रमझमशुक्रबार, बैशाख २०, २०७०
हिन्दी पार्श्वगायनकी जग
‘ओ ले के पहला पहला प्यार भर के आँखो मे खुमार, जादु नगरी से आया है कोइ जादुगर !’ मजरुह सुल्तानपुरीले लेखेको र ओ पी नैय्यरद्वारा सङ्गीतबद्ध सन् १९५६ मा प्रदर्शित सीआईडी फिल्मको यो गीत उसबेला उल्कैसित हिट भएको थियो ।
यस गीतलाई गाएकी थिइन् समशाद बेगमले । फिल्ममा यो गीत सडकमा नाचगान गर्ने नर्तकीले गाएको र त्यसको सहारामा नायक देव आनन्द नायिका सकिलालाई रिझाउने प्रयत्नमा रहेको देखाइएको छ ।
ओ पीको तरोताजा सङ्गीत र समशाद बेगमको गायकीको जोडले गीत लोकप्रिय हुन गएको थियो । त्यसो त त्यस फिल्ममा समशाद बेगमको स्वरमा ‘कहीं पे निगाहें, कहीं पे निसाना’ र ‘बूझ मेरा क्या नाम रे’ भन्ने अरू दुई गीत पनि थिए, जसलाई श्रोताहरूले उत्तिकै मन पराएका थिए ।
सन् पचासको दशकको अन्त्यतिर हेर्न पाएका थियौं– त्यस फिल्मलाई हामीले उसबेलाको सानो नगर धरानमा बनेको शिव सिनेमा हलमा।
त्यतिञ्जेलमा बम्बईको फिल्मी पार्श्वगायनमा लता मंगेशकरको जोडदार स्थान बनिसकेको थियो । उनीभन्दा पहिले फिल्मी दुनियाँलाई आफ्नो स्वरले वशीभूत पार्ने समशाद बेगमको जोड पनि हराइसकेको थिएन ।
उनले ओ पी नैय्यरकै सङ्गीतमा गाएको आरपार फिल्मको ‘कभी आर कभी पार’ र नयाँ दौर फिल्मको ‘रेशमी सलवार कुर्ता जालीका’ बोलको गीतले पनि श्रोताको मन जितेका थिए ।
नुरजहाँ फिल्मी पार्श्वगायनमा समशाद बेगमपछि आए पनि गायन र अभिनयलाई मिसाएर उनले आफ्नै पहिचान बनाइन् । तर, सन् १९४७ मा पाकिस्तान बनेपछि नुरजहाँ बम्बई छाडेर उतै गइन् । त्यसपछि समशादको एकछत्र राज चलेको थियो, बम्बईको फिल्मी पार्श्वगायनमा ।
उनीसित सुरैया र गीता दत्तको जोड चल्दैनथ्यो । संगीत निर्देशकहरू लता मंगेशकर र आशा भोसले दिदीबहिनीलाई समशाद बेगमको जस्तै हल्का नाके स्वरमा गाउन भन्थे रे ! उसबेला पुरुष स्वरमा के एल सहगलको नक्कल उतार्ने कोशिश हुन्थ्यो । मुकेशको मात्र होइन मोहम्मद रफीका पनि शुरू–शुरूका गीतहरूमा यसको झलक पाइन्छ ।
समशादले धेरै सङ्गीतकारसित काम गरिन्, तर उनको गायकीसित विशेषगरी नौशाद, सचिनदेव बर्मन, सी रामचन्द्र र ओ पी नैय्यरको नाम जोडिन्छ । ओ पीलाई त उनले शुरूदेखि नै टेवा दिइन् ।
मनमुटावका कारण लता मंगेशकरसित काम नगर्ने अठोट लिएका ओ पीका दुइटा बैसाखीमा गीता दत्त र समशाद बेगम थिइन् । ओ पीले आशा भोसले अघि यिनै दुईको सहारामा आफूलाई अघि बढाएका थिए । उनका धेरै हिट गीत समशादकै स्वरमा आए ।
समशाद बेगमले शास्त्रीय सङ्गीतको विधिवत् प्रशिक्षण पाएकी थिइनन् । उनीसित थियो त केवल कुदरती प्रतिभा। त्यसैको भरमा उनी सन् चालीसको दशकमा शीर्ष स्थानमा रहिन् ।
तर समयले एकताकाकी यी शीर्ष गायिकालाई ओझेलमा पुर्यायो ।
सन् साठीको मध्यतिर हिन्दी फिल्म संगीतका प्रेमी हामी धराने ठिटाहरूमाझ बहस चल्थ्यो– सुमन कल्याणपुर लता मंगेशकरको टक्करकी गायिका हुन् वा आशा भोसलेलाई पनि लताभन्दा कम मान्न मिल्दैन भनेर । समशाद बेगमको नाम त्यस्तो चर्चामा उल्लेखै हुँदैनथ्यो ।
त्यति बेलासम्ममा फिल्म सङ्गीतमा उनी केवल कव्वाली टाइपका गायनमा सीमित हुन पुगेकी थिइन् । हाम्रो पुस्ताले झट्ट सम्झने समशादको गीत भनेको फिल्म किश्मत को ‘कजरा मोहब्बतवाला’ हो ।
जान्नेसुन्ने धेरैले समशाद बेगमको निधनबाट हिन्दी फिल्म सङ्गीतको एक युगको अन्त्य भयो भनेका छन् । ठीकै हो, एउटा युगको अन्त्यबाटै अर्को युगको सुरुआत हुन्छ । पुरानो जगमा नै नयाँ भवन बन्छ ।
आज हिन्दी फिल्म पार्श्वगायनको जुन भव्य अट्टालिका खडा छ, त्यसको आधारशिला समशाद बेगमहरूले नै तयार पारेका हुन् भन्ने नबिर्सौं ।
१५ वैशाखको साप्ताहिक खबरपत्रिका हिमालबाट