ब्लगमंगलबार, बैशाख २४, २०७०

अफगान अफिम र नेपाली रक्सी

मिलन बगाले

पर्सामा लगाइएको अफिम खेती। फाइल तस्वीर

चैत अन्तिम साताको समाचार अनुसार, लडाइँबाट जर्जर अफगानिस्तान अफिमको नशामा पनि डुब्न लागेको छ ।

साढे तीन करोड जनसंख्या भएको अफगानिस्तानमा संसारकै ९० प्रतिशत अफिम उत्पादन भइरहेको छ र करीब १० लाख अफगानहरू त्यसको अम्मली भएका छन्, जसमा युवाको संख्या अधिक छ ।

उत्रन गाह्रो पर्ने गरी नशामा फसिसकेको अफगानिस्तानको राजधानी काबुलमा खानेकुराको पसलसरह अफिम पसल खुलेका छन् ।

समाचार अनुसार, युवालाई अफिमको नशामा लट्ठ पारेर आत्मघाती आक्रमणहरूमा परिचालित गरिन्छ ।

नेपालमा पनि तराई–मधेशबाट शुरू भएको अफिम खेती पहाडसम्म पुगेको छ । तीन वर्षअघि पर्साको अफिम खेतीलाई ‘कभर’ बनाएको हिमाल ले ८ वैशाख २०७० को अंकमा बाजुराको कोल्टीमा अफिम छर्न बारी जोतिरहेका किसानको तस्वीर भित्री पेजमा छाप्यो ।

तर, नेपालका लागि अफिमभन्दा रक्सीको नशा बढी खतरनाक बनिसकेको छ । नेपाली चाडपर्व, जात्रा र उत्सवहरू रक्सी महोत्सवमा परिणत भएका देखिन्छन् । बिहेभोज त बिहेभोजै भयो; बालबालिकाको जन्मदिनमा पनि निम्तालुलाई रक्सी खुवाउन थालेका छन्, शहरवासी नेपाली ।

रक्सी वर्जित सांस्कृतिक परम्परा भएकाहरू समेत यस्तो अनर्थमा रमाएका देखिन्छन् ।

सक्ने भयो रक्सीले

खोजी पस्दा, नेपालमा वर्षेनि अनेक किसिमका ३५ लाख लिटर रक्सी र तीन करोड ५० लाख बोतल बियर उत्पादन हुने गरेको तथ्यांक भेटिन्छ । युरिया मल मिसाइएको रक्सी गाउँ–गाउँमा बन्छ ।

वर्षेनि रक्सीमा बग्ने रु.३० अर्बमध्ये केही अर्ब विदेश पुग्छ । वर्षेनि भोकमरीमा टाक्सिने जिल्लाहरू पनि रक्सीमा बाह्रै महीना आत्मनिर्भर छन् । प्रशासनले अनिकालमा अन्नको रक्सी पार्नुहुन्न भन्यो भने ढुंगामुढा हुन्छ, जिल्लाहरूमा ।

जिल्लाको के कुरा, मापसे गरेर सवारी हाँक्न नपाउँदा राजधानीवासीहरू नै ट्राफिक प्रहरीसँग क्रूद्ध छन् । पाँच हजार रुपैयाँसम्मको मापसे गर्ने ग्राहक पाए गाडीमा राखेर घरसम्मै सवारी चलाउने ‘अफर’ ल्याएका होटल–रेस्टुरेण्टवालाहरू त झ्नै आगो छन् ।

प्रतिव्यक्ति मदिरा खपतको हिसाबले संसारकै नम्बर एक जँड्याहाको ताजपोस चेक रिपब्लिकनहरूबाट खोसेर नेपालीको शिरमा पहिर्‍याइदिने उनीहरूको सदासय जो छ । तर, विज्ञानसम्मत तरिकाले मूल्यांकन गर्ने हो भने रक्सी खाएर असामाजिक काम गर्ने मामिलामा नेपालीहरू अहिले नै नम्बर वान भइसकेको परिणाम आउन बेर छैन ।

सुनसरीमा घरेलु रक्सी बनाइँदै।

नेपालीहरू रक्सी पार्न असाध्यै सिपालु छन् । उनीहरू मोजा, नानीका थाङ्नालगायतका थोत्रा कपडाबाट समेत खरो रक्सी निकाल्न सिद्धहस्त छन् भन्ने तथ्य बौद्धमा तीनपाने बनाइरहेको टेलिभिजनका दृश्यले स्थापित गरिसकेकै छ ।

त्यस्ता पदार्थबाट समेत रक्सी झार्न सक्नेहरूका लागि खाद्यान्न र कुहेका फलफूलमा युरिया घोलेर रक्सी बनाउनु बायाँहातको खेल भइहाल्यो । पुलिसलाई हप्तावारी बुझाएर त्यस्तो ‘माल’ बजारमा पुर्‍याइन्छ ।

गत मंसीरमा तोपेथोक (ताप्लेजुङ) का मनकुमार फोम्बे (७४) ले ७० वर्षीया पत्नी मनमायालाई अगुल्टाले हिर्काएर ठहरै पारेको रक्सीले छाडेपछि मात्र थाहा पाए ।

रक्सीको उन्मादमा नपरेको भए जीवनसाथीको महत्व सबभन्दा राम्ररी बुझने उमेरमा उनीबाट कदापि त्यो पाप हुने थिएन होला ।

रक्सीजनित अपराधको पराकाष्ठा बुझाउन यो घटना काफी छ । नेपाली महिलामाथि हुने हिंसाको ४२ प्रतिशत हिस्सा रक्सीसँग जोडिएको तथ्य एक अध्ययनले देखाएको छ ।

सडक दुर्घटना र झगडा–फसादको मुख्य कारक रक्सी नै हो । खाने जति सबै हिंस्रक नबन्लान्, तर सबैखाले हिंसाको जड रक्सी नै बनेको छ ।

नेपाली समाजको कतिपय तप्कामा रक्सीको सांस्कृतिक महत्व छ । बिहे–पर्वमा मात्र हैन, जन्म र मृत्युमा समेत रक्सीले चोखिने संस्कृति भएका समुदायलाई अरूले ‘रक्सी पार्दै नपार, खाँदै नखाऊ’ भन्न मिल्दैन ।

सांस्कृतिक कार्जेहरूमा जाँडरक्सीलाई सांकेतिक प्रयोगमा मात्र सीमित गर्ने पहल सम्बन्धित समुदायकै अगुवाबाट हुनुपर्छ ।

अन्न सखाप पार्ने घरेलु भट्टीलाई नियन्त्रण गर्दै सिलबन्दी रक्सीमा कर बढाएर नेपालीलाई रक्सीको लतबाट जोगाउन ढिला हुनलागेको छ । रक्सी, अफिमलगायत सबैखाले कुलतबाट जोगिने र जोगाउनेको जय होस् ।

हिमालको २२-२९ बैशाख २०७० अंकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...