋणसहित १५ करोडको लगानीमा एक वर्षअघि खुलेको उद्योगमा भैरव र शिवका साझेदार छन्― दोलखाकै बालकृष्ण शिवाकोटी, वीरगंजका भरत चौधरी, चितवनका मार्कण्डेय अधिकारी र झापाका भुपाल कार्की ।
कारखानामा काठ कटिङ, सिजनिङ, डाइङ, प्रेसिङ, फिनिसिङ र ब्राण्डिङ हुन्छ । अनि बजारमा जान्छन्– ‘दिव्य’ र ‘दोलखा’ प्लाइउड, बोर्ड र तयारी ढोकाहरू ।
दैनिक ४०० पिस प्लाइ, बोर्ड र ढोका बनाउने उद्योग नेपालको पहाडी भेगमा स्थापित यो स्तरको एक मात्र कारखाना हो । हाल दैनिक सरदर रु.३ लाखको प्लाइ उत्पादन गर्ने कारखानासँग योभन्दा दोब्बर उत्पादन क्षमता छ ।
“पहिलो कुरा त ढुवानीमा समस्या छ, सडक साँघुरो भएकोले रेजिन लगायतका कच्चापदार्थ ल्याउने ठूला ट्रकहरू खाडीचौरदेखि माथि आउन सक्दैनन्”, भैरव थापाले भने, “सामानहरू अर्को गाडीमा सारेर ओसार्दा खर्च र नोक्सानी बढेको छ ।”
आफूहरूसँग यति ठूलो उद्योग सञ्चालन गर्ने व्यवस्थापकीय क्षमता र अनुभवको कमी भएको बताउने शिव शिवाकोटीले नियमित विद्युत् आपूर्ति र कारखानालाई चाहिने दक्ष जनशक्ति पनि जिल्लामा नभएको बताए ।
उनका अनुसार, कारखानामा रोजगार डेढ सयमध्ये २० जना जति मात्र नेपाली छन् भने बाँकी सबै भारतबाट ल्याइएका छन् ।
वर्षमा ४०–५० हजार क्युबिक फीट काठ चाहिने उद्योगलाई निजी–आवादी जग्गाको उत्तिसले धानेको छ । उद्योगले काठ किनिदिएका कारण गाडी पुग्ने ठाउँका धेरै किसान लाभान्वित भएका छन् ।
केही वर्षलाई काठको समस्या नहुने देखेका शिवले नर्सरी राखेर गाउँ–गाउँमा बिरुवा बाँड्न थालेका छन् । सामुदायिक वनबाट काठ पाउन नीतिनियमहरूको व्यवधान भएको उनले बताए ।