अर्थ/बजारसोमबार, बैशाख २३, २०७०

सूचनाप्रविधिमा छलाङ मार्दैछौं

हिमालखबर

विश्वास ढकाल

नेपालमा सूचनाप्रविधिको विस्तारको गति देखेरै यो क्षेत्रमा केही गर्न लागेका हामी उत्साहित भएका हौं । सन् २००४ देखि सूचनाप्रविधिमा विकासको लहर शुरू भएपछि ‘एफवान सफ्ट’ स्थापना गरी वेबसाइट डोमेन रजिस्टर गर्न थाल्यौं ।

त्यो बेला कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस) अर्थात् हामीले डिजाइन गरेको साइटको पेजमा बेवसाइट सञ्चालकले नै सामग्री राख्न सक्ने सुविधा दिएका थियौं

२००७ मा नेपाल टेलिकमबाट भ्यालु एडेड सर्भिस (भास) को लाइसेन्स पाएपछि हाम्रो सेवा एफएम रेडियोहरूले धेरै प्रयोग गरे ।

त्यो कार्यक्रम अन्तर्गत ४ डिजिटको नम्बरबाट मोबाइल धनीले गीत फर्माइस गर्न वा अरू कुनै कामका लागि म्यासेज पठाउन सक्थे ।

भारतमा यस्तै कामबाट धेरै कम्पनीले पैसा कमाए पनि हामीलाई भने सञ्चालन खर्च उठाउनै धौ–धौ पर्यो  ।

एसएमएस ब्याङ्किङको सुरुआत

सन् २००८ मा हामीले लक्ष्मी ब्याङ्कमा एसएमएस ब्याङ्किङ सेवा शुरू गरेपछि एक वर्षमै ८ ब्याङ्कले त्यसलाई अपनाए । २००९ मा ब्याङ्क अफ एशिया र ग्लोबल ब्याङ्कमा मोबाइल ब्याङ्किङ सेवा शुरू गरेपछि ब्याङ्किङ क्षेत्रको सफ्टवेयर विकासमा केन्द्रित भयौं ।

सन् २०१० को जनवरीदेखि नेपालको पहिलो पेमेन्ट गेट वेको रूपमा औपचारिक ई–सेवा सञ्चालनमा ल्याउँदा ५-६ वर्षपछि मात्र ‘ब्रेक इभन पोइन्ट’ मा पुग्ने सोचेका थियौं ।

तर, पहिलो महीना नै १८ हजार कारोबार भएपछि हामीले शुरूमै त्यो सफलता पायौं । यो सेवा अन्तर्गत अहिले विभिन्न २७ ब्याङ्कका खाताधनीले खानेपानी, बिजुली, नेपाल टेलिकम तथा एनसेलको बिल तिर्न, क्युएफएक्स तथा बुद्ध एयरको टिकट किन्न, पत्रिकाको ग्राहक बन्न र भाटभटेनीको ई–कमर्समार्फत किनमेल गर्न सक्छन् ।

ई–सेवा अन्तर्गत अहिले हामीसँग आवद्ध १५०० मर्चेन्टलाई यो वर्षको अन्त्यमा पाँच हजार पुर्याउने लक्ष्य छ । ब्याङ्कका लागि कार्ड सेन्टर म्यानेजमेण्टको पनि काम गरेका छौं ।

अहिले भइरहेका चोरीलगायत ब्याङ्किङ कसुर चुस्त हिसाब मिलान नभएकाले हो । एटीएमबाट पैसा चोरी हुनथालेपछि कुन एटीएमबाट कति पैसा झिकियो, कुन नेटवर्कको कति वटा कार्ड आफ्नो एटीएममा चले तथा आफ्ना कति वटा कार्ड अरूका एटीएममा चलाइए भन्ने जानकारी अद्यावधिक गर्ने २०११ मा हामीले बनाएको सफ्टवेयर लोकप्रिय हुँदैछ । अहिले १५ ब्याङ्कले यो सफ्टवेयर चलाउन थालेका छन् ।

अमेरिकाको विश्व विख्यात रेड हेरिङले सूचनाप्रविधिको क्षेत्रमा उदाउँदा कम्पनीलाई दिने ‘रेड हेरिङ एशिया टप १०० अवार्ड २०१२’ हामीले प्राप्त गर्यौं । फेसबुक, ट्वीटर, लिंकडिन र स्काइपले पाएजस्तै यो अवार्ड पाएर हाम्रो मनोबल बढेको छ । स्थानीय साझेदारहरुसँग मिलेर ‘फ्र्यान्चाइजी मोडल’मा भारत, कम्बोडिया, बंगलादेश, सिंगापुरमा सेवा विस्तार गरेका छौं भने श्रीलंकामा छिट्टै जाँदैछौं ।

मोबाइल फाइनान्सियल सेवा

नयाँ सेवाको रूपमा मोबाइल ब्याङ्किङलाई अघि बढाउने हाम्रो योजना छ । अहिले भिसा कार्ड हुने एक ब्याङ्कको खाताधनीले अर्को ब्याङ्कको एटीएम मेसिनबाट पैसा निकाले जस्तै मोबाइलमा पनि सुविधा दिने हाम्रो तयारी हो । ‘फोन पे ब्राण्ड’ नामको यो प्रणालीबाट एउटा ब्याङ्कको खाताधनीले अर्को ब्याङ्कको खातामा मोबाइलबाट पैसा पठाउन सक्छन् ।

त्यसपछि हाम्रो सदस्य बनेका सबै ब्याङ्कका ग्राहकले एकआपसमा कारोबार गर्न सक्नेछन् । यो सेवा अहिलेसम्म विश्वका अरू विकसित मुलुकमा पनि नभएकाले एफवान सफ्टलाई विश्वको मोबाइल ब्याङ्किङको ४० प्रतिशत बजार हिस्सा ओगट्न सक्ने गरी विश्वव्यापी कम्पनी बनाउने हाम्रो योजना छ ।

तीन जनाले शुरू गरेको एफवान सफ्टमा अहिले नेपालमै ७५ छौं भने विदेशमा पनि १५-१६ जना काम गर्छन् । २०१३ सम्ममा विश्वभरिमा हामी करीब १५० जना पुग्नेछौं । एफवान सफ्टबाई मोबाइल फाइनान्सियल सर्भिसको विश्वको एक नम्बर कम्पनी बनाउँदा पनि बजार विस्तारको सम्भावना बाँकी नै रहनेछ ।

किनभने, क, ख र ग वर्गका नेपालका १९६ वटा ब्याङ्क र वित्तीय संस्थाले ६५ प्रतिशत जनतामा मात्र वित्तीय पहुँच पुर्याएकाले प्रविधिमा बजार विस्तार गर्ने सम्भावना सधैं बाँकी नै रहन्छ । त्यसमाथि नेपालमा त यो क्षेत्रका कम्पनीको सम्भावना झनै धेरै छ । मोबाइल फाइनान्समा हामीले विश्वकै ४० प्रतिशत बजार ओगट्दा पनि ६० प्रतिशतमा अरू नै हुनेछन् ।

(ढकाल एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

हिमालको २२-२९ बैशाख २०७० अंकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>