अर्थ/बजारशुक्रबार, बैशाख २७, २०७०
माछामा आत्मनिर्भर!
दिउँसो एक बजे नवलपरासी सदरमुकाम परासीबाट दक्षिण लाग्दा उग्र घामले टाउको दुखाइरहेको थियो ।
र पनि, १५ किलोमिटर मोटर यात्रा र चार किमी पैदल हिंडेर पाल्ही–२ मन्दिर टोलमा एक जना मधेशी तन्नेरीलाई भेट्दा मनैदेखि शीतल महसूस भयो ।
समृद्ध नेपाल निर्माणको लागि कृषिमा माछातर्फ भइरहेको निजी प्रयास बुझ्न गत १७ चैतमा भारतसँग सीमा जोडिएको पाल्ही गाविस पुगेको थिएँ, जहाँ रवीन्द्रकुमार साहनी (२८) ले छिमेकी गाउँ रम्पुरवाँमा समेत गरी ११ बिघा जमिनमा माछाका भुरा उत्पादन गर्ने ह्याचरी चलाइरहेका छन् ।
पिता रामवृक्ष साहनीले २०३० सालतिरै थालेको माछापालन व्यवसायलाई बीएड तेस्रो वर्षमा अध्ययनरत रवीन्द्रले २०५२ बाट व्यापकता दिएका रहेछन् ।
गत वर्ष विभिन्न जातका तीन करोड ८० लाख भुरा उत्पादन गरेका साहनी ह्याचरीले यो वर्ष पाँच करोड भुरा निकाल्न चाहेको छ ।
भारतमा समेत ठूलो माग भएकोले बजारको चिन्ता नभएको पौरखी रवीन्द्रले बताए । उनी भन्छन्, “अहिले त नेपालको मध्यपहाडमा समेत माछापालन व्यवसाय फस्टाउँदै छ।”
भुराको भविष्य
मत्स्य विकास केन्द्रहरूले किसानलाई दिने माछाको बीउ राम्रो भएकोले नेपालमा उत्पादित भुरा भारतीयभन्दा राम्रो हुँदा दक्षिणतिर यसको माग बढ्दो छ ।
तीन वर्ष पुगेको माउ माछाबाट उत्पादित भुरालाई राम्रो मानिन्छ । कमन कार्प, रहु, नैनी, ग्रास कार्प, बिगहेड, सिल्भर कार्प जातको भुरा उत्पादन गरिरहेको साहनी ह्याचरीले भाले ग्रास र पोथी सिल्भर कार्पको क्रसबाट नयाँ प्रजाति पनि निकालेको छ, जुन राम्ररी हुर्किरहेको रवीन्द्रले बताए ।
चितवनमा माछापालन
स्रोतः जिल्ला कृषि विकास कार्यालय चितवन
गत हिउँदमा १८ डिग्रीसेल्सियसभन्दा कम तापक्रम भएर बैंठी (बछुवा) जातका माछा भने मरेको उनले बताए । धेरै बोसो हुने यो प्रजातिको माछा नेपाली बजारमा खुब चलेको छ ।
अर्को वर्षदेखि तापक्रमको व्यवस्था गरेर बैंठीको पनि भुरा निकालेरै छाड्ने सुरमा छन्, रवीन्द्र । तराईमा नमूना भएको रवीन्द्रको सोच, जाँगर र फार्मको राम्रो सिको पाल्ही गाविसभरि भएको देखियो ।
पाल्हीमा शिवशंकर कुर्मी, राजनारायण कुर्मी, सञ्जय कुर्मी, छोटेलाल पासी, वीरेन्द्र थापालगायत किसानले माछाका भुरा उत्पादन गर्ने साना–ठूला ९२ पोखरी बनाएका छन् । पाल्हीका भुरा काठमाडौं, कपिलवस्तु र बर्दिया जाँदा रहेछन् ।
सबभन्दा बढी भुरा चाहिं चितवन र भारत जाँदा रहेछन् । छिमेकी जिल्ला रूपन्देहीको देवनगर छपियामा धमाधम माछापोखरी बनिरहेका छन्, जसबाट रवीन्द्र जस्ता व्यवसायीहरू उत्साही छन् ।
बालाजु मत्स्य विकास केन्द्रका विशेषज्ञ पूर्ण ढुंगानाका अनुसार, नेपालमा अहिले वार्षिक एक लाख टन माछा खपत भइरहेको छ, जसमध्ये ५० हजार टनभन्दा बढी भारतबाट आयात हुन्छ ।
जबकि, नेपालमै कम्तीमा एक लाख हेक्टर क्षेत्रमा माछा उत्पादन गर्न सकिन्छ । विशेषज्ञहरूका अनुसार, नेपालमा एक हेक्टर पोखरीमा कम्तीमा चार टन माछा हुन्छ ।
माछाका भुरा आठ महीनामा सरदर दुई किलोका हुन्छन् । यसरी हेर्दा नेपालमै वार्षिक चार लाख टन माछा उत्पादन गर्न सकिन्छ ।
स्वदेशमा जाँगर
रवीन्द्र साहनीका दौंतरीहरू वैदेशिक रोजगारीमा छन् । जग्गा भएकाहरू पनि पैसा कमाउन विदेशिएका छन् । रवीन्द्र भने विदेशमा भन्दा १० गुणा बढी नेपालमै कमाउन सकिने बताउँछन् र त्यही अनुसार लागिपरेका छन् ।
गरिखाने उपयुक्त वातावरण नहुनुलाई उनी अस्थायी समस्या मान्छन् । “चन्दा असुली, पूँजीको अपर्याप्तता, प्राविधिक कठिनाइ जस्ता समस्या छन्”, उनी भन्छन्, “तर, यो चिरकालको लागि त हैन नि !”
ह्याचरीमा करोड हाराहारी लगानी गरिसकेका साहनी परिवारले अहिलेसम्म रु.८० हजार बराबरको अनुदान पाएको छ, जसलाई धेरै राम्रो सुरुआत ठान्छन्, रवीन्द्र ।
उनको विचारमा, व्यावसायिक कृषि विकासमा राज्यको लगानी अहिले थोरै भए पनि त्यो घट्ने छैन । त्यसमाथि, कृषि विकास ब्याङ्क, परासी शाखाका प्रबन्धक राजेशकुमार श्रीवास्तवको हौसलाबाट निकै उत्साहित छन्, उनी ।
“त्यो ब्याङ्कमा कति म्यानेजर आए, गए”, रवीन्द्र भन्छन्, “यस पटक भने हामी जस्ता केही गरौं भन्ने किसानको भावना बुझेको मान्छे आएजस्तो लागेको छ ।”
स्वदेशमै स्वरोजगार सिर्जना गर्न लागिपरेका रवीन्द्र राज्यले युवा व्यवसायीको लागि विशेष नीति लागू गर्नुपर्ने बताउँछन् । कृषिमा ठूलो चासो भएर पनि घरपायक नहुँदा शिक्षाशास्त्र पढ्न बाध्य उनी विभिन्न तालीम र प्रयोगबाट माछा विशेषज्ञ बनेका छन् ।
“नेपाली कृषकले कसरी काम गरिरहेका छन् भनेर अरुलाई पनि देखाउन हामी सक्षम भएका छौं”, रवीन्द्रले बिट मारे, “सरकारले आधुनिक कृषिमा कहलाएका चीन, इजरायल जस्ता मुलुकका फार्महरू अवलोकन गर्ने अवसर जुटाइदिए गज्जब हुनेथियो ।”
अघि बढ्दै चितवन
माछा उत्पादनबाट आम्दानी बढाउन चितवनको युवापुस्ता पनि लागेको छ।
विज्ञानमा स्नातकोत्तर गर्दाका सहपाठीहरू सप्तरीका राहुल रञ्जन, दाङका सुनील पौडेल, चितवनका उत्तम गुरुङ, पाल्पाका मधु नेपाल, मोरङका खगेन्द्र गौतम, कास्कीका हेमन्त ढकाल र स्याङ्जाका रविन रानामगरले दुई वर्षअघि ‘द कोरोना अफ एग्रिकल्चर’ स्थापना गरेर रु.१० लाखमा शुरू गरेको व्यावसायिक माछापालनमा अहिले रु.३० लाख लगानी भइसकेको छ ।
गुञ्जनगर गाविसको शंकरचोकमा ५ बिघा १४ कठ्ठा जग्गा भाडामा लिएर थालिएको यो व्यवसायबारे माछापालन अध्ययन गरेका राहुल भन्छन्, “हामी माछापालनको अध्ययन–अनुसन्धान पनि गरिरहेका छौं ।”
राहुल र सुनील पोखरी नजिकै सानो घर बनाएर बसेका छन् भने कम्पनीका अरू पाँच साझेदार बजार हेर्छन् । महीनाको एक पटक त्यहीं भेटघाट गरेर व्यवसायको समीक्षा गर्दै आगामी योजना बनाउने उनीहरूको चलन छ ।
इजरायलमा एक हेक्टरमा १८ टन माछा उत्पादन हुने थाहा पाएका उनीहरूको योजना यहाँ पनि प्रतिहेक्टर कम्तीमा ८ टन माछा निकाल्ने छ । अहिले यहाँ प्रतिहेक्टर ४ टन मात्र उत्पादन हुन्छ ।
नेपाली सेनाको एसिस्टेन्ट केमिस्ट पदको जागिर चार वर्षमै छाडेर आफैं केही गर्न यो व्यवसायमा आएका राहुलको समूहले वर्षमा एक पटक माछा उत्पादन हुँदै आएकोमा १४ देखि १६ महीनामा दुई पटक माछा उत्पादन गर्ने सफलता पाइसकेको छ ।
राहुल भन्छन्, “कहिले कसरी दाना दिंदा माछा बढ्छ, माछामा लाग्ने रोग कसरी निर्मूल गर्न सकिन्छ, माछापालनमा प्रविधिको प्रयोग कसरी गर्ने, स्थानीय जातिका माछाबाट कसरी फाइदा लिने र अर्गानिक माछाको उत्पादन कसरी गर्नेबारे अनुसन्धान गरिरहेका छौं ।”
माछापालनमा बढ्दो आकर्षण
फाइदा हुने देखेपछि चितवनमा माछापालन गर्ने किसानको संख्या पाँच वर्षमा दुई गुणा बढेको छ । यहाँ अहिले ५०० किसानले १७५ हेक्टरमा व्यावसायिक माछापालन गरेका छन् ।
यो वर्ष यहाँ ६४७ टन माछा उत्पादन भएर रु.९ करोडको बिक्री भएको जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत हीरालाल भुषालले जानकारी दिए ।
अधिकृत भुषाल आउने वर्ष माछापालनका लागि यहाँ ५० हेक्टर जलक्षेत्र थपिने बताउँछन् । माछाको चार वटा ह्याचरी रहेको चितवनमा पाँच वटा नर्सरी छन् ।
ह्याचरीबाट उत्पादित माछाका भुरालाई नर्सरीले केही ठूलो बनाएर किसानलाई बिक्री गर्छ । माछापालन गर्न यहाँ किसानले २५ समूह र तीन वटा सहकारी बनाएका छन् ।
भुषालका अनुसार, आम्दानीको करीब ३० देखि ४० प्रतिशत मात्र उत्पादनमा खर्च हुने हुँदा माछापालनमा किसान उत्साहले लागेका हुन् ।
चितवनमा गुञ्जनगर, माडी, कठार र रत्ननगर नगरपालिका क्षेत्रका ७७० पोखरीमा माछापालन भइरहेको छ । यहाँ उत्पादित माछा स्थानीय बजारसहित काठमाडौं र पोखरासम्म पुग्ने गरेको छ ।
नेपालमा कमन कार्प, रहु, नैनी, ग्रास कार्प, बिगहेड, सिल्भर कार्प जातका माछापालन उपयुक्त ।
साहनी ह्याचरीबाट गत वर्ष ३८००००००० भुरा उत्पादन भयो । यो वर्ष ५००००००० भुरा निकाल्ने लक्ष्य ।
नेपालमा वार्षिक १००००० टन माछाको माग । उत्पादन ५०००० टन मात्र ।
नेपालमा माछापालन सम्भावना
उपयुक्त क्षेत्रफलः १ लाख हेक्टर
प्रतिहेक्टर वार्षिक उत्पादनः ४ टन
एक लाख हेक्टरको उत्पादनः ४ लाख टन
सविता श्रेष्ठ, चितवन
हिमालको २२-२९ बैशाख २०७० अंकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
