ब्लगआइतबार, बैशाख २२, २०७०

बलात्कार सम्बन्धी अपराधका लागि छुट्टै कानुनको खाँचो

tara

दिल्लीमा १७ अप्रिलमा फेरि अर्को क्रूर तथा पाशविक बलात्कारको घटना भयो, जसको शिकार भइन् पाँच वर्षीया बालिका । घटनालगत्तै उपचारमा संलग्न अस्पतालका सुपरीटेन्डेन्टले सञ्चारमाध्यमसँग कुरा गर्दै आफूले पहिलो पटक यस्तो पाशविक घटना देखेको प्रतिक्रिया दिएका थिए ।

बालिकाको ओठ, गाला र पाखुरामा मात्र होइन, मलद्वार वरिपरि थुप्रै चोट देखिएको थियो । अपराधीले बालिकाको गुप्ताङ्गभित्र २०० मिलिको ८ इञ्चको बोतल र मैनबत्ती घुसाएका थिए । दिल्लीमा बलात्कृत बालिका अस्पतालको शैय्यामा मृत्युसँग जुधिरहेकै बेला २९ अप्रिलमा नागपुरको एउटा अस्पतालमा चिकित्सकहरूको अथक् प्रयासका बाबजुद अर्की चार वर्षीया बालिकाको मृत्यु भयो, बलात्कारको कारण ।

मध्यप्रदेशको सिवनी जिल्लाको एउटा गाउँमा ३५ वर्षीय व्यक्तिले मुख थुनेर बलात्कार गरी खेतमा फालेको भोलिपल्ट बिहान परिवारजनले बालिकालाई बेहोस अवस्थामा फेला पारेका थिए । जबर्जस्ती गर्ने क्रममा मुख थुन्दा अक्सिजन पुग्न नसकेर मस्तिष्कमा गम्भीर क्षति पुगेको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई एयर एम्बुलेन्सबाट नागपुरस्थित अस्पतालमा ल्याइएको थियो ।

यस्ता कहालिलाग्दा घटना भारतमा मात्र होइन, नेपालकै राजधानी लगायत पहाड र तराईमा पनि बढेका छन् । भर्खरै सप्तरीको कञ्चनपुर गाविसमा ३० वर्षीय अहेवले साँझ् आफ्नो पसलमा सामान किन्न आएकी १० वर्षीया बालिकालाई पसलभित्रै बलात्कार गरेको घटना जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

गएको पुसमा नुवाकोटका एक बाबुले तीन वर्षीया छोरीलाई राजधानीमै बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । पछिल्लो चार महीनामा नेपालमा ३ देखि १२ वर्षका बालिका बलात्कृत भएका दर्जनौं घटना सार्वजनिक भएका छन् ।

अबोध बालिकामाथि किन यस्ता दुष्कर्म भइरहेका छन् ? कुन त्यस्तो कारण छ जसले मान्छेलाई यस्तो कुकर्म र अपराध गर्न अग्रसर गराइरहेको छ ? यौनिकताको कुनै अंकुरसम्म नपलाएका यस्ता बालिका देखेर मान्छेमा यौन चाहना कसरी जागृत भइरहेको छ ? यो मान्छेभित्रको यौनविकृति हो या मानसिक रोग ?

मैले पढेकी थिएँ, परपीडकहरु अरूलाई दुःख, पीडा, यातना दिएपछि पीडितको चिच्याहट, रुवाइ र डरबाट आनन्द लिन्छन् । यस्ता कुनै पनि कारणबाट बालिकाहरू बलात्कार भइरहेका हुन् भने सम्बन्धित विज्ञहरूले यस सम्बन्धी अध्ययन–अनुसन्धान गरी समस्या न्यूनीकरणको उपाय खोज्न जुट्नुपर्दछ ।

हुनत मानिसभित्रको आपराधिक मनोवृत्तिको एउटा रूप हो यो । जसको रोकथामका लागि कानूनी उपचार बलियो हुनु आवश्यक छ । जबकि हामीकहाँ यो पक्ष ज्यादै कमजोर र फितलो छ । महिला हिंसा न्यूनीकरण तथा महिला सशक्तिकरणका लागि विश्वमा अनेकौं नीति, नियम र कानून बनिसकेका छन् ।

तर हामीकहाँ भने अझैसम्म पनि बलात्कार जस्तो जघन्य अपराधको लागि छुट्टै कानून बनाइएको छैन । मुलुकी ऐनको जबर्जस्तीकरणीको महलमा १० वर्षमुनिका बालिका बलात्कृत भएमा १० देखि १५ वर्षसम्म र १० देखि १४ वर्षसम्मका बालबालिका बलात्कृत भएमा ८ देखि १२ वर्षसम्मको कैद सजायको व्यवस्थामै अल्झेर बसेका छौं । बलात्कारीलाई सजाय सम्बन्धी नयाँ कानून नबनेसम्म महिला हिंसामा कमी आउने देखिंदैन ।

यो अपराध हुनुमा मान्छेको कुलत, लागू एवं मादक पदार्थ सेवन तथा सञ्चारको गलत प्रयोगको पनि ठूलो हात छ । दिल्लीमा पाँच वर्षीया बच्चीको बलात्कार गर्ने अपराधीले पनि बलात्कार गर्नुपूर्व रक्सी सेवन गरी साथीको मोबाइलमा अश्लील सिनेमा हेरेर अपार्टमेन्टमा फर्कंदा कोठा बाहिर बच्ची खेलिरहेको देखेपछि चकलेट दिएर उनलाई कोठामा लगी बलात्कार गरेको बयान दिएका छन् ।

यस्तै नेपालमा पनि अधिकांश बलात्कार, अपराध तथा हत्याको घटनामा दोषी तथा अपराधीले यिनै कुराहरूको सेवन तथा प्रयोग गरेको पाइएको छ । यीमध्ये कारण जे सुकै भए पनि एउटा कुरा सत्य छ– बलात्कार जस्ता दुष्कर्मले पीडित बालिकाको जीवन, उनको भविष्य, उनको खुशी लगायत पीडक र उनीसित सम्बन्धित र आश्रित सबैको भविष्य तहसनहस हुन पुग्छ ।

अन्त्यमा, राजनेतासित निवेदन गर्न चाहन्छु कि बलात्कारीलाई सजाय सम्बन्धी कानून बनाउन धेरै ढिला भइसकेको छ । आशा गरौं, चुनावपछि बन्ने सरकारले महिला हिंसा न्यूनीकरण सम्बन्धी कानून बनाउनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...