अन्तर्वार्ता/विचारआइतबार, बैशाख २२, २०७०
दुई तिहाई बहुमत ल्याउन तालमेल हुन्छ: खनाल
विगत संविधानसभामा एमाओवादी ठूलो पार्टी बनेकाले संविधान बन्न नसकेको र अब संविधान निर्माणका लागि आफ्नो पार्टीलाई ठूलो पार्टी बनाउनुपर्ने बताउने एमालेका अध्यक्ष झलनाथ खनालसँग २१ वैशाख विहान नेपालगन्ज विमानस्थलमा हिमाल संवाददाता तुफान न्यौपानले गरेको कुराकानीको सार:
चुनावी वातावरण बन्न थालेको हो ?
हो, चुनावी माहोल क्रमिकरुपमा विकास भइरहेको छ । राजनीतिक सरगर्मी बढदैछ । अब दोस्रो संविधानसभाको निर्वाचनमार्फत जनताले नयाँ निर्णय दिनेछन् । ०६२/०६३ को जनक्रान्तिका उपलब्धिलाई संस्थागत गर्न संविधान बनाउनुछ । संविधान बनाउने गरी जनताले महान र ऐतिहासिक निर्णय दिनेछन् ।
जनताले चुनावमा मत दिँदैमा संविधान बन्छ भन्ने ग्यारेन्टी छ र ?
नेकपा माओवादीलाई सबभन्दा ठूलो दल बनाउनु गल्ती भयो । त्यही कारण संविधान बनेन । अब एमालेलाई सबभन्दा ठूलो दल बनाउनुपर्छ, संविधान बन्ने ग्यारेण्टी हुन्छ ।
संविधानसभा रहुन्जेल त माओवादीसँगै मिलेर दुई वटा सरकार बनाउनु भयो नि ?
संविधान बनाउने दिशामा माओवादीलाई ल्याउन सकिन्छ कि भनेर सरकार बनाउन उनीहरुसँग मिलेका हौं । तर माओवादीलाई ल्याउन सकिएन । उ त संविधान बनाउने पक्षमै रहेनछ ।
आगामी निर्वाचनमा तालमेल गर्नेबारे के तयारी हुँदैछ ?
अहिले एमालेले २४० वटै निर्वाचन क्षेत्रमा उमेद्वारी दिने तयारी गरिरहेको छ । सबैतिरको परिस्थिति हेरेर अन्तिममा यसबारे निर्णय गर्छौं । लोकतान्त्रिक शक्तिहरुले दुई तिहाई बहुमत ल्याउनैपर्छ । त्यसका लागि आवश्यक ठाउँमा तालमेल गर्छौं । इस्यु मिल्ने पार्टीसँग छलफल गर्छौं । चुनावी घोषणापत्र प्रकाशित भएपछि पार्टीहरुका मुद्दा हेरेर तालमेलको निर्णय हुन्छ ।
चुनावको वातावरण बनाउन दलहरु नै लागेनन् भनिन्छ नि ?
अहिले चुनावी अभियानको प्रारम्भिक चरण छ । चुनावी अभियानमा पूरै पंखा फिँजाएर उड्न बाँकी छ ।
चुनावमा अवरोध गर्ने नेकपा-माओवादीको घोषणालाई कत्तिको चुनौतिपूर्ण मान्नु हुन्छ ?
नेकपा–माओवादीले असहयोग गर्छ भन्ने मलाई लागेको छैन । असन्तुष्टिहरु भएपनि उहाँहरु निर्वाचनमा आउनुपर्छ । त्यो वातावरण बनाइरहेका छौं । म उहाँहरुलाई आग्रह गर्छु, निर्वाचनमा आउनुहोस्, जनतामा परिक्षण भएर अघि बढौं ।
अहिलेको निर्दलीय सरकार बाध्यताको उपज नै हो ?
एनेकपा माओवादीले अरु पार्टीहरुसँग मिलेर सरकार बनाउन नचाहेको र आफ्नो नेतृत्व लाद्न खोजेकोले पार्टीहरु बीच सहमति हुन सकेन । त्यही भएर यो विकल्प रोज्नुपरेको हो ।
दक्षिण छिमेकी र युरोपियन युनियनको दबाब थिएन र ?
यो गलत कुरा हो । नेपाल भूमिमा यसप्रकारका तुच्छ कुरा भएका छैनन् । राष्ट्रियतामा खतरा निरन्तर बढेको भए पनि । माओवादी र मधेशी मोर्चाको कुशासनले राष्ट्रियता कमजोर बनेको हो । मुलुकको स्वाधिनता र सार्वभौमसत्तालाई सुदृढ बनाउन एमालेको नेतृत्व आवश्यक छ ।
तपाईंसमेत सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्यो, अहिले एमालेको दृष्टिकोण फेरिएको हो ?
त्यो अहिले छोड्नुस् । अब त्यो पतकर भइसकेको चिज हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
